काभ्रेमा विमानस्थल १५ दिनभित्र टुङ्गो लाग्ने


विश्वास रेग्मी

काठमाडौँ, वैशाख १९ गते । काभ्रेमा विमानस्थल निर्माण गर्ने विषयले बारम्बार चर्चा पाए पनि अब भने बढीमा १५ दिनभित्र यसको टुङ्गो लाग्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान चाप बढ्दै गएपछि सरकारले आन्तरिक विमानस्थलको विकल्पका रूपमा राजधानी नजिकैको काभे्र जिल्लामा स्थल पहिचानको प्रक्रिया अघि बढाएको हो ।
मङ्गलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटा र नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीसहित स्थानीयवासी र यस क्षेत्रका विज्ञ टोलीले उपयुक्त तीन स्थानको स्थलगत अध्ययन गरेको थियो । अध्ययनपछि मन्त्री अधिकारीले यसअघि गठन गरेको विज्ञ समितिले यसबारे थप अध्ययन गरेर १५ दिनभित्र विमानस्थल निर्माणका लागि उपयुक्त स्थान सहितको प्रतिवेदन तयार गर्ने जानकारी दियो । टोलीले बनेपा नगरपालिकास्थित नागी डाँडा, धुलिखेल नगरपालिकास्थित ठूली चौर र चिसापानी ठूली चौरको अध्ययन गरेको थियो । kavre airpot
बनेपा बजारदेखि दक्षिण तर्फको नागी डाँडामा जमिन काटेर विमानस्थल निर्माण गर्न सक्ने सम्भावना रहेको यस अघिको अध्ययनले देखाएको थियो । सो डाँडामा ३० मिटर जमिन काटेमा आठ सय मिटर धावनमार्ग र ५० मिटर जमिन काटेमा एक हजार दुई सय मिटर सम्मको धावनमार्ग बनाउन सकिने सम्भावना रहेको छ । सो स्थानमा विमानस्थलको चौडाई न्यूनतम एक सय मिटरदेखि तीन सय मिटरसम्म रहने पनि प्रारम्भिक अध्ययनले देखाएको छ ।
त्यस्तै धुलिखेल बजार माथिको ठूली चौर डाँडामा ४० मिटरसम्म जमिन कटान गरेको अवस्थामा एक हजार १५० मिटर धावनमार्ग निर्माण गर्न सकिने यस अघिको अध्ययनले देखाएको थियो । चिसापानी ठूली चौरमा भने टोलीले पहिलोपटक प्रारम्भिक स्थलगत अध्ययन मात्र गरेको हो ।
मन्त्री अधिकारीले आन्तरिक उडानको चापले गर्दा पनि अन्तर्राष्ट्रिय विमानस्थलमा अत्यधिक चाप बढेकाले यसको विकल्प खोज्ने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । अध्ययन गरिएका तीनवटा विकल्पमध्ये कम खर्च र छिटो बन्न सक्ने ठाउँमा निर्माणको प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो ।
प्रतिवेदन तयार भएपछि यसको निर्माण मोडलसहित विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने उहाँले जानकारी दिनुभयो । उहाँले सरकारको एक सय दिने कार्यक्रम अन्तर्गत रहेको यो विषयको टुङ्गो लागेपछि आगामी आर्थिक वर्षको बजेटमा यसलाई समावेश गरिनेछ भन्नुभयो । राज्यमन्त्री बाँस्कोटाले काभे्रमा विमानस्थल निर्माणको चर्चा धेरै वर्ष अघिदेखि चर्चामा आए पनि यो कार्यान्वयनमा आउन नसकेको बताउनुभयो । सोही क्षेत्रबाट प्रतिनिधि सभामा प्रतिनिधित्व पनि गर्नुहुने उहाँले विमानस्थल निर्माणमा सबै ऐक्यबद्ध हुनुपर्ने सुझाव दिनुभयो । उहाँले विकासका क्रममा कतैकतै विनाश पनि गर्नुपर्ने हुनसक्छ, त्यति योगदान हामीले दिनुपर्छ भन्नुभयो ।
प्राधिकरणका महानिर्देशक अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक वर्ष ८ प्रतिशतले हवाई चाप बढेको र पछिल्लो समय वार्षिक ७० लाखले यहीँबाट आवागमन गर्ने जानकारी दिनुभयो । अब भने विमानस्थलले धेरै चाप थेग्न नसक्ने भएकाले वैकल्पिक आन्तरिक विमानस्थल आवश्यक भएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार नयाँ आन्तरिक विमानस्थल निर्माणका लागि न्यूनतम तीन अर्ब रुपियाँको लागत अनुमान गरिएको छ । कार्यक्रममा स्थानीयवासीले धुलिखेल पर्यटकीय स्थल रहेकाले यसमाथि विमानस्थल निर्माण गर्नु उपयुक्त नहुने तर काठमाडौँबाट नजिक हुने भएकाले नागीडाँडा विकल्प बन्न सक्ने सुझाव दिएका थिए ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना