पहिलो अङ्कबारे पाठकमा उत्सुकता

gorkhapatra_1काठमाडौँ, वैशाख २४ गते । गोरखापत्र प्रकाशनको पहिलो अङ्क अहिले पनि उत्तिकै कौतूहल र जिज्ञासाको विषय बनेको छ । गोरखापत्रको पहिलो अङ्कबारे जिज्ञासा राख्नेहरूले रामशाहपथस्थित राष्ट्रिय अभिलेखालयमा अध्ययन गर्न पाउँछन् । विक्रम संवत् १९५८ ज्येष्ठ वदी ३ सोमबारका दिन सङ्ख्या १ भनी साप्ताहिक अखबारका रूपमा गोरखापत्रको पहिलो अङ्क प्रकाशन भएको अखबारमा उल्लेख छ । 

गोरखापत्र संस्थानले आफ्नो साथमा रहेको यो दुर्लभ अङ्क गत वर्ष संरक्षणार्थ राष्ट्रिय अभिलेखालयलाई हस्तान्तरण गरेको थियो ।
राष्ट्रिय अभिलेखालय प्रमुख सौभाग्य प्रधानाङ्गका अनुसार दैनिक चारजना पाठक गोरखापत्रको पहिलो अङ्क अध्ययन र अवलोकनका लागि आउने गरेका छन् । अभिलेखालयले निश्चित राजस्व लिएर यसको प्रतिलिपि उपलब्ध गराउँदै आएको छ ।
अभिलेखालयमा रहेको गोरखापत्रको २०२८ सालसम्मको प्रकाशित अङ्क माइक्रोफिल्ममा सुरक्षित गरिसकिएको छ भने यसपछिका सबै अङ्कलाई डिजिटल कपी बनाएर संरक्षण गर्ने तयारीमा अभिलेखालय छ । अध्ययन गर्नेले त्यति बेलाको विज्ञापन गर्ने पद्धति, भाषा, लिपि व्याकरण, शब्दावली, कागज र अखबारका सबै पानाको लेआउटलाई के–कसरी व्यवस्थित गरिएको थियो भन्ने जिज्ञासा खोजिरहेका छन् । यस्तो जिज्ञासा राख्नेमा मोफसलका पत्रकार धेरै रहेको अभिलेखालय प्रमुख प्रधानाङ्ग बताउनुहुन्छ ।
गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायले गोरखापत्रका पुराना सबै अङ्कलाई ‘डिजिटलाइज्ड’ गर्न लागिएको जानकारी दिनुभयो ।  राष्ट्रिय अभिलेखालयका प्रवक्ता तथा माइक्रोफिल्म शाखाका प्रमुख कुमार श्रेष्ठले गोरखापत्रका पुराना अङ्कको क्यामेरा र स्क्यानरको सहायताले डिजिटल इमेज तयार गर्न सुरु गरिएको जानकारी दिँदै भन्नुभयो, “गोरखापत्रका पुराना अङ्क हेर्न अब निकै सहज हुनेछ । ”
पुरातŒव विभागका महानिर्देशक भेषनारायण दाहालले गोरखापत्रको दुर्लभ पहिलो अङ्कको आगमनले अभिलेखालयको महŒव र गरिमा दुवै बढाएको अनुभव भएको बताउनुभएको छ ।
पहिलो अङ्क अहिले ११८ वर्ष पुगिसक्दा पनि अखबारको कागज दुरुस्त कसरी रहन सक्यो ? मसी किन लत्पतिएन अनि कागजलाई धमिरा कीराले किन प्वाल पारेन भन्ने अधिकांशको जिज्ञासा रहेको अभिलेखालयले जनाएको छ ।

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना