राष्ट्रियसभा सदस्यको कार्यकाल: यस्तो बन्यो गोलाप्रथाको कार्यविधि


नारायण काफ्ले

काठमाडौँ, वैशाख २२ गते । राष्ट्रियसभा नियमावली मस्यौदा समितिले सदस्यहरूको कार्यकालसम्बन्धी गोलाप्रथाको कार्यविधिमा सहमति गरेको छ । संवैधानिक व्यवस्थाअनुसार प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्यको पदावधि सकिनेछ । कुन सदस्यको कार्यकाल कति वर्ष हुने गोलाप्रथाबाट तय हुनेछ । संवैधानिक व्यवस्था कार्यान्वयनका लागि समितिले गोलाप्रथाको कार्यविधि तय गरेको हो ।
राष्ट्रियसभा नियमावली मस्यौदा समिति सभापति पर्शुराम मेघी गुरुङले सदस्यको कार्यकालसम्बन्धी कार्यविधिमा सहमति भएको बताउनुभयो । अब नियमावली मस्यौदाअन्तर्गत फौजदारी कसुरमा पुर्पक्षका लागि थुनामा रहेका सदस्यलाई निलम्बन गर्ने वा नगर्ने विषय विवादित छ ।
मस्यौदा समितिको सहमतिअनुसार राष्ट्रियसभामा सबै क्लस्टरको समान प्रतिनिधित्व कायम हुने गरी गोलाप्रथा हुनेछ । क्लस्टरअनुसार नै चरणबद्ध रूपमा गोला हालिनेछ । मस्यौदाअनुसार पहिलो दुई वर्षमा १९ र चौथौ र छैटौँ वर्षमा २०÷२० जना सदस्यको कार्यकाल सकिनेछ । सदस्यको पूर्ण कार्यकाल ६ वर्षको हुने संवैधानिक व्यवस्था छ । स्थायी सदन राष्ट्रियसभामा पहिलो दुई वर्षमा पदावधि सकिने सदस्यको स्थानमा पुनः निर्वाचन भई सदस्य थपिँदै जानेछन् । गोलाप्रथामा पदाधिकारीसहितका सबै सदस्य समेटिनेछन् ।
यसरी हुनेछ गोलाप्रथा
हाल राष्ट्रियसभामा ५९ सदस्य छन् जसमा प्रत्येक प्रदेशबाट ८ जनाका दरले प्रतिनिधित्व गरेका ५६ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत तीन सदस्य छन् । प्रदेशबाट प्रतिनिधित्व गरेका आठ सदस्यमध्ये खुला तीन, महिला तीन, दलित एक र पिछडिएको वा अपाङ्गता भएको क्षेत्रबाट एक जनाको प्रतिनिधित्व छ ।
नियमावलीमा समेटिएको कार्यविधिअनुसार सबै क्लस्टर र प्रदेशको प्रतिनिधित्व सुनिश्चितताका लागि प्रदेशगत रूपमा खुला, महिला, दलित एवं पिछडिएको क्षेत्र र मनोनीतको फरकफरक रूपमा गोलाप्रथा हुनेछ । खुला तर्फबाट एउटा प्रदेशबाट निर्वाचित भएका तीन सदस्यका लागि गोलाप्रथा हुनेछ । यसरी गोलाबाट कुनै एक प्रदेशका तीन सदस्यको कार्यकाल क्रमशः दुई, चार र छ वर्ष कायम हुनेछ । यसैगरी सबै प्रदेशमा क्लस्टरअनुसार गोलाप्रथा हुनेछ ।
मनोनीत तीन सदस्यको पनि यसैगरी गोलाप्रथा हुनेछ । मनोनीत तीन सदस्यको पनि दुई, चार र छ वर्षको कार्यकाल हुनेछ । यसैगरी प्रत्येक प्रदेशबाट प्रतिनिधित्व गर्ने तीन महिला सदस्यको हकमा पनि प्रदेशगत रूपमा गोला हालिनेछ । एक प्रदेशका तीन महिला सदस्यको कार्यकाल क्रमशः दुई, चार र छ वर्षको नै हुनेछ ।
दलित क्लस्टरबाट प्रतिनिधित्व गरेका प्रत्येक प्रदेशका एक/एक जना गरी हुने सात सदस्यमध्ये दुई जनाको दुई, दुई जनाको चार र थप दुई जनाको ६ वर्षको कार्यकाल हुनेछ । एक जनाको लगत शून्य कायम गरी राखिनेछ । यस्तै अपाङ्गता वा अल्पसङ्ख्यक समुदायबाट प्रतिनिधित्व गर्ने सात सदस्यमध्ये पनि दुई जनाको दुई वर्ष, दुई जनाको चार र थप दुईको ६ वर्षको कार्यकाल हुनेछ । बाँकी एकलाई शून्य लगत कायम गरिनेछ ।
यसरी दलित र अल्पसङ्ख्य वा अपाङ्गता भएको क्षेत्रबाट प्रतिनिधित्व गरी शून्य लगत कायम गरेका दुई जनाबीच गोला हालिनेछ जसमा एक जनाको कार्यकाल चार वर्षको र अर्को एक जनाको कार्यकाल ६ वर्ष कायम हुनेछ । गोलाप्रथा गर्दा सदस्यहरूलाई वर्णानुक्रमअनुसार चिट्ठा तान्ने व्यवस्था कार्यविधिमा गरिएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना