बौद्ध सम्मेलन र विश्वशान्ति

kamal rijalकमल रिजाल


अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन, अन्तर्राष्ट्रिय ध्यान केन्द्र तथा सभा भवन शिलान्यास आदि विविध कार्यक्रमका साथ २५६२ औँ बुद्धजयन्ती हालै सम्पन्न भएको छ । वि.पू. ५०५ को वैशाख शुक्ल पूर्णिमाका दिन जन्मेका बुद्ध विश्वमा शान्तिका दूत, अहिंसाका पूजारी, एसियाका तारा आदि नामले परिचित छन् । १९ वर्षको उमेरमा एक सन्तान र श्रीमतीलाई छाडेर तपस्यामा लागेका यी महापुरुषले २५ वर्षको उमेरमा बोधीज्ञान प्राप्त गरेका थिए । संयोग नै मान्नुपर्छ उनको जन्म, बुद्धत्व प्राप्ति तथा निर्वाण प्राप्ति सबै वैशाख पूर्णिमाकै दिन भएका थिए । यसमा चार आर्यसत्य अनुभूत गरी बुद्धत्व प्राप्त गरेको दिन वि.पू. ४७१ को वैशाखशुक्ल पूर्णिमा थियो भने निर्वाण प्राप्त गरेको दिन वि.पू. ४२६ को वैशाखशुल्क पूर्णिमा थियो । बुद्धले अनुभूत गरेका चार आर्यसत्यलाई बौद्धदर्शनको विशेष आधार मानिन्छ, जसमा संसार दुःखले भरिएको छ, त्यसको कारण छ, त्यसलाई हटाउन पनि सकिन्छ र हटाउने उपाय पनि छन् आदि रहेका छन् । (आचार्य बलदेव उपाध्याय, भारतीय दर्शन पृष्ठ ११९)
बुद्धदर्शनको मूल ग्रन्थलाई त्रिपिटक भनिन्छ । यिनमा सुत्तपिटक, विनयपिटक र अभिधम्मपिटक पर्छन् । यिनको सङ्कलन बुद्धको निर्वाणपछि उनका शिष्य आनन्द र उपालीले गरेका थिए । यीमध्ये सुत्तपिटकमा बुद्धका उपदेशवाक्यहरू समावेश छन् भने विनयपिटक आचारसम्बन्धी ग्रन्थ र अभिधम्मपिटकलाई दार्शनिक विषयसित सम्बन्धित ग्रन्थ मानिएको छ । यसलाई बुद्धकै शिष्यहरूले सुत्तपिटकमा रहेका दार्शनिक अंशहरूको आधारमा तयार पारेका हुन् । उल्लिखित पिटकहरू अन्तरगत साना ठूला गरी दर्जनौँ ग्रन्थ छन् । जसअनुसार सुत्तपिटकमा दीर्घनिकाय, मज्झिमनिकाय, संयुत्तनिकाय, अंगुत्तरनिकाय र खुद्दकनिकाय आदि पाँचवटा अङ्ग रहेका छन् भने विनयपिटक अन्तरगत तीन अङ्ग रहेका छन्, जसमा सुत्तविभङ्ग या पातिमोक्ख, भिक्षुपातिमोक्ख तथा भिक्षुनिपातिमोक्ख एवं खन्दक र परिवार पर्छन् । त्यस्तै अभिधम्मपिटक अन्तर्गत सातवटा अङ्ग छन्, जसलार्ई पुग्गलपैञ्ञति, धातुकथा, धम्मसङ्ग्रहणी, विभङ्ग, पट्ठान, पकरण, कथावत्थु र यमक भनिन्छ । यसबाहेक भिक्षु नागसेनकृत मिलिन्दप्रश्न पनि त्रिपिटक जत्तिकै महìवपूर्ण मानिएको छ ।
हाल बुद्धदर्शनमा हीनयान र महायान दुई सम्प्रदाय देखिएका छन् । यीमध्ये हीनयान बुद्धपछिको सर्वाधिक पुरानो बौद्ध मत हो भने महायान त्यसभन्दा पछिको व्याख्या मानिन्छ । यसको व्याख्याता अश्वघोष मानिएका छन् । उनले विभिन्न तर्कको आधारमा बुद्धदर्शनलाई औपनिषदिक चिन्तनको नजिक पु¥याएका छन् । पछि गएर ती दुवै सम्प्रदायमा विभाजन आएकाले विभिन्न धार देखा परेका छन् । यसमा हीनयानले एकल अर्थात् व्यक्तिगत मुक्तिको पक्ष लिएको छ भने महायानले सबै प्राणीको मुक्तिको वकालत गरेको छ । (बेदुराम भुसाल, नेपालमा प्रचलित दार्शनिक चिन्तनहरू पृष्ठ १२०)
हाल बुद्धदर्शन धर्मको नामले बढी परिचित छ । यो धर्म पूर्वी गोलार्धको धेरै स्थानमा फैलिसकेको छ । सम्राट अशोकको पालादेखि शुरु भएको यसको फैलिने क्रम ईशाको प्रथम र द्वितीय शताब्दीतिरका कुषाणवंशी राजाहरूको पालामा थप तीव्र भएको देखिन्छ । (लीलाप्रसाद सापकोटा, विश्वका प्रमुख धर्म पृष्ठ ८४) तथापि विडम्बना त के भने स्वयं बुद्धको जन्मभूमि नेपालमा भने यसले अन्यत्रको तुलनामा खासै गति लिन सकेन । हजारौँ वर्षसम्म बुद्धको जन्मस्थल नै पत्ता लाग्न सकेन । यसका लागि हामीले सन् १८९६ सम्म कुर्नुप¥यो । यतिबेला जर्मनी पुरातìवविद् डा. एलोइज एण्टोन फ्युहररले लुम्बिनी भ्रमण गरी यो पुनित कार्य गरिदिएका थिए भने यसप्रति अन्तर्राष्ट्रिय चासो बढाउने काम चाहिँ तत्कालीन राष्ट्रसङ्घीय महासचिव उथान्तले गरेका हुन् । उनले सन् १९६७ मा गरेको लुम्बिनी भ्रमणपछि नै यसप्रतिको अन्तर्राष्ट्रिय चासो बढ्दै गएको हो ।
(युवराज शर्मा गौतम, तीर्थ पर्यटन पृष्ठ ३२८–२९)
तथापि बुद्धलाई भने हिन्दूधर्म संस्कृतिले भगवान्को विशिष्टतम अवतार मानेको छ । अहिले पनि वैदिक सनातन धर्मावलम्बी हिन्दूहरू कुनै शुभकार्यको सङ्कल्प वाक्यमा बौद्धावतारे भनेर उनलाई सम्मान गर्ने गर्छन् । उनको स्थान भगवान्को १० अवतारमध्ये नवौँमा रहेको छ तर भागवतमा व्यासजीले भने उनलाई २१ औँ अवतार भनेका छन् । ‘बुद्धो नाम्नाजिन सुतः कीकटेषु भविष्यति । ’
(भागवत १ । ३ । २४) तर यो क्रम २४ अवतारको गणनामा मात्र आएको हो । वस्तुतः नवौँ भन्नु र २१ औँ भन्नु एउटै हो । किनभने दुवैमा उनी अघिका अवतारहरू क्रमशः कृष्ण र राम नै रहेका छन् तर उनको भगवान् विशेषणका सम्बन्धमा भने मतभेद भेटिन्छन् । सम्राट अशोकले बुद्ध जन्मस्थल लुम्बिनीमा स्थापना गरेका शिलास्तम्ममा उनलाई भगवान् भनेका छैनन् । शाक्यवंशीय महाज्ञानी व्यक्ति भनेका छन् । तथापि उनी कुशल उपदेशक र मानवतावादी दार्शनिक भने पक्कै हुन् । उनले जति गरे मानवधर्मकै लागि गरे, मानवताकै लागि गरे र मानवहितकै लागि गरे । (रामराज रेग्मी पूर्वीय दर्शनमा भौतिकवाद पृष्ठ ५७)
वस्तुतः बुद्ध अहिंसाका पुजारी मानिन्छन् । उनको मत यसैबाट पूर्णतः आप्लावित छन् । यद्यपि उनी पूर्वका दार्शनिक आसुरी, कपिल, पञ्चशिख, पतञ्जलि आदिले पनि अहिंसाको कुरा गरेका छन् तर त्यसलाई विस्तृत रूप दिने काम भने बुद्धले नै गरेका हुन् । (कल्याण पुराणकथाङ्क पृष्ठ ३४०) बुद्धले धर्मको कुरा पनि गरेका छन् र सङ्घको कुरा पनि गरेका छन् । यसमा भिक्षुहरूको सङ्घको त स्थापना नै गरेका छन् तर उनले यो कुनै सम्प्रदाय विशेषको कुरा गरेका होइनन् । अनि आजको जस्तो राजनीतिक वादमा आधारित सङ्घको कुरा गरेका पनि होइनन् । उनले भनेको धर्म त सम्प्रदाय निरपेक्ष विशुद्ध मानवहितकारी काम हो भने सङ्घ भनेको सबै किसिमका राजनीतिक वादहरूभन्दा माथि उठेको विश्व–मानवतावादी सङ्घ हो, जहाँ शान्ति, सदाचार, सद्भाव र सत्कर्म आदि सात्विक गुण रहेको हुन्छ ।
जे होस् बुद्ध मानवधर्म र विश्वमानवतावादका पक्षपाती हुन् । त्यसैले उनको दर्शनको महìव हिजो जति थियो आज झनै बढी हुन पुगेको छ । आज हत्या, हिंसा, आतङ्क, अन्याय, अत्याचार र अशान्तिको बादल कति बढी घनीभूत छ भनिरहनु पर्दैन । मानिसमाथि अत्याचार छ । पशुपंक्षीमाथि अत्याचार छ । प्रकृतिमाथि अत्याचार छ । बुद्धले यी तमाम अतिवादलाई निषेध गरेका छन् । उनी भोगविलासको विरुद्ध पनि उभिएका छन् धर्मको नाममा हुने आडम्बरका विरुद्ध खनिएका पनि छन् । सबै अति विरुद्ध उभिएर सर्वहितवादको पक्षमा वकालत गर्नु नै बुद्ध मतको सार हो । यसैलाई बुद्धदर्शनले दुःख निवारणको उपाय भनेको छ, जसमा सम्यक दुष्टि, सम्यक सङ्कल्प, सम्यक वाणी, सम्यक कर्म, सम्यक आजिविका, सम्यक व्यायाम, सम्यक विचार र सम्यक योग आदि अष्टाङ्ग मार्ग पर्छन् । (तुलसीनाथ घिमिरे, विविध धर्म पृष्ठ ७७)
आज बुद्धको जन्मस्थान लुम्बिनी, उनले बुद्धत्व प्राप्त गरेका स्थान बोधगया र सर्वप्रथम ज्ञान प्रचार गरेका स्थान सारनाथ तथा उनको निर्वाणस्थल कुशीनगर विशेष तीर्थस्थल बन्न पुगेको छ । यीमध्ये उनको जन्मस्थान नेपालमा पर्छ भने अन्य तीन स्थान भारतमा पर्छन् । (युवराज शर्मा गौतम, तीर्थ पर्यटन पृष्ठ ८१) प्याकेज बनाई यी स्थानका अवलोकन, भ्रमण कार्यक्रम मिलाउने हो भने आर्थिक उन्नतिको समेत महìवपूर्ण आधार बन्न सक्छ । यसलाई विस्तारै बढाउँदै लगेर उत्तरमा तिब्बत मानसरोवरसम्म र दक्षिणमा श्रीलङ्कासम्म पु¥याउन सकिन्छ । त्यति मात्र होइन, त्यसलाई पनि विस्तारै बढाउँदै लगेर संसारभरिकै बौद्ध तीर्थस्थलहरूलाई पनि यसैमा जोड्न सकिन्छ । यसो गर्न सकिएको खण्डमा आर्थिक उन्नतिका साथै बुद्धको अहिंसा र शान्तिको सन्देशलाई समेत थप व्यापक बनाउन सकिन्छ ।
निःसन्देह लुम्बिनी समग्र मानवधर्म र मानव जातिकै तीर्थस्थल हो भने मानवसभ्यताको धरोहर पनि हो । त्यसैले विश्वमा शान्ति र सद्भाव फैलाउन सक्छ भने बुद्ध जन्मस्थान र उनको सन्देशले नै सक्छ । सम्पन्न बुद्धजयन्ती र अन्तर्राष्ट्रिय सम्मेलनको अन्तर्यमा पनि यस्तै यस्तै आशय अनुभूत गर्न सकिन्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना