त्रिसंयोगको दिन बुद्धजयन्ती


munundara ratanaमुनीन्द्ररत्न बज्राचार्य

आज भगवान् बुद्धको जन्म बुद्धत्व प्राप्ति, महापरिनिर्वाणजस्ता तीन महासंंयोगको दिन हो । बुद्ध भन्नुहुन्छ– यो संसार दुःखमय छ । संसारमा पाइने दुःख, मृत्यु, जरा, रोग आदि प्राकृतिक कष्टता छँदै छ । यसका अतिरिक्त प्राणीले प्राणीलाई दिइने दुःख अझ असही छ । जस्तो प्राणीमाथि हुने दुःखमा बलको नामले, अधिकारको नामले, जाति कुलको नामले, धर्मको नामले अन्याय अत्याचार भइरहेको छ । यी समस्त दुःख निवारणका लागि बुद्धले दिनुभएको विभिन्न सन्देशलाई समस्त मानव जातिले मनन गरिदिएमा यो संसारमा दुःख भनेको नै हुँदैन ।
बुद्ध आजभन्दा २६०० सय वर्षअघि राजा शुद्धोदन र रानी मायादेवीको कोखबाट नेपालको लुम्बिनी उद्यानमा जन्मेका थिए । बुद्ध हुनुअघि सिद्धार्थले जब चार किसिमका मानिस बूढो, रोगी, मृतक र साधु देखे उनको मनमा दुःखप्रति निकै चिन्ता हुन थाले । यस्तो अवस्थालाई देखि दुःखबाट मुक्त हुन दरबारको सीमित कोथामा बसेरमात्र सम्भव छैन भनी सकारे । यही भावना लिएर बुद्धले आफ्नो राजदरबार र पत्नी यशोधरा र पुत्र राहुललाई सदाका लागि अत्तोपत्तो नदिई गृहत्याग गर्नुभयो, जसलाई महाभिनिष्क्रमणका रूपमा लिए । बुद्धद्वारा पाँच वर्षको अनेक चेष्टाले ज्ञान हासिल गर्न प्रयास गरियो । कतिपय विद्वत आचार्यहरूसँग सङ्गत गरियो तर पनि दुःखबाट मुक्त हुने सत्यताको ज्ञान हासिल गर्न सकेन । शरीरलाई कष्ट गरी ध्यानमा बसियो, भोको पेटमा बसियो तर पनि केही सन्तुष्टिको ज्ञान पाउन सकेको थिएन । उनले विचार गरे यो संसार अतिवादको पुजारी रहेछ । यो संसारमा दुःखका कारण ंबुझ्न यतिले नपुगेर सिद्धार्थ त्यहाँबाट पनि ज्ञानका लागि अझ थरिथरि उपायको खोजीमा लागे तर एक दिन सिद्धार्थले आफ्नो महान सुदृष्टिले बोधिलाभ गर्नु भई बुद्धत्व प्राप्त गर्न सफल भए । जुन दिनलाई सम्यक समबोधिलाभका रूपमा अङ्गीकार गरिएको छ । बुद्धले अति कष्टकर तपस्वी जीवनलाई त्यागेर मध्यम मार्ग नै दुःख निवारणको एकमात्र बाटो हो भनी देखाउनुभयो । बुद्धले जुन ज्ञान हासिल गर्नुभयो, आज विश्व मानव जातिका लागि दुःखबाट मुक्ति हुने उपायका रूपमा हुन गएको छ । जसलाई बुद्ध धर्मका रूपमा आज सारा संसारले स्वीकार गरिएको छ । बुद्ध धर्म अनुशरण गरेर मानिस सुख र शान्तिको बाटोमा हिँडेर शान्तिपूर्ण जीवन यापन गर्दै आएका छन् । बुद्धको उपदेशलाई सबैले यसरी मनन गर्न सकिन्छ ।
बुद्धको उपदेशको सार तŒव नै चतु आर्य सत्य र आर्य अष्टाङ्गिक मार्ग हुन् । दुःख आर्य सत्यअन्तर्गत जन्मनु दुःख (जाति), वृद्धावस्था
(जीर्ण) हु्नु दुःख हो । यसको अतिरिक्त शोक, विलाप गर्नु दुःख हो । इच्छा पूरा नहुनु, अप्रियसँगको मिलन, प्रियसँगको वियोग र दौर्मनस्य उपायास नै दुःख हो । संक्षेपमा पञ्च उपादानस्कन्ध अर्थात् रूप, वेदना, संज्ञा, संस्कार र विज्ञान नै दुःख हो । दोस्रो दुःखका कारण हुन्छ, जसलाई दुःख समुदाय सत्य भनिन्छ । जस्तो फेरि–फेरि जन्म लिनुका कारण, लोभ तथा रागयुक्तको कामना गर्दछ, दुःख आउँछ, जसलाई तृष्णाको रूप मानिन्छ । तृष्णा पनि तीन थरिका छन् ः काम तृष्णा, भव तृष्णा तथा विभव तृष्णा । तेस्रो दुःख निरोध सत्य अर्थात् दुःखको अन्य तृष्णालाई परित्याग गर्नु अनाशक्त हुनु नै दुःखको निरोध हो । चौथो आर्यसत्य दुःख निरोधगामिनिपतिपदामार्ग सत्य हो । दुःख निरोधको मार्गतर्फ लैजाने आर्य सत्य हो । जसअनुसार मध्यम मार्ग अपनाई क्लेशलाई निमूर्ल गर्नु हो । यसका लागि आर्य अष्टाङ्गिक मार्गमा हिँड्नु हो । आर्य अष्टाङ्गिक मार्गअन्तर्गत, जसको अभ्यासबाट निर्वाण प्राप्त गर्न सकिन्छ ।
आर्य अष्टाङ्गिक मार्गअन्तर्गत सम्यक दृष्टि (ठीक धारणा), सम्यक सङ्कल्प
(ठीक सङ्कल्प), सम्यक वाचा (ठीक वचन), सम्यककर्मान्त (ठीक कर्म), सम्यकजीवन
(ठीक आजीविका), सम्यक व्यायाम (ठीक प्रयत्न), सम्यकस्मृति (ठीक समाधि (ठीक एकाग्रता) । वास्तवमा दुःख के हो भनी बुझ्नु, तृष्णाको अन्त्य गर्नाले दुःख नाश हुन्छ, कुशल र अकुशल चिन्ने र त्यसकारण बुझ्नु, र ठीक समझदारी हुनु नै सम्यक दृष्टि हो । जीवन सार्थक हुने गन्तव्यतिर पुग्ने अर्थात् नैष्क्रम्य, अव्यापाद, अविहिंसालाई दृढतापूर्वक पालन गर्नु सम्यक सङ्कल्प हो । सत्यवादी भएर संयमपूर्वक, नरम, आनन्दित हुने वचन बोल्नु सम्यक वचन हो । जीवहिंसा, चोरी, व्यभिचार कुकुर्मबाट टाढिएको निःस्वार्थता नै सम्यक कर्मान्त हो । शोषण, दमन, भ्रष्टाचार, अत्याचार र अन्यायबाट टाढा भएर, शस्त्रअस्त्रको व्यापार, देहव्यापार प्राणीहिंसा नगरी जीविकोपार्जन नै सम्यक आजीविका हो । अनैतिक कामदेखि टाढिएर मानसिक र चेतसिक नियन्त्रण गरी आत्मनियन्त्रण अभिवृद्धितर्फ लाग्नेलाई सम्यक व्यायाम हो । जीवनमा भइरहने आरोह–अवरोह कुशल अकुुशलप्रति सजग भएर निरन्तर होश राख्नु सम्यक स्मृति हो । भावनामय विषयमा आनन्दित भएर चित्त एकाग्र गर्ने क्षमता विकास गर्ने, जीवन के हो संस्कारित चित्तमा समाधिस्थ हुने अवस्थालाई नै सम्यकसमाधि भनिन्छ ।
बुद्धले विभिन्न अवस्थामा विभिन्न तरिकाले मानवजीवनलाई उपयोगी सन्देशहरू दिएका छन्, जसको पालना तथा अनुशरणले नै मानवजीवनमा दुःखबाट मुक्त हुनेछ । बुद्धले पञ्चशीलको ज्ञानअन्र्तगत हिंसा नर्गनु, नचोर्नु, व्यभिचारी नगर्नु, झुटो कुरा नबोल्नु र सुरापान नगर्नु आदि हो । यी पाँच कामबाट टाढिएमा दुःख हुने छैन ।
बुद्धत्व प्राप्तिका लागि दस पारमिताको ज्ञानबाट पारङ्गत हुनु जरुरी छ । अरूलाई अनुकम्पा राख्नु, दया गर्नु नै पारमिताको लक्षण हो । भनिन्छ– विशेष रूपमा दस पारमिता गुण तथा धर्महरू पूरा गर्नु नै बोधिसत्व बन्न सक्छन् । दश पारमिताअन्तर्गत दान, शील, नैष्क्रम्य
(अनाशक्ति), प्रज्ञा (यथार्थज्ञान), वीर्य
(उत्साह), क्षान्ति (सहनशीलता, सत्य (यथार्थ वचन), अधिष्ठान
(प्रतिज्ञा), मैत्री (समताभाव), उपेक्षा
(मध्यस्थता) आदि हुन् । यसलाई शील, समाधि र प्रज्ञाका रूपमा लिइएको छ । बुद्धले चतुब्रह्म विहार भनी चार असल किसिमले परिपूर्ण जीवन जिउनुलाई भनिएको छ । जसअनुसार मैत्री, करुणा र मुदिता (अरूको सुखमा खुसी हुनु), उपेक्षा तटस्थ भाव राख्नु हो । यी चार ब्रह्म विहारको भावनाले मनुष्यमा हुने राग, ईष्र्र्या, क्रोधजस्ता चित्तमलको प्रक्षालन हुन्छ ।
संसार परिवर्तशील छ । परिवर्तनशीलता नै अनित्य हो । बुद्ध तथागत हुनुको कारण सबै धर्म (स्वभाव), कारण (हेतु), ले उत्पत्ति हुन्छ र कारणको निरोधले नै निर्वाण प्राप्त गर्न सक्छ भन्ने प्रतीतसमुत्पाद ज्ञान र उपायको ग्रहणले नै हो । यी ज्ञानले अनित्य, परिवर्तनशील, उत्पत्ति विनाश भइरहने धर्म हो भन्ने दृष्टि राख्छ । बुद्ध आफू परिनिर्वाण हुनुअघि आफ्नो अन्तिम वचन पनि यसै भावनामा आधारित छ “वयधम्मा सङ्घारा अप्पमादेन सम्पादेथ”अर्थात् सबै संस्कारहरू नश्वर (अनित्य) हुन्, अप्रमादपूर्वक सम्पादन गर । आज संसारले बुद्धका सन्देशहरूलाई दुःखबाट मुक्ति पाउनका लागि मनन गर्दै आएका छन् । आजको पवित्र दिनमा बुद्धजयन्तीका रूपमा विश्वभरि नै विविध कार्यक्रम गरी हर्षोल्हासले मनाउँदै छन् । बुद्धको शान्ति सन्देशलाई आत्मसात् गरी स्वव्यवहारमा उतार्नु आजको वर्तमान परिप्रेक्ष्यमा सान्दर्भिक हुनेछ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना