परम्परागत धार्मिक शिक्षा


Shreeram upadhyaप्रा.डा. श्रीरामप्रसाद उपाध्याय

मानिसले आफ्नो उत्पत्ति देखिनै भौतिक वस्तुको प्राप्तिको निम्ति धर्मको उपयोग गर्दै आएका छन् तर धर्मसम्बन्धी यस विचारमा केही अपवाद पनि पाइन्छ । केही व्यक्ति धर्मसँग आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्छन् तथापि मानिस कुनै न कुनै रूपबाट धर्मसँग सम्बन्धित हुन्छन् ।
विद्यालयका पाठ्यक्रममा धार्मिक विषय राखिनु हुन्छ वा हुँदैन भन्ने कुरामा लामो बहस हुन सक्छ तर नेपालको इतिहासमा धार्मिक शिक्षाले अघि देखिनै महìवपूर्ण स्थान ओगट्दै आएको छ । मानिसलाई धर्मको माध्यमबाट अनुशासनमा राख्न सक्ने हुनाले नै प्राचीनकालदेखि नै यसले निरन्तरता पाउँदै आएको देखिन्छ ।
राणाशासन कालमा धार्मिक शिक्षालाई संस्कृत साहित्यको रूपमा अगाडि बढाइएको थियो । बेलायतबाट फर्किएका तत्कालीन नेपालका प्रधानमन्त्री जङ्गबहादुर राणाले थापाथली दरबारमा अङ्गे्रजी भाषाको प्रवेश गराएका थिए । १९३३ फाल्गुण १४ गते जङ्गबहादुर राणाको मृत्यु भएको एक वर्ष पछि नै १९३४ सालमा रानीपोखरीको उत्तरपूर्व दिशा तर्फ संस्कृत पाठशालको स्थापना भयो । यहाँ पढ्ने र खाने व्यवस्था भएको हुनाले यसलाई पाकशाला भनिएको थियो । यो पाकशाला खोल्नमा जङ्गबहादुर पछि प्रधानमन्त्री हुने उनका भाइ रणद्दीपसिंह र कान्छा भाइ धीरशमशेरको ठूलो योगदान रहेको थियो । खाने र पढ्ने व्यवस्था भएको शिक्षा प्रणालीलाई पश्चिमी मुलुकमा राइस एजुकेशन भनिन्छ ।
यसै संस्कृत पाठशालालाई निरन्तरता दिँदै धार्मिक विषयको रूपमा विद्यालय तहमा संस्कृत भाषाको साथै परम्परागत धार्मिक शिक्षा समूहअन्तर्गत माध्यमिक शिक्षाको कक्षा ९ र १० मा गुरुकुल, मदरसा र गोन्पा अर्थात् बौद्ध शिक्षा गरी तीन विषयलाई पाठ्यक्रममा स्थान दिइएको छ ।
गुरुकुल शिक्षामा नेपाली, गणित, संस्कृत रचना वा अङ्गे्रजी, सामाजिक अध्ययन र व्याकरणबाहेक तीन वटा ऐच्छिक विषय राखिएका छन् । ऐच्छिक पहिलो पत्रअन्तर्गत ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद, नीति शास्त्र, ऐच्छिक दोस्रो पत्रमा सिद्धान्त ज्योतिष, नव्य व्याकरण, संस्कृत साहित्य र न्याय र ऐच्छिक तेस्रोमा कर्मकाण्ड, फलित ज्योतिष, आयुर्वेद, योगशिक्षा, प्राकृतिक चिकित्सा र वास्तुशास्त्र पर्छ ।
मदरसा शिक्षाअन्तर्गत कक्षा ९ र १० को पाठ्यक्रममा नेपाली, अङ्ग्रेजी, गणित, सामाजिक अध्ययनका अतिरिक्त अरेविक भाषा र साहित्य, अरेविक व्याकरण, उर्दु साहित्य र व्याकरण, दिनियात गरी सय सय पूर्णाङ्कका अन्य विषयजस्तै आठ वटा पत्र राखिएका छन् ।
गुरुकुल र मदरसा शिक्षाजस्तै कक्षा ९ र १० को गोन्पा शिक्षाअन्तर्गत नेपाली, गणित, सामाजिक अध्ययन र विज्ञानबाहेक भोट भाषा वा पाली भाषा, बौद्ध शिक्षा, ऐच्छिक पहिलो र दोस्रो गरी आठ सय पूर्णाङ्कको आठ पत्र राखिएको छ । गुरुकुल र मदरसा शिक्षामा विज्ञान विषय राखिएका छैनन् । यस्तो अवस्थामा विज्ञानलाई गणितसँग आबद्ध गर्नुपर्ने हुन्छ ।
गोन्पा शिक्षामा ऐच्छिक पहिलो पत्रअन्तर्गत ज्योतिष, भैषज्य, शिल्पविद्या, बौद्धकर्मकाण्ड र कम्प्युटरमध्ये कुनै एउटा विषय पढ्नु पर्ने प्रावधान राखिएको छ । यसैगरी दोस्रोअन्तर्गत अङ्ग्रेजी, जापानिज, चाइनिज, पाली, भोट भाषा र संस्कृतमध्ये कुनै एक अध्ययन गर्नुपर्ने हुन्छ । यस पत्रमा विषयको छनोट गर्दा भोट भाषा वा पाली नदोहोरिने गरी छान्नु पर्ने हुन्छ ।
परम्परागत धार्मिक समूह पाठ्यक्रममा व्यावहारिक कुशल सीपमा जोड दिई अध्ययन गराउन चाहने विद्यालयले प्रस्तावित दुई वटा ऐच्छिक विषयबाहेक अर्काे एउटा विषयसमेत थप ऐच्छिक विषयको रूपमा पठन पाठन गराउन सक्ने कुरा उल्लेख छ । साथै यस पाठ्यक्रममा थप ऐच्छिक विषय पढाउन चाहने विद्यालयले उक्त विषय अध्यापनका निम्ति आठ सय पूर्णाङ्कको आठ पत्रले पाउने समय र पाठ्यभारमा असर नपर्ने गरी विद्यालयमा आफ्नो आवश्यकता र उपयुक्तताको आधारमा समय व्यवस्थापन गर्नुपर्ने कुरा स्पस्ट पारिएको छ ।
उक्त पाठ्यक्रममा थप ऐच्छिक विषय अध्ययन गर्ने विद्यार्थीलाई उक्त विषयको ग्रेडसमेत उल्लेख गरी ग्रेडसिट तयार गर्नुपर्ने र समग्र स्तरीकृत अङ्क जिपिए गणना गर्दा साधारण तथा संस्कृत तर्फ थप ऐच्छिक विषयबाहेक आठ विषयको आधारमा र प्राविधिक तथा व्यावसायिक धारतर्फ दश वटा विषयको आधारमा गरिनेछ । यसको साथै पाठ््यक्रममा थप ऐच्छिक विषयमा तल्लो ग्रेड प्राप्त गरे पनि माथिल्लो तहमा अन्य विषयमा अध्ययन गर्न बाधा नपर्ने कुरा स्पष्ट पारिएको छ । विद्यार्थीले थप ऐच्छिक विषय छान्दा नदोहोरिने गरी छान्नु पर्ने हुन्छ ।
गुरुकुल शिक्षामा पाँच अनिवार्य र तीनवटा ऐच्छिक, मदरसा शिक्षामा सबै आठ विषय अनिवार्य र गोन्पा शिक्षामा छ वटा अनिवार्य र दुई वटा ऐच्छिक विषय राखिएका छन् । परम्परागत धार्मिक शिक्षाको पाठ्यक्रममा सबै पाँच क्रेडिटको आठ विषयमा जम्मा चालीस क्रेडिट र आठ सय रहेको छ । माध्यमिक स्तरको पाठ्यक्रममा भाषा शिक्षालाई परम्परागत धार्मिक शिक्षा समूह नाम दिइएको छ । अनिवार्य विषयका गणित, विज्ञान र सामाजिक अध्ययनबाहेक यसअन्तर्गतका सबै विषय भाषासँग सम्बन्धित रहेका छन् । भाषाको सौन्दर्यतालाई विषय वस्तुसँग आबद्ध गर्न सकेको खण्डमा परम्परागत धार्मिक शिक्षा अझ बढी उपयोगी हुन सक्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना