शान्तिको बाटोमा कोरियाली प्रायद्वीप

 

Ram prashad Acharyaरामप्रसाद आचार्य

 

 

दुई कोरियाबीच ऐतिहासिक शिखर वार्ता सम्पन्न भएको छ । यो वार्ता सँगसँगै ६८ वर्षदेखिको दुई देशबीचको तनाव कम भएको छ । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनबीच गत शुक्रबार (२७ अप्रिल, २०१८) शिखर वार्ता भएको हो । शिखर वार्ता सफल भएको दुवै नेताले बताउनुभएको छ । यो कोरिया प्रायद्वीप साथै समग्र विश्वशान्ति र मेलमिलापका लागि ऐतिहासिक उपलब्धि हो ।
शिखर वार्ताका लागि पहिलोपटक उत्तर कोरियाली नेता किम दक्षिण कोरियाली भूमिमा जानुभयो । ६५ वर्षपछि उहाँले दक्षिण कोरियाली भूमिमा पाइलो राख्नुभयो भने केही क्षणका लागि दक्षिण कोरियाली राष्ट्रपति मुनले पनि सीमा क्षेत्रमा उत्तर कोरियाली भूमिमा पाइलो राख्नुभयो । यो क्षणलाई अत्यन्तै महŒव दिइयो । एकअर्काबीचको कटुता अन्त्य गर्दै एकअर्काको भूमिमा पाइला राख्दै दुवै नेताले शान्ति र मेलमिलापको सङ्केत गर्नुभयो । दुवै नेताबीच सीमावर्ती पान्मुन्जोमस्थित शान्तिगृह (पिस हाउस) मा सौहार्दपूर्ण वातावरणमा चरण चरणमा वार्ता भयो । यो वार्ताले कोरियाद्वीपमा स्थायी शान्ति कायम हुने सङ्केत गरेको छ । यो शिखर वार्ताले ६५ वर्ष लामो युद्ध अन्त्यको घोषणा गरेको छ । यसै वर्षको अन्त्यसम्ममा शान्ति सम्झौतामा हस्ताक्षर गर्न दुवै नेता सहमत हुनुभएको छ ।
उत्तर कोरियाली नेता किमले शान्तिगृहमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै लेख्नुभयो– ‘शान्ति युगको प्रारम्भ बिन्दुमा एउटा नयाँ इतिहास शुरु भएको छ । ’ पान्मुन्जोम घोषणापत्रमा दुवै नेताले हस्ताक्षर गरी अब युद्ध नगर्ने प्रतिबद्धता पनि जाहेर गर्नुभयो । साथै, कोरिया प्रायद्वीपलाई आणविक अस्त्रमुक्त क्षेत्र बनाउने, दुई कोरियाबीचको सीमा सैनिक क्षेत्रलाई शान्ति क्षेत्र बनाउने प्रण गर्नुभयो ।
स्थायी शान्ति आजको प्रमुख आवश्यकता भएको कुरालाई दुवै कोरिया नेतृत्वले राम्ररी आत्मसात्् गरेको छ । स्थायी शान्तिका लागि दुई कोरियाबीच शान्ति सम्झौता हुनु अत्यावश्यक थियो, जुन सम्झौता गर्न यो शिखरवार्ताले मार्ग प्रशस्त गरेको छ । यो आफैँमा महŒवपूर्ण उपलब्धि हो । सन् १९५०–५३ को कोरियाली युद्धयता अहिलेसम्म शान्ति सम्झौता हुन नसकेकाले प्राविधिक रूपमा दुवै कोरिया युद्धकै अवस्थामा थिए । युद्धकै तनावपूर्ण अवस्थामा पनि दुवै कोरियाले आ–आफ्नै ढङ्गले आर्थिक तथा सामरिक विकास गरे पनि सन्त्रास कायमै थियो । आर्थिक हिसाबले दक्षिण कोरिया बलियो बन्यो भने सैनिक तथा सामरिक हिसाबले उत्तर कोरिया ।
कोरिया प्रायद्वीपले विगतमा उपनिवेशको पीडा भोग्यो । दोस्रो विश्वयुद्ध समाप्तिसँगै जापानी उपनिवेशबाट स्वतन्त्र भएको कोरिया बाह्य कारणले विभाजित भई उत्तर र दक्षिण कोरिया दुई अलग–अलग मुलुक बने । एउटै भाषा र एउटै संस्कृति भएका यी मुलुक विभाजन सँगसँगै कट्टर विरोधी बने । सीमा क्षेत्र विश्वकै सबैभन्दा कडा सुरक्षा पर्खाल बनाई दुई देशका नागरिकलाई आवतजावतमा रोक लगाइयो । विभाजनअघि एउटै परिवारका सदस्य विभाजनसँगै कोही उत्तर त कोही दक्षिणतर्फ परे । हजारौँ परिवारको बिछोड भयो । उनीहरूबीच पुनःमिलन हुन सकेन, जसले गर्दा पारिवारिक बिछोडमा धेरै नागरिक तड्पिरहेका थिए । उनीहरू आपसमा मिलेर बस्न चाहेका छन् । दुवै मुलुक एकीकरण भई पुनःमिलन होस् भन्ने उनीहरूको वर्षौंदेखिको चाहना छ तर अहिलेसम्म एकीकरणको कुरा त परै जाओस् सम्बन्ध सामान्यीकरण बन्न सकेको थिएन ।
गत वर्ष उत्तर कोरियाली मूलका दक्षिण कोरियाली वर्तमान राष्ट्रपति मुन निर्वाचित भएर आएपछि दुई कोरियाबीच सम्बन्ध सुधारका लागि प्रयास शुरु भएको हो । छैठौँ पटकसम्म आणविक परीक्षण गरी आणविक शक्ति सम्पन्न मुलुक बनेको उत्तर कोरियाले अब थप परीक्षण नगर्ने बताएको छ । उसले आणविक परीक्षण केन्द्र बन्द गर्ने घोषणा गरेको छ । कोरियाली प्रायद्वीपलाई आणविक अस्त्रबाट मुक्त गराउन उत्तर कोरियालाई मनाउन आवश्यक छ । उत्तर कोरियाले आणविक हतियार बनाएको छ भने दक्षिण कोरियाको सुरक्षार्थ अमेरिकाले आवश्यक हतियारसहित करिब ४० हजार सैनिक खटाएको छ, जसले गर्दा कोरिया प्रायद्वीप आणविक हतियारको खतरा टरेको छैन । अब यो प्रायद्वीपलाई आणविक हतियारमुक्त बनाउन दुई कोरिया मिल्नुको विकल्प छैन । दुई कोरियाबीच मेलमिलाप भयो र आणविक हतियार नष्ट गर्ने काम भयो भने कोरिया प्रायद्वीपमा स्थापना हुने शान्तिले विश्वशान्ति र स्थिरतालाई नै सहयोग पु¥याउँछ । यसका लागि यस पटकको शिखर वार्ता सफलताले कोरियामा स्थायी शान्ति र मेलमिलापका लागि मार्गप्रशस्त गरेको छ ।
यो ऐतिहासिक शिखर वार्तापछि अब उत्तर कोरियाली नेता र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पनि वार्ता हुँदैछ । यो ज्यादै सुखद पक्ष हो । अब उत्तर कोरिया र अमेरिकाबीच सम्बन्ध सुधार भयो भने कोरियामा विद्यमान तनाव अन्त्य हुनेछ र नयाँ बिहानीको थालनी हुनेछ ।
पछिल्ला दिनमा चीन र उत्तर कोरियाबीचको सम्बन्ध झन् राम्रो बनेको छ । उत्तर कोरियाका नेता किम हालै रेल चढेर चीनका राजधानी बेइजिङ पुग्नुभयो । बेइजिङमा उहाँले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरी दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने काम गर्नुभयो । उहाँलाई चिनियाँ राष्ट्रपति सीले दक्षिण कोरिया, जापान र अमेरिकासित सम्बन्ध सुधार गर्न र कोरियाली प्रायद्वीपलाई आणविक निशस्त्रीकरण गर्न योगदान पु¥याउन आग्रह गर्नुभयो । सी र किमबीचको वार्तालाई अमेरिकाले पनि सकारात्मक रूपमा लियो । चीनसित सल्लाह गरेर नै किमले दक्षिण कोरियासित शिखर वार्ता गर्नुभयो । यो आफैँमा ऐतिहासिक घटना बन्यो ।
दुई कोरियाबीच बल्ल सम्बन्ध सुधार हुने सङ्केत देखिएको छ । दक्षिण कोरियामा हालै सम्पन्न शीतकालीन ओलम्पिकमा दुवै कोरियाली खेलाडी एउटै झण्डामुनि गोलबन्द भए । दक्षिण कोरियाली उच्चस्तरीय टोली र उत्तर कोरियाली उच्चस्तरीय टोलीबीचको वार्ताले शीर्षवार्ताको मिति तय गरियो । दक्षिण कोरियाली सांस्कृतिक टोलीले उत्तर कोरियामा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे । सो सांस्कृतिक कार्यक्रमलाई उत्तर कोरियाली नेता किमले अभिरुचिपूर्वक अवलोकन गरी टोलीको सम्मान गर्नुले वार्ताको वातावरणलाई सहज बनायो अनि शिखर वार्ता सम्भव भयो ।
दुई कोरिया मिल्दा कोरियाली प्रायद्वीपमा मात्र होइन, दक्षिणी पूर्वी एसिया र समग्र विश्वमै शान्ति स्थापना हुन्छ भने नमिली युद्ध गरे त्यसको असर समग्र विश्वलाई नै पर्ने भएकाले कोरियाली वार्ता सबैका लागि चासोको विषय बनेको हो । अब कुनै पनि बहानाबाजी गरेर कोरियामा युद्ध भड्काउने काम कसैले पनि गर्नुहुँदैन ।
कडा अन्तर्राष्ट्रिय नाकाबन्दी र दबाब झेलेको उत्तर कोरियाले पनि नाकाबन्दीबाट मुक्ति चाहेको छ । त्यसका लागि दक्षिण कोरिया, जापान र अमेरिकासित सम्बन्ध सुधार गर्नुको विकल्प छैन । युद्ध गरे अहिलेसम्म प्राप्त गरेका सबै उपलब्धि गुमेर सन् १९५०–५३ जस्तो युद्धमा भएको खरानीको अवस्थामा पुगिन्छ भन्ने कुरा दुवै कोरियालाई राम्ररी थाहा भएकाले अब शान्तिको बाटोमा अगाडि बढ्नु नै आजको आवश्यकता हो । दुवै कोरियाली नेता मिल्ने हो भने जर्मनीको जस्तै कोरियाको एकीकरण टाढाको विषय बन्ने छैन । कोरियाली एकीकरणमा बाह्यशक्ति बाधक बन्नुहुँदैन । दक्षिण कोरियालाई सहयोग गरिरहेको प्रमुख शक्ति अमेरिका र उत्तर कोरियालाई सहयोग गरिरहेको अर्को प्रमुख शक्ति चीन दुवैले कोरियामा शान्ति कायम गर्न अब निर्णायक सहयोग गर्नुपर्छ । दुई देशलाई आपसमा लडाएर, भिडाएर कुनै फाइदा छैन । युद्धलाई सबैले निषेध गर्नुपर्छ । मानवता रक्षाका लागि सबै मिल्नुको विकल्प छैन । परमाणु हतियारलाई परमाणु ऊर्जामा रूपान्तरण गरी विश्वलाई परमाणु ऊर्जामैत्री बनाउनु आजको आवश्यकता हो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना