४० वर्षमा पनि पूरा भएन लुम्बिनी गुरूयोजना

भैरहवा, वैशाख १७ गते । २३ वर्षअघि नै पूरा गर्ने लक्ष्यसहित बनेको लुम्बिनी गुरुयोजना ४० वर्षमा पनि पूरा हुन सकेको छैन । सन् १९७८ मा जापानका वास्तुविद् प्रोफेसर केञ्जो टाँगे नेतृत्वको टिमले छ वर्ष लगाएर लुम्बिनी गुरुयोजना तयार पारेको थियो । गुरुयोजना बन्दा सन् १९९५ मै सम्पन्न गर्ने लक्ष्य थियो तर हालसम्म गुरुयोजनाको कति प्रतिशत काम सकियो भयो भन्ने यकिन छैन । लुम्बिनी विकास कोषका पदाधिकारीहरूले कहिले ८० प्रतिशत, कहिले ८५ प्रतिशत त कहिले ७५ प्रतिशत काम पूरा भएको फरक–फरक अभिव्यक्ति दिइरहेका छन् । गुरुयोजना बने पनि सरकारको प्राथमिकतामा नपर्दा र पर्याप्त बजेट विनियोजन नहुँदा झण्डै २५ वर्षसम्म गुरुयोजनाको काम कछुवाको गतिमा अघि बढेको लुम्बिनी विकास कोषले जनाएको छ । lumbini naka

लुम्बिनी गुरुयोजना बनेपछि कार्यान्वयनका लागि सन् १९७८ मा विकास समिति गठन ऐन २०१३ का आधारमा लुम्बिनी विकास समिति गठन भएको थियो । सन् १९८५ मा लुम्बिनी विकास कोष ऐनद्वारा लुम्बिनी विकास कोष गठन भएपछि मात्र गुरुयोजनाको कार्यान्वयन सुरु भएको हो । वि.सं. २०५५÷५६ देखि मात्रै गुरुयोजनाको कामले गति लिन थालेको हो ।
सरकारले आर्थिक वर्ष २०७०÷७१ देखि लुम्बिनी गुरुयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा राखेर प्राथमिकताका साथ बजेट छुट्याउन थालेपछि कामले गति लिएको छ । चालू आर्थिक वर्षमा गुरुयोजनाका लागि ७१ करोड रुपियाँ विनियोजन भएको लुम्बिनी विकास कोषका सदस्य सचिव सरोज भट्टराईले बताउनुभयो । उहाँका अनुसार हालसम्म गुरुयोजनाको करिब ७५ प्रतिशत काम पूरा भएको छ । बाँकी २५ प्रतिश काम गर्न छ अर्ब रुपियाँ खर्च लाग्ने छ । लुम्बिनी गुरुयोजना उत्तर–दक्षिण पाँच वर्ग माइल क्षेत्रमा फैलिएको छ । जसमा उत्तरबाट मध्य भागमा एक वर्ग माइल (११ सय ५५ बिघा) को तीन खण्डलाई क्रमशः पुरातात्विक क्षेत्र पवित्र उद्यान, अन्तर्राष्ट्रिय बौद्ध विहार क्षेत्र र नयाँ लुम्बिनी गाउँ गरी तीन क्षेत्रमा विभाजन गरिएको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना