वैशाख अन्तिमबाट सबै औद्योगिक क्षेत्र लोडसेडिङमुक्त


लक्ष्मीप्रसाद उपाध्याय

काठमाडौँ, वैशाख १८ गते । घरायसी प्रयोगमा लोडसेडिङमुक्त गर्न सफल भएको सरकारले वैशाख अन्तिम साताबाट सबै औद्योगिक क्षेत्रको लोडसेडिङ हटाउने गरी अन्तिम तयारी गरेको छ । घरेलु उपभोक्ताका लागि गत वर्षदेखि लोडसेडिङको अन्त्य भए पनि सरकारी औद्योगिक क्षेत्र बाहेक अन्य औद्योगिक क्षेत्रमा अझै लोडसेडिङ भइरहेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सोमबार गोरखापत्र अनलाइनसँग विशेष कुरा गर्दै भन्नुभयो, वैशाखको अन्तिम साताभित्र सबै औद्योगिक क्षेत्रको लोडसेडिङ पूर्ण रूपले हटाउने गरी अन्तिम तयारी भइरहेको छ । लोडसेडिङ हटाउन माग र आपूर्तिको बीचको व्यवस्थापन गर्न सबै विकल्पको प्रयोग गरेर यो तयारी हुन थालेको छ ।
यही वैशाखको पहिलो साताबाट सरकारी स्तरबाट सञ्चालित औद्योगिक क्षेत्र बालाजु, पाटन, पोखरा, हेटौँडा र बुटवल औद्योगिक क्षेत्रमा लोडसेडिङको अन्त्य भइसकेको छ भने निजी क्षेत्रका औद्योगिक क्षेत्रमा हाल तीनदेखि चार घण्टासम्मको लोडसेडिङ भइरहेको छ । ती क्षेत्रमा पनि यो समस्या हटाउने प्रयासका लागि सबै तयारी पूरा हुन थालेको मन्त्री पुनले जानकारी दिनुभएको हो ।
सबै औद्योगिक क्षेत्रमा लोडसेडिङ अन्त्य कसरी सम्भव छ ? भन्ने गोरखापत्रको जिज्ञासमा मन्त्री पुनले भन्नुभयो, हामीले दैनिक १८ घण्टा हुने लोडसेडिङ भोगिरहेको पीडालाई यति सानो समयमा झार्न सफल भएका छौँ । यो अत्यन्तै चुनौतीपूर्ण र प्राविधिक विषय थियो । प्राविधिक रूपमा सम्भव भएको कुरालाई हाम्रा प्राविधिक कर्मचारीलाई थप मिहिनेतका साथ काम गर्ने वातावरण सिर्जना गरी हौसला बढाएर लोड व्यवस्थापन गर्ने कार्य गरेको हो । हामीले आँट गरेका छौँ । लोडसेडिङको यो सानो समय पनि हट्छ, ढुक्क हुनुहोस्, हटाएर छाड्छौँ । barsaman
नेपाल विद्युत् प्राधिकरण भार सम्प्रेषण केन्द्रका प्रमुख विष्णु श्रेष्ठका अनुसार चैतको अन्तिम साताबाट परीक्षणका रूपमा सरकारी औद्योगिक क्षेत्रको लोडसेडिङ हटाउने कुरामा सफलता मिलेपछि अन्य औद्योगिक क्षेत्रको लोडसेडिङ पनि हटाउने हिम्मत र आँट आएको हो । प्रमुख श्रेष्ठले भन्नुभयो, राजनीतिक नेतृत्वले सबै विकल्पबाट काम गर्न प्रोत्साहन र निर्देशन दुवै दिएपछि प्राविधिक रूपमा पनि सम्भावना देखिएका सबै विकल्पको प्रयोग गरिएको छ । अब हामी अन्य औद्योगिक क्षेत्रको लोडसेडिङ हटाउने अन्तिम प्रयासका लागि लागि रहेका छौँ । प्राविधिक रूपमा यो कुरामा हामी सफल हुन्छौँ होला ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्व सम्हाले लगत्तै मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित उच्च प्राविधिक पदाधिकारी साथमा लिएर भार सम्प्रेष्ण केन्द्रको निरीक्षण गर्न पुग्नुभएका मन्त्री पुनले प्राविधिक रूपमा सम्भव भएका सबै विकल्पको प्रयोग र परीक्षण गरेर विद्यमान विद्युत् आपूर्तिको व्यवस्थापन गर्दै देशको लोडसेडिङ हटाउने काममा लाग्न निर्देशन दिनुभएको थियो । भार सम्प्रेषण केन्द्रका प्रमुख श्रेष्ठले भन्नुभयो, पछिल्लो छोटो समयमा प्राविधिक क्षेत्रमा थुप्रै सुधार तथा मर्मत सम्भारका कार्य सम्पन्न गर्न सक्यौँ । जसले गर्दा विद्यमान विद्युत् आपूर्तिबाट नै लोडसेडिङको दायरा साँघुरो पार्न सफलता मिलेको हो ।
पिकिङ प्रोजेक्टको रूपमा रहेको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजना यही हिउँदमा आएको छ । सरकारको लोडसेडिङ हटाउने महìवकाङ्क्षी प्रयासलाई यो वर्ष मौसमले पनि साथ दिएको छ । गत वर्षको भन्दा कुलेखानी जलाशयमा यो वर्ष अझै पानी बढी भण्डारण रहेको छ । गत वर्ष वैशाख १६ गतेको तथ्याङ्क हेर्दा कुलेखानी जलाशयमा एक हजार ५०५ मिटर पानी भण्डारण थियो भने यो वर्ष झण्डै चार मिटर बढी एक हजार पाँच सय नौ मिटर पानी मौजुदा रहेको छ । यसले गर्दा अझै आवश्यकता अनुसार कुलेखानी चलाउन सकिने अवस्था देखिएको छ ।
वैशाखको पहिलो हप्ताबाट हिमनदीमा पानीको मात्रा पनि बढ्दैगएको छ । भार सम्प्रेषण केन्द्रका प्रमुख श्रेष्ठका अनुसार वैशाख लागेपछि हिमनदीमा पानी बढेपछि रन अफ दि रिभर प्रणालीका जलविद्युत् आयोजनाको १० देखि १५ प्रतिशत विद्युत् उत्पादनमा वृद्धि भएको छ । हिननदीमा पानी बढ्ने क्रम अब वैशाखको तेस्रो साताबाट झन् बढ्दै जान्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना