मोदीको भ्रमण ‘चेन्जिङ्ग गेम डिप्लोमेसी’

GOPAL SHOWAKOTIप्रा.डा. गोपाल शिवाकोटी


यही वैशाख २८ गतेदेखि नेपालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तीन दिने राजकीय भ्रमण हुँदैछ । मोदीले जनकपुरस्थित जानकी मन्दिरको दर्शन गरेपछि जनकपुरधामको १२ विघामा नागरिक अभिनन्दन ग्रहण गर्नुहुनेछ । उहाँले मुक्तिनाथको समेत दर्शन गरी भ्रमणलाई धार्मिक रूप दिन खोजे पनि यो छोटो भ्रमणमा समेत महìवपूर्ण सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेकोले यो भ्रमणलाई उच्च महìवका साथ हेरिएको छ ।
एक महिनाअगाडि नेपालका प्रधानमन्त्री केपी शर्मा ओली भारतको भ्रमणमा गई सम्बन्धलाई विकास गरी फकिनुभएको थियो । सम्बन्धको नाता विशेष हुन्छ भनेर भारतसँगको सम्बन्धलाई विशेष सम्बन्धको रूपमा व्याख्या गर्नुभयो ओलीले । यसपछि नेपाल र भारतबीचको सम्बन्ध विकसित भएको अवस्थामा हुन लागेको मोदीको भ्रमण सम्बन्धमा नयाँ सुरुवात हो । यो भ्रमणलाई यसैले गर्दा ‘चेन्जिङ्ग गेम डिप्लोमेसी’को रूपमा लिइएको छ ।
प्रधानमन्त्री ओलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई चीन पठाएर चीनको भ्रमण गर्ने तयारी गर्नुभएको थियो । तर मोदीले नेपाल आउने चाहना गरेपछि प्रधानमन्त्री ओलीले चीनको भ्रमणलाई पर सारी भारतका प्रधानमन्त्रीलाई स्वागत गर्न लाग्नुभएको हो । नेपालमाथि भारतले नाकाबन्दी गरेपछि भारत विरोधी भावना नेपालीमा बढेको थियो । तर प्रधानमन्त्री ओलीले भारत भ्रमण गरेर भारतप्रतिको भावनामा परिवर्तन गर्न आवश्यक छ, नेपालले छिमेकी दुवैसँग सन्तुलित सम्बन्ध बनाउनुपर्छ र भारतप्रति नेपालको विशेष सम्बन्ध छ भन्ने सन्देश दिन सफल हुनुभएको थियो । उहाँले यही सन्देश दिन चीनबाट भ्रमण प्रारम्भ नगरी परम्परागत रूपमा भारतबाटै भ्रमण सुुरु गर्नुभएको थियो । अहिले चीनको भ्रमण पर सारेर भारतका प्रधानमन्त्री मोदीलाई स्वागत गर्न तयार हुनुले पनि नेपाल भारतसँग मैत्रीपूर्ण सम्बन्ध विकास गर्न चाहन्छ, वाम सरकार नेपालको विकासमा भारत र चीन दुवैसँग सहकार्य गर्न चाहन्छ भन्ने समेत सन्देश प्रवाहित भएको छ । भारतमा पनि नेपालसँगको सम्बन्धलाई विकसित गर्नुपर्छ भन्ने धारणा विकसित भएको अवस्थाले गर्दा नेपालसँगको पहिलाको कटुतापूर्ण सम्बन्धलाई छोडेर राजनीतिक स्तरमा नयाँ सम्बन्ध स्थापना गर्न मोदीको भ्रमण हुन लागेको भन्ने प्रष्ट हुन्छ । साथै ओलीको भ्रमणको समयमा मोदीले आफूले नेपालबारेमा हेर्न नभ्याएको र अब आफैँले नेपालसँगको सम्बन्धलाई हेर्छु भनी दिएको वचनसमेत अहिले हुन लागेको सम्बन्धबीचका आयामले प्रष्ट पारेको छ ।
ओलीको भ्रमण चीनबाट हुनसक्ने आंकलन थियो । यसलाई रोक्न भारतले सुष्मा स्वराजलाई नेपाल पठाउने तथा मोदीले प्रत्यक्ष टेलिफोन वार्ता गरेर नेपालका प्रधानमन्त्री ओलीको भारतबाट भ्रमण सुरु गराउन जोड दिनुभएको थियो । ओलीलाई खुसी पारेर निकटता देखाउने प्रयास भारतले गरेको थियो । ओलीले पनि भारतबाटै भ्रमण सुरु गरेर एक व्यावहारिक र परिपक्व राजनीतिज्ञको रूपमा प्रस्तुत हुनुभएको थियो । यही परिपक्व कूटनीतिले गर्दा भारतसँगको असमझदारी हटेर १२ बुँदे विज्ञप्तिसमेत जारी भएको थियो । भारतले नेपाललाई रेलवे कनेक्टीभिटी, जलमार्ग उपलब्ध गराउनेसमेत प्रतिबद्धता व्यक्त गरेर सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने काम गरेको थियो ।
केपी ओलीको पहिलो नौ महिने कार्यकालमा भारतसँगको सम्बन्ध अत्यन्त कमजोर र तिक्ततापूर्ण थियो । त्यसैले दोस्रो कार्यकालको सुरुमा नै भारत भ्रमण गरेर सम्बन्धमा सकारात्मक मोड आएको सन्देश दिन सफल हुनुभएको हो । पहिला गरिएका सम्झौतालाई कार्यान्वयन चरणमा लैजानका लागि मोदीको भ्रमण हुन थालेकोे देखिन्छ । यो भ्रमणले दिल्ली र काठमाडौँ दुवैले एकअर्काको व्यावहारिक महìवलाई बुझेको देखाउँछ तर योजनाको कार्यान्वयनमा यसको परीक्षण हुने नै छ । अहिले दुवै देशबीचको सम्बन्ध राम्रो भएको छ तर दुवैतर्फबाट व्यावहारिक र गम्भीर भएर विगतका सहमति सम्झौता कार्यान्वयनमा जोड दिन आवश्यक छ । मोदीको भ्रमणले पनि यही कुरामा जोड दिएको देखिन्छ ।
अहिलेको मोदीको भ्रमण नेपाल र भारतबीच सम्बन्ध विकास भइरहेको तथा भारत र चीनको सम्बन्धमा पनि सुधार भएको अवस्थामा हुन लागेको छ । यो भ्रमण अगाडि तयारीका लागि भारतका भूतपूर्व तीन जना राजदूत नेपालमा आएर भ्रमणको तयारी गरिरहनुभएको छ भने जनकपुरमा मोदीको भ्रमणको तयारीका लागि भारतका राजदूतले भ्रमण गर्नुभएको छ । जनकपुरमा क्षेत्रीय नेतासमेत मोदीको स्वागतका लागि प्रतिक्षारत छन् । मोदीको जनकपुरको भ्रमण दुई वर्ष अगाडि पनि प्रस्तावित भएको थियो । तर त्यहाँ स्वागत र पूजापाठको बारेमा भएको विवादले गर्दा त्यतिखेर भ्रमण स्थगित भएको थियो । अहिले जनकपुरबाटै यो भ्रमण सुरु गरेर मोदीले धर्मप्रति आफ्नो विशिष्ट चाख रहेको र तराई–मधेशप्रतिसमेत विशेष लगाव भएको सन्देश दिन चाहेकोले पनि मोदी भ्रमणलाई नेपाली राजनीतिमा चाखपूर्ण रूपले हेरिएको छ ।
मोदी नेपाल आउनुभन्दा अगाडि चीनका राष्ट्रपति सी जीनपिङसँग अनौपचारिक दुई दिने शिखर वार्ता गर्नुभएको छ । उहाँहरू आफ्ना सीमा क्षेत्रमा हुने तनावलाई कम गर्न सहमत हुनुभएको छ । साथै भारत र चीनबीचको सम्बन्धमा सुधार स्वरूप डोक्लाम विवादको सन्दर्भमा बन्द गरिएको नथुला नाका खुला गरेर दुई देशबीच सम्बन्ध सामान्यीकरण भएको सन्देशसमेत दिने काम भएको छ ।
ओलीको भारत भ्रमणको एक महिना तीन दिनपछि मोदीको नेपाल भ्रमण हुन लागेको छ । यस्ता भ्रमणहरू भ्रमणका लागि मात्र हुनुहुँदैन, यिनलाई उपलब्धिपूर्ण बनाउन नेपालले राष्ट्रिय हितका सवाललाई प्रस्तुत गर्न सक्नुपर्छ । यसका लागि व्यापक तयारीको आवश्यकता छ तर नेपालमा हतारमा काम गर्ने र फुर्सदमा पश्चाताप गर्ने प्रवृत्ति रहेको छ । मोदीको भ्रमणमा प्रस्तुत गर्ने एजेन्डा तय गर्नका लागि समेत हतारो गरिएकोले कति राष्ट्रिय हितका एजेन्डा प्रस्तुत गर्न सकिने हुन्, त्यो हेर्नुपर्ने विषयको रूपमा रहेको छ ।
लामो समयदेखि विशेष महìव दिइएको पञ्चेश्वर परियोजना अगाडि बढाउने भनिए पनि अहिलेसम्म पानीको विवादले यो परियोजना अगाडि बढ्न सकेको देखिँदैन, बढ्ने स्थितिमा पनि छैन । कालापानी, सुस्ता, लिपुलेकजस्ता विवाद पनि लामो समयदेखि कायम छन् । सिमानामा बनाइएका बाँधले नेपालमा डुबानको समस्या प्रतिदिन जटिल हुँदै गएको छ । छिट्टै हुने वर्षाले अर्काे सङ्कट पैदा गर्ने स्थिति छ । यसलाई कसरी प्रस्तुत गर्ने र समाधान गर्ने भन्ने मुख्य विषय रहेको छ ।
भ्रमण अगाडि नेपाल, भारत, बङ्गलादेश र भुटानबीच चौपक्षीय कनेक्टिभिटीको कार्य सुरु भएको छ । भारतसँग ‘आइजीसी’को बैठकमा पारवहन सन्धि पुनरावलोकन गर्न सहमति भएको छ । नेपालबाट निर्यात हुने सामग्रीका समस्या हल गर्ने, अतिरिक्त भन्सार हटाउने, भारतका सामान पैठारीमा भएका झन्झटलाई समाप्त गर्ने सहमति भएको छ । अदुवा, अलैँची, जुटलगायतको निकासीसमस्या हल गरिने, रेलवे सुविधाबारे छलफल हुने, विशाखापट्टनम, कोलकत्ताबाहेकका पूर्व पश्चिमका बन्दरगाह नेपाललाई उपलब्ध गराउने, वाणिज्य र पारवहन सन्धि पुनरावलोकन गरेर सुधार गर्ने सहमति भएको छ ।
मोदीको नेपाल भ्रमणमा रक्सौल काठमाडौँसम्मको रेलवे विस्तारसम्बन्धी सहमतिमा हस्ताक्षर हुने, भारतले नेपाललाई उपलब्ध गराउने जलमार्ग पारवहन उपलब्ध गराउने बारेमा समेत सम्झौता हुने तथा पुराना सन्धि सम्झौतामा गरिएको व्यवस्थालाई तत्परतापूर्वक कार्यान्वयन गर्ने सहमति हुने सम्भावना छ । भारत र नेपालबीचको सम्बन्धमा मोदी भ्रमणले नयाँ सुरुवात गर्ने चेन्जिङ्ग गेम डिप्लोमेसी हुनेछ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना