सगरमाथा आरोहणमा हालसम्मकैै धेरै नेपाली


विश्वास रेग्मी

काठमाडौँ, वैशाख १८ गते । विश्वकै अग्लो शिखर सगरमाथा आरोहणका लागि यस वर्ष आइतबारसम्म २० जना नेपालीले पर्यटन विभागबाट अनुमति लिएका छन् । एकै वर्षमा सगरमाथा आरोहणका लागि नेपालीले अनुमति लिएको यो हालसम्मकै धेरै हो ।
गत वर्ष ‘स्प्रिङ सिजन’मा सगरमाथा आरोहणका लागि विभागबाट सातजना नेपालीले अनुमति लिएका थिए । सगरमाथा आरोहणमा पछिल्लो समय नेपालीको आकर्षण बढेको र यसले राम्रो सन्देश जाने नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङ्छिरिङ शेर्पाले बताउनुभयो । गाइड बाहेकको यो सङ्ख्या उत्साहजनक रहेको उहाँले बताउनुभयो ।
विभागले आइतबारसम्म यस सिजनका लागि ७९२ जनालाई आरोहण अनुमति दिएको छ । सगरमाथा आरोहणका लागि मात्रै ३४ वटा विदेशी आरोहण दलका ३२६ जनाले अनुमति पाएको विभागले जनाएको छ । नेपालका चारवटा आरोहण दलमा २० जना सदस्य छन् । विभागले २६ वटा हिमालका लागि ९८ वटा आरोहण दललाई अहिलेसम्म अनुमति दिएको जानकारी दिएको छ । अघिल्लो वर्ष यसै सिजनमा ७४० जनाले आरोहण अनुमति प्राप्त गरेका थिए । यस वर्ष अहिले नै त्यो सङ्ख्या नाघिसकेको र यो बढ्ने क्रममा रहेको विभागका पर्वतारोहण शाखाका जीवन रावतले बताउनुभयो । everest
सगरमाथा पछि ल्होत्सेमा आरोहीको आकर्षण बढी छ । दसवटा आरोहण दलका एक सय सात जनाले यो हिमाल आरोहणको अनुमति पाएका छन् । त्यसपछि छ हजार ८१४ मिटरको आमादब्लम हिमाल आरोहणका लागि छ दलका ४९ जनाले अनुमति पाइसकेका छन् । आरोहण अनुमति प्राप्त गर्ने सङ्ख्याको हिसाबले कन्चनजङ्घा, मुस्ताङ र नुप्त्से अगाडि छन् । कन्चनजङ्घामा पाँच आरोहण दलका ४४ जना, मुस्ताङ र नुप्त्सेमा समान तीन आरोहण दलका ४० जना जनाले अनुमति पाएका छन् । अन्नपूर्ण, च्छोपाबामरे, मुकोट, पेरी र हिम्लुङ हिमाल आरोहणका लागि अहिलेसम्म समान एकजनाले मात्र अनुमति पाएका छन् ।
विभागले अहिलेसम्म उल्लेखित हिमालबाहेक धौलागिरि, गन्चेन्पो, गौगिरी, मकालु, मकालु दोस्रो, मनास्लु, ओमी सो गो हिमालका लागि आरोहण मिति उपलब्ध गराएको छ । त्यस्तै पामकर, सारिबुङ, थापा पिक धम्पुस, थोराङ पिक, तिलिचो पिक, बरुन्त्से, चाम्लाङ र धेन्च्यानखाङ् हिमाल आरोहणको अनुमति दिएको विभागले जनाएको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना