नदेखियोस् अभिमान, नझुकोस् स्वाभिमान

atindra dahal_1डा. अतीन्द्र दाहाल

 


भारतीय प्रधानमन्त्रीको आसन्न नेपाल भ्रमण विभिन्न कारणले चर्चामा छ । सन् २०१४ अगस्टमा उहाँ १७ वर्षपछि नेपाल भ्रमण गर्ने भारतीय प्रधानमन्त्री बन्नुभएको थियो । नेपालका हरेक प्रधानमन्त्रीबाट भारत भ्रमण भए पनि भारतबाट बिरलै प्रधानमन्त्री स्तरीय भ्रमण हुन्छ । यद्यपि उहाँबाट चार वर्षको अवधिमा तेस्रो नेपाल भ्रमण हुँदैछ । विविध आयाममा विश्व सर्वेक्षण गर्ने विख्यात पत्रिका फोब्र्सले अहिले भ्लादिमिर पुटिनलाई विश्वको सबैभन्दा शक्तिशाली व्यक्ति देखाउँछ । डोनाल्ड ट्रम्प, एन्जेला मार्केल, सी जिन पिंग हुँदै मोदीलाई नवौँ शक्तिशाली व्यक्ति भनिएको छ । संसारका शक्तिशाली मानिसको सूचीमा भारतका प्रधानमन्त्रीहरूमा सबैभन्दा माथि पुग्ने व्यक्तिसमेत मोदी नै हुनुहुन्छ । तसर्थ यो आगमन छिमेकी प्रधानमन्त्रीसँगै विश्वका एक शक्तिशाली व्यक्तिको भ्रमणसमेत हो ।
पहिलो भ्रमणमा उहाँमाथि आम नागरिकको उच्च सम्मान र श्रद्धा थियो । दोस्रोपटकमा नेपालको संविधानसँग सम्बन्धित अभिव्यक्तिलाई लिएर केही आशंका जन्मियो । संविधान निर्माणपछि उत्पन्न परिस्थिति अनि १३५ दिनको नाकाबन्दीका कारण पहिलो भ्रमणबाट प्राप्त स्यावासी तथा उच्च आदरमा गम्भीर क्षयीकरण भयो । अहिले अनपेक्षित र अनामन्त्रित भ्रमण हुन लागेको चर्चासमेत छ । सामाजिक र सार्वजनिक संचारमा सरकारले उक्त भ्रमण अस्वीकार गर्नुपर्ने वा पाहुनाले विगतमाथि याचना गर्नुपर्ने भावनाका केही भड्किला समचार समेत देखिँदैछन् । नागरिकबाट सकारात्मक वा नकारात्मक जस्तो भावना अभिव्यक्त भए पनि विश्व भ्रमणमा रमाउनु चाहिँ मोदीको विशिष्ट स्वभाव भएको देखिन्छ ।
मोदीको भ्रमण मोह
मोदीको प्रधानमन्त्री सपथ समारोह नै फरक थियो । सबै सार्क सदस्यहरूलाई निम्त्याइयो । भारतले छिमेकीहरू साथमा लिएर विश्व शक्ति बन्न चाहेको छनक देखिन्थ्यो । प्रधानमन्त्री भए लगत्तै २०१४ जुन १५ मा भुटानबाट शुरु भएको विदेश यात्राले तीव्र गति लियो । भारतीय सरकारी तथ्यांकले सन् २०१४ मा ९, ०१५ मा २८, ०१६ मा १९, ०१७ मा १४ र ०१८ मा १४ (नौ सम्पन्न र पाँच निर्धारित) गरी मोदीबाट ८४ विदेश भ्रमण भएको देखाउँछ । तीमध्ये २५ वटा बहुपक्षीय सभा÷सम्मेलन जस्ता आलंकारिक प्रयोगमा र ५९ वटा राजकीय भ्रमण भए । उहाँले कतिपय देशमा महìवपूर्ण सार्वजजिक सम्बोधन गर्नुभयो । उहाँको भ्रमण र प्रचारमैत्री सघन स्वभावसँगै पछिल्लो परिवर्तित विश्व अवस्थाले पनि भारतमाथि अरु देशहरूसँग नयाँ आयमको सम्बन्ध स्थापित गर्न चर्को आन्तरिक दबाब छ ।
बदलिएको विश्व अवस्था
पछिल्लो दशक चीन नयाँ आर्थिक शक्ति भएर आक्रामक रूपमा उदायो । अब विगतमा जस्तो विश्वयुद्ध नभई देशहरूबीच व्यापार युद्ध हुने देखिन्छ । यसलाई ‘थुसिडाईड ट्रयाप’ भनिन्छ । गएको वर्ष प्रकाशित माईकल ए ग्राहामको पुस्तक ‘डेस्टाइन्ड फर वार ः क्यान अमेरिका एण्ड चाईना इस्केप थुसिडाईड ट्रयाप’ ले समेत यस्तै प्रक्षेपण गर्छ । दुई हजार ४०० वर्ष पहिले लेखक थुसिडाईडबाट ‘द हिस्ट्री अफ पेलपोनेसेनिया’ नामक पुस्तक लेखियो । तत्कालीन ‘स्पार्टा’ एक समृद्ध राज्य अनि स्थापित शक्ति थियो तर उदीयमान शक्ति ‘एथेन्स’ले उसलाई चुनौति दियो । त्यस प्रतिस्पर्धामा दुई देशबीच युद्ध हुँदा पूरै ‘पेलपोनेसेनिया’ क्षेत्र प्रभावित भयो । थुसिडाईडले प्रतिपादन गरको यस्तो आधारको युद्धलाई एलिसनबाट थुसिडाईड ट्रयापको नामाकरण भयो ।
संसारमा अहिलेसम्म स्थापित शक्तिलाई उदीयमान शक्तिले टक्कर दिएका १६ मध्ये १२ घटना भिमकाय युद्धमा रूपान्तरण भएको देखिन्छ । सोह्रौँँ शताब्दीमा फ्रान्समाथि ह्याप्सवर्गको चुनौती, सत्रौँ शताब्दीमा बिट्रेनमाथि फ्रान्सको सशक्त दावा, उन्नाइसौँ शताब्दीमा फ्रान्समाथि जर्मनीको दबाब, अनि बीसौँ शताब्दीमा रसियामाथि जर्मनी र बेलायतमाथि जर्मनीका चुनौती यस्ता थुसिडाईड संकटका उदाहरण हुन् । अहिले चीनले विश्वबजार नियन्त्रण गर्ने गरी ल्याएको बिआरआई योजनालाई पश्चिमा जगतले उनीहरूमाथि चीनले अभ्यास गर्न चाहेको थुसिडाईड टक्करको रूपमा परिभाषित गर्दैछ । फरिद जकारियाको ‘द पोस्ट अमेरिकन वल्र्ड’ र पर्ल स्टारोबिनको ‘आफ्टर अमेरिका’ जस्ता पुस्तकहरूले अब संसारको ध्यान एसियामा विशेष गरी चीन र भारतमाथि केन्द्रित रहने बताउँछन् ।
लगभग ७० वर्षको विभाजन अनि शत्रुतापूर्ण प्रतिशोधात्मक व्यवहारपछि कोरियाली प्रायद्वीपमा आउन लागेको मैत्रीपूर्ण वातावरण भारतलाई अर्को दबाब हो । उत्तर र दक्षिण कोरीयाबीच समधुर सम्बन्ध बनेमा उनीहरूको संयुक्त प्रयासले उक्त प्रायद्वीपको राजनीतिक, सामाजिकदेखि सम्पूर्ण एसियाकै आर्थिक समीकरणमा गम्भीर पुनर्निर्माण आउँछ । जापानदेखि भारतसम्मको व्यापारको स्तम्भ धर्मराउन सक्छ । प्रतिरक्षा र व्यापार प्रगतिका लागि भारतले पनि ‘मेक इन इन्डिया’, ‘एसिया–अफ्रिका ग्रोथ कोरिडोर’, ‘नर्थ–साउथ ट्रेड कोरिडोर’ जस्ता उच्च महìवाकांक्षाका व्यापारिक परियोजना ल्याउँदैछ । तिनीहरूको प्रचार÷प्रसारमा भारतका कार्यकारीले समय र प्रयास खर्चनु अतिशयोक्ति हुँदैन ।
भारत संयुक्त राष्ट्रसङ्घको स्थायी सदस्य बन्न प्रयासरत छ । त्यस्तो मत निर्माण गर्न छिमेक लगायत अरुलाई विश्वासमा लिनुपर्ने देखिन्छ । थुप्रै भारतीय विद्वान तथा विश्लेषकले पनि संविधानमाथि टिप्पणी र नाकाबन्दी जस्तो व्यवहारबाट नेपाललाई चिढ्याएको भनेकाले सम्बन्ध सुधार्न प्रत्यक्ष÷परोक्ष दबाब परेकै थियो । नेपालमा गएको निर्वाचनमा वाम शक्तिहरूको एकीकरणले स्थायित्वको राजनीति र समृद्धिको यात्रा शुरु भयो । संकुचनमा गएकाभन्दा स्थापित भएका शक्तिसँग नजिकिनु सान्दर्भिक र स्वभाविक हुने भयो । यस्ता थुपै्र नयाँ आयामहरूले नेपाल सम्बन्ध सुधार्न भारतलाई नैतिक बाध्यता निर्माण गरिदिए । अब हामीले पनि कूटनीतिको नयाँ र अग्रगामी अभ्यास शिरोपर गर्नुपर्छ । फेरिएको परिस्थितिलाई फरक हिसाबले नै लिनुपर्छ र सोही अनुसार कुशल अनि निपुण प्रत्युत्तर गर्नुपर्छ ।
निपुण नेपाल नीति
हामीले विगत भुल्नु हँुदैन तर सफलता चाहनेले विगतमै रुमलिनु पनि हँुदैन । प्रतिशोधात्मक भावना साँच्नु हँुदैन । भारतबाट एउटा सकारात्मक प्रयास हँुदैछ, संविधान स्वीकार गरिएको छ । त्यसमार्फत बनेको सरकारले बधाई पाएको छ । हाम्रा प्रधानमन्त्रीले भारतको भ्रमण गर्नुभएको छ । उहाँलाई दिइएको सम्मानले सम्बन्ध सुधारको थालनी भएको जनाउँछ ।
छिमेकी फेर्न सकिँदैन, छिमेकीको व्यवहार फेरिने चाहना राख्नुपर्छ । त्यसैले हामीले फेरिएको व्यवहारलाई स्वीकार्दै सहजता निर्माण गर्नुपर्छ । एउटा गलत कामको जवाफ अर्को गलत कामले दिन सक्दैन । महानता दर्शाउँदै समधुर वर्तमान अनि सुन्दर भविष्यको लागि प्रयास गर्नुपर्छ ।
भारतसँग असमान सन्धिहरू पुनरावलोकनको काम बाँकी छ । सिमाना विवादहरू छन्, व्यापार घाटा उच्च छ । यस्ता कुराहरूमा राष्ट्रिय स्वार्थ अभिपे्ररित हुनेगरी नयाँ सहमति लिने प्रयास गर्नुपर्छ । आपूm अनुकूल समय भएको बेला मैदान छाड्ने अथवा विपक्षीलाई गालीगलौज गर्नेले हैन, गोल हान्ने समूहले खेल जित्छ, हामीले पनि त्यही गर्नुपर्छ ।
भूकम्पपछिको पुनर्निर्माणमा सघाउन भारतबाट घोषणा गरिएको आर्थिक सहयोगको अत्तोपत्तो छैन । भारतीय लगानीका थुपै्र आयोजनाहरू अलपत्र छन् । लगानी सम्मेलनमा घोषणा गरिएको सहयोग आइसकेको छैन । हुन त अरुको सहयोगले विकास र समृद्धि सम्भव हँुदैन तर जे प्रतिबद्धता गरिसकिएको छ त्यो ल्याएर देश तथा जनताको हितमा खर्च गर्नुपर्छ । सकेसम्म धेरै फाइदा लिन भ्रमणलाई उपयोग गर्नुपर्छ ।
अन्तर्राष्ट्रिय कूटनीतिका हिसाबले पनि समुन्नत र समृद्ध नेपाल भारतको समेत एक अनिवार्य आवश्यकता हो । नेपाल र भारतबीच खुला सिमानाका कारण अस्थिर, असहज नेपाल हँुदा भारतविरोधी शक्तिहरूले नेपालबाट खेल्न सक्छन् । त्यसैले भारतले समेत नेपालको सुरक्षा, आर्थिक, राजनीतिक तथा अन्य सबलीकरणलाई सकारात्मक सहयोग गर्नुपर्छ । हामी पनि भारतको लागि उत्तिकै महìवको रणनीतिक देश हौँ, भारतमा उच्च व्रिपेषण पठाउने सातौँ राष्ट्र हाँै । भारतले सदैव गलत मनसाय नै राखिरहन्छ भन्ने पनि छैन । उसले ‘माइक्रो म्यानेजमेन्ट’लाई त्यागेर ‘फ्रेन्डली रेस्पोन्स’ गर्न चाहेको पनि हुनसक्छ । हाम्रा अडान र आधारहरू स्पष्ट पार्नुपर्छ ।
तसर्थ, संविधानको भावना अनि नागरिक आत्म–सम्मानमा नै ठेस लाग्ने गरी अभिनन्दन गर्नुपर्छ भन्ने छैन तर अन्तर्राष्ट्रिय कूटनीतिक मान्यताविरुद्ध हुने गरी अभिमान पनि देखाउनु हँुदैन । विदेशी पाहुनाको स्वागत यसरी गरियोस् कि स्वाभिमान नझुकोस्, अभिमान नदेखियोस् ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना