‘गोर्खापत्र’ साहित्यिक पत्रिका !

krishna shrestha_1कृष्ण श्रेष्ठ

 

प्राज्ञिक–शैक्षिक कृतिहरू सूक्ष्म परीक्षणपछि प्रकाशित हुने विश्वास गरिन्छ तर बेलाबेलामा यस्तो विश्वास खण्डित हुन्छ । प्रतिष्ठित दुई प्रकाशन गृहबाट करिब दुई दशकको अन्तरालमा प्रकाशित कृतिहरूमा गोरखापत्र (त्यसबेला गोर्खापत्र)को प्रारम्भबारे दिइएका गलत जानकारी यसका उदाहरण हुन् । गोरखापत्रको प्रकाशन प्रारम्भ नेपालकै पहिलो साप्ताहिक समाचारपत्रको रूपमा भएको निर्विवादित छ । प्रसिद्ध प्रकाशनगृह सेज् पब्लिकेशनको सेज् पब्लिकेशन्स इन्डिया प्रा.लि.द्वारा सन् २००० मा प्रकाशित तथा शेल्टन ए. गुनरत्नेद्वारा सम्पादित ‘न्युज्पेपर्स इन एसिया ः कन्टेम्पोररी ट्रेन्ड्स एन्ड प्रोब्लेम्स’को ‘नेपाल’ अध्यायमा गोरखापत्रको प्रारम्भ ‘साहित्यिक साप्ताहिक’का रूपमा भएको उल्लेख छ । उक्त खण्डका लेखकद्वयमा पहिलो भारतीय पत्रकार एवं विख्यात लेखिका र दोस्रो नेपालको पत्रकारिता क्षेत्रमा महìवपूर्ण योगदान दिएका तथा गोरखापत्र दैनिकको सम्पादकीय टोलीको नेतृत्व गरिसकेका एवं गोरखापत्र संस्थानका कार्यकारी प्रमुख भइसकेका व्यक्ति रहेका छन् । उक्त अध्यायको छापा माध्यम खण्डको पहिलो वाक्यमा नै ‘नेपालको पहिलो समाचारपत्र’ भनेर उल्लेख गर्दागर्दै पनि सोही अनुच्छेदको तेस्रो हरफमा ‘साहित्यिक साप्ताहिक’का रूपमा प्रकाशन प्रारम्भ भएको भनेर उल्लेख गरिएको छ । लेखकद्वयले यसका लागि ‘न्युज्पेपर्स इन एसिया ः कन्टेम्पोररी ट्रेन्ड्स एन्ड प्रोब्लेम्स’ र ‘द प्रेस इन नेपाल ः एन अप्रेजल’ लाई आधार बनाएको सन्दर्भ–सङ्केतबाट खुल्दछ । उक्त अध्यायको नेपाली सह–लेखकले आफ्नो जीवनीमा आधारित कृति ‘अ कम्प्याश्नेट जर्नालिष्ट’ मा भने गोरखापत्रबारे त्यस्तो विचार व्यक्त गरेको पाइँदैन ।
‘न्युज्पेपर्स इन एसिया ः कन्टेम्पोररी ट्रेन्ड्स एन्ड प्रब्लेम्स’को प्रकाशन ‘ह्यान्डबुक अफ द मिडिया इन एसिया’भन्दा १८ वर्षअघि सन् १९८२ मा हाइनमन एडुकेश्नल वक्र्स (एसिया) लि.बाट भएको हो । जोन ए. लेन्टद्वारा सम्पादित उक्त कृतिमा ‘सरकारले साहित्यिक साप्ताहिकका रूपमा गोरखापत्र आरम्भ ग¥यो’ भन्ने उल्लेख छ तर सन्दर्भ–सङ्केत भने दिइएको छैन । कृतिको ‘नेपाल’ अध्यायका लेखक पनि गोरखापत्र संस्थान, यसका प्रकाशनहरू तथा सम्पादकहरूसँग निकट परिचित नेपालका पत्रकार नै हुनुहुन्थ्यो । सन्दर्भमा उल्लिखित दोस्रो कृति ‘द प्रेस इन नेपाल ः एन अप्रेजल’ सन् १९८८मा प्रतिभा पब्लिकेसनद्वारा प्रकाशित कृति हो । उक्त कृतिमा गोरखापत्रको प्रकाशन साहित्यिक पत्रिकाको रूपमा भएको उल्लेख कतै पनि पाइँदैन । उक्त कृतिका लेखककै सन् १९८५मा सेन्टर फर नेपाल एन्ड एसियन स्टडिज, त्रिभुवन विश्वविद्यालयद्वारा प्रकाशित ‘द डेभेलप्मेन्ट मेसेज अफ द गोरखापत्र एन्ड सम मिजर्स अफ इट्स एफेक्टिभनेस’मा पनि यस्तो उल्लेख पाइँदैन । दुवै कृतिमा लेखकले व्यापक अर्थ दिने शब्द ‘पत्रिका’ (पेपर) प्रयोग गर्दै “यो साप्ताहिक पत्रिकाका रूपमा सुरु भएको थियो” उल्लेख गरेका छन् र दुवै कृतिमा गोरखापत्रलाई ‘समाचारपत्र’ भनी पटक–पटक उल्लेख गरेका छन् ।
‘न्युज्पेपर्स इन एसिया ः कन्टेम्पोररी ट्रेन्ड्स एन्ड प्रब्लेम्स’ र ‘ह्यान्डबुक अफ द मिडिया इन एसिया’ मात्र अध्ययन गर्नेले गोरखापत्रको प्रारम्भ साहित्यिक साप्ताहिकका रूपमा भएको र पछि समाचारपत्र बनेको ठहर गर्ने गल्ती गर्छ । दुवै कृतिका ‘नेपाल’ अध्यायहरूका लेखकहरूले गोरखापत्रका शुरुआत ताकाका अङ्कहरू सर्संर्ती मात्र पनि हेरेका भए गलत जानकारी प्रवाहित हुने थिएन । ‘गोर्खापत्र’को पहिलो अङ्कको पहिलो पृष्ठमा स्पष्ट रूपमा नै ‘साप्ताहिक समाचारपत्र’ उल्लेख छ । त्यसमा छापिएका ‘एडिटर्को राय’, ‘देशान्तर समाचार’, ‘देश समाचार’, ‘विविधसमाचार’, ‘हिन्दुस्थान समाचार’, ‘बजार को भाऊ’ आदि नै पर्याप्त छन्, ‘गोर्खापत्र’लाई साप्ताहिक समाचारपत्र प्रमाणित गर्न । एक छिनका लागि गोरखापत्रका प्रारम्भिक अङ्कहरू उपलब्ध नभएको मान्ने हो भने पनि ‘प्रेस कमिसनको प्रतिवेदन २०१५’, ‘शाही प्रेस आयोग–२०३८ को प्रतिवेदन’, ग्रीष्मबहादुर देवकोटाको ‘नेपालको छापाखाना र पत्र–पत्रिकाको इतिहास’ (वि.सं. २०२४), कमल दीक्षितको ‘कागतीको सिरप’ (वि.सं. २०२६) र रामराज पौड्यालको ‘पत्रकारिता’ नै पर्याप्त थिए÷छन्, गोरखापत्रको प्रकाशन साप्ताहिक समाचारपत्रको रूपमा प्रारम्भ भएको पुष्टि गर्न । ‘नेपालको छापाखाना र पत्र–पत्रिकाको इतिहास’मा प्रकाशित ‘गोर्खापत्र’ प्रकाशनसम्बन्धी सनदमा अन्य कुराका अतिरिक्त “यो अखबार हप्ता हप्तामा १००० थानका हिसाबले छापी सो अखबार जस्जस्ले लिनामा दर्कार गर्छन वर्ष १ को अखबार थान १ मोहरू ३ का दर्ले लिने गरी दिनु” भन्ने उल्लेख भएबाट पनि गोरखापत्रको प्रारम्भ साहित्यिक पत्रिकाका रूपमा नभएको प्रमाणित हुन्छ ।
कुनै समयमा साहित्यसम्बन्धी सामग्रीहरू अधिक मात्रामा छापिएका कारण ‘गोरखापत्र’लाई कसैले साहित्यिक पत्रिका भन्दछ भने त्योभन्दा गलत बुझाइ अरू केही हुन सक्दैन । सन् १७३१मा प्रारम्भ भएर झण्डै दुई सय वर्षसम्म चलेको ‘जेन्टलम्यान्स म्यागाजिन’मा छापिने गरेका स्यामुअल जोन्सनको ‘डिबेट्स अफ द सिनेट अफ माग्ना लिल्लिपुटिया’ शृङ्खलाबारे बेलामौकामा पत्रकारिता प्रशिक्षण क्रममा चर्चा हुने गर्दछ । बेलायतमा संसदीय रिपोर्टिङ प्रतिबन्धित रहेको समयमा छापिने गरेको उक्त शृङ्खला ‘हाउस अफ कमन्स’को कार्यवाहीको ‘फिक्सनाइज्ड रिपोर्टिङ’ पनि मानिन्छ । ‘जेन्टलम्यान्स म्यागाजिन’ मात्र होइन, अठारौँ शताब्दीमा सिङ्गो बेलायती पत्रकारितामा नै साहित्यको गहिरो प्रभाव थियो । त्यसको आधारमा त्यहाँका समाचारप्रधान पत्रिकाहरू ‘साहित्यिक पत्रिका’ कहलिएनन् । नेपालमा ‘गोरखापत्र’ले निर्विवाद रूपमा नेपाली साहित्यको विकासमा महìवपूर्ण योगदान दिएको छ । नेपाली साहित्यको माध्यमिक कालमा निस्कन थालेको गोरखापत्रबारे कृष्णचन्द्रसिंह प्रधानले ‘गोरखापत्र र नेपाली साहित्य’ लेखमा लेखेका छन् ः “यस कालको साहित्यिक प्रयोग भूमि भयो ... साहित्यिक अखबार गोरखापत्र होइन । तर यसले साहित्यको सेवा ग¥यो । ” यसमा कथा तथा कविताहरू मात्र छापिएनन्, धारावाहिक उपन्यासहरू पनि छापिए । यसो भएकै कारण गोरखापत्रलाई यसको प्रकाशन प्रारम्भ ‘साहित्यिक साप्ताहिक’का रूपमा भयो भन्नु तर्कसङ्गत हुँदैन । यसो भन्नु नेपाली अखबारी पत्रकारिता इतिहासलाई तोडमरोड गर्नु हुन्छ । कारण, गोरखापत्रको प्रकाशनपछि अर्को समाचारपत्र निस्कन करिब पाँच दशक लाग्यो ।
सबै समाचारपत्र÷अखबार पत्रिका हुन् तर सबै पत्रिका समाचारपत्र÷अखबार होइनन् । केही नेपाली विद्वान्का कृतिमा ‘समाचारपत्र÷अखबार’लाई ‘पत्रिका’को पर्यायको रूपमा प्रयोग गरिएको पाइन्छ । प्रधान बुक हाउस, काठमाडौँद्वारा वि.सं. २०६५मा प्रकाशित कृति ‘नेपाली पत्रकारिता’को ‘नेपालमा सञ्चार माध्यमको विकास’ अध्यायमा “नेपालमै छापिएको पहिलो अखबारका रूपमा ‘सुधासागर’लाई लिइन्छ” भनेर उल्लेख गरिएको छ । यस्तै, ‘साहित्यिक पत्रकारिता’ अध्यायमा पनि “नेपालमै छापिएको पहिलो अखबार ‘सुधासागर’ हो” उल्लेख छ । पहिलो अध्यायमा लगत्तै “यो साहित्यिक मासिक पत्रिका थियो” र पछिल्लो अध्यायमा लगत्तै “यो पनि साहित्यिक पत्रिका नै थियो” उल्लेख छ । ‘नेपालमा सञ्चार माध्यमको विकास’ अध्यायको ‘गोरखापत्र र राणा शासनकाल’ खण्डमा भने “नेपालबाटै अखबारका रूपमा छापिएको पहिलो पत्रिका गोरखापत्र नै हो” छापिएको छ । यी अनुच्छेदहरू पढेर पाठकले के बुझ्ने ?
यस्तै, निमा पुस्तक प्रकाशनद्वारा वि.सं. २०६६मा पहिलो पटक प्रकाशित तथा वि.सं. २०७२मा अद्यावधिक गरिएको कक्षा ११का विद्यार्थीहरू लक्ष्यित कृति ‘मास कम्युनिकेसन एन्ड जर्नालिज्म’को ‘प्रि–गोरखापत्र पिरियड १८५१–१९००’मा पनि नेपालबाट प्रकाशित पहिलो ‘न्युज्पेपर’ ‘सुधासागर’ भनी उल्लेख गरिएको छ । सोही कृतिको ‘नेपाली मिडिया इन्ष्टिच्युट्स’ खण्डमा गोरखापत्रलाई “नेपालबाट दोस्रो समाचारपत्र” भन्ने उल्लेख गरिएको छ । ‘सुधासागर’ कसरी ‘न्युजपेपर’ हुनपुग्यो, बुझ्न सकिँदैन ।
नेपालबाट प्रकाशित पहिलो नेपाली पत्रिका ‘सुधासागर’ रहेको स्थापित सत्य हो । साहित्यिक मासिकका रूपमा रहेको उक्त पत्रिकाको भौतिक रूपलाई वर्तमान र यसअघिको पुस्तासमेतले देख्न पाएका छैनन् । यससम्बन्धी जे जति चर्चा हुने गरेका छन्, ती सब ‘नलोपाख्यान’ कृतिको भित्री आवरण पृष्ठमा प्रकाशित विज्ञापनमा आधारित छन् । ‘नेपालको छापाखाना र पत्र–पत्रिकाको इतिहास’मा उद्धृत गरिएको सो विज्ञापनमा अन्य कुराका अतिरिक्त “हाम्रा गोर्खा भाषामा पनि ५५ साल श्रावण मैना देखीन ‘सुधासागर’ भन्या मासीकपत्र निस्क्याको छ जस्मा अनेक तरहका विघ्नआनन्द दिन्या श्लोक–कथाहरू समेत हाली प्रकाश हुन्छ” उल्लेख छ ।
यसबारे अन्य चर्चा गर्नुअघि समाचारपत्र
(न्युजपेपर)को परिभाषाबारे चर्चा गर्नु प्रासङ्गिक हुन आउँछ । भृकुटी एकेडेमिक पब्लिकेसन्सद्वारा सन् २०१४मा प्रकाशित भानुभक्त आचार्यको ‘पत्रकारिता र आमसञ्चार शब्दावली’मा ‘न्युज्पेपर’को परिभाषा यसरी दिइएको छ ः “छापिएका ठूला पृष्ठहरूको एकीकृत स्वरूप, जसमा समाचार, लेख–रचना, विज्ञापन इत्यादि समेटिएको हुन्छ एवम् सामान्यतः प्रत्येक दिन वा कम्तीमा हप्ताको एकपटक प्रकाशित हुन्छ । यो हलुका तौल भएको त्यज्य प्रकाशन हो, जुन सामान्यतः सस्तो मूल्य पर्ने कागजमा छापिन्छ । अखबारमा प्रायः राजनीतिक घटनाक्रम, अपराध, अर्थतन्त्र, खेलकुद, विचारलगायत विषयमा ताजा समाचार तथा जानकारीहरू प्रकाशित हुन्छन् साथै बढ्दो रूपमा समाचारसम्बन्धी तस्बिर, रेखाचित्र, व्यङ्ग्यचित्र इत्यादिसमेत प्रयोग गरिन्छन् । दैनिक अखबारहरूले तथ्य र गतिविधिलाई प्राथमिकता दिन्छन् भने साप्ताहिक अखबारले विचार र विश्लेषणलाई । ” सो कृतिमा अङ्ग्रेजी ‘न्युज्पेपर’को नेपाली अनुवाद ‘अखबार’, ‘समाचारपत्र’ वा ‘पत्रपत्रिका’ भनी गरिएको छ । ‘छापाखाना र प्रकाशनसम्बन्धी ऐन, २०४८’ले ‘समाचारपत्र’ र ‘पत्रपत्रिका’लाई समानार्थक मानेको छैन । ऐनअनुसार, “सार्वजनिक महìवका समसामयिक विषयका क्षेत्रमा टिप्पणी भएको वा नभएको लिखत, समाचार तथा विचारहरू समेत भएको सार्वजनिक रूपमा बिक्री वा वितरण हुने पत्र” समाचारपत्र हो । “समाचारपत्र र समाचारपत्रिकामा नगनिने कला, साहित्य, विज्ञान, पर्यटन, चलचित्र लगायतका विभिन्न विधामा प्रकाशित हुने अन्य पत्रपत्रिका”चाहिँ अन्य पत्रपत्रिका हुन् । ‘पत्रपत्रिका’ ले भने समुच्च रूपमा “समाचारपत्र, समाचारपत्रिका र अन्य पत्रपत्रिका समेत”लाई बुझाउँछ । ऐनको परिभाषाबाट पनि स्पष्ट हुन्छ, सबै समाचारपत्र पत्रपत्रिका हुन् तर सबै पत्रिपत्रिका समाचारपत्र होइनन् ।
नेपाल प्रज्ञा–प्रतिष्ठानबाट वि.सं. २०७२मा प्रकाशित ‘नेपाली बृहत् शब्दकोश’मा अखबार र समाचारपत्रलाई समानार्थक शब्दका रूपमा प्रयोग गरिएको पाइन्छ । ‘पत्रिका’का हकमा स्थिति भिन्न छ । शब्दकोशअनुसार, “दैनिक, साप्ताहिक आदि निश्चित समयमा निस्किने खबरका साथै सम्पादकीय, टिप्पणी, लेख, विज्ञापन आदि छापिएको कागत; खबर कागत; समाचार पत्र” अखबार हो । यस्तै, “विभिन्न किसिमका समाचारहरू छापिएको नियमित समयमा प्रकाशित हुने पत्र (दैनिक, साप्ताहिक आदि); अखबार” समाचारपत्र हो । “निश्चित समयमा प्रकाशित हुने मासिक, पाक्षिक, साप्ताहिक आदि प्रकाशन” पत्रिका हो ।
यी परिभाषाहरूबाट र ‘नलोपाख्यान’को विज्ञापनको आधारमा निस्किने निष्कर्ष हो, ‘सुधासागर’ समाचारपत्र÷अखबार (न्युज्पेपर) थिएन । यस्तै, विख्यात संस्थाहरूबाट प्रकाशित कृतिहरूमा उल्लेख गरिएजस्तै गोरखापत्रको प्रकाशन प्रारम्भ ‘साहित्यिक साप्ताहिक’को रूपमा भएको थिएन । यो दुःखद पक्ष हो, नेपाली पत्रकारिताको इतिहास समेटिएका अन्य केही कृतिमा पनि यस्ता विसङ्गति छन्, जसमा सुधार अत्यावश्यक छ ।

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना