ईष्र्या भत्काउन नसकेको कृति

lal bdr bhujjelलालबहादुर भुजेल


नेपालका राणा प्रधानमन्त्रीहरूमध्ये देव शमशेर सबैभन्दा उदार र सुधारवादी थिए । वीर शमशेरपछि यिनी वि.सं. १९५७ सालमा प्रधानमन्त्री (श्री ३ महाराज) बने र जम्मा कार्यकाल ११४ दिनको रह्यो ।
यिनको प्रारम्भिक शिक्षा जङ्गबहादुरकै घरमा शुभारम्भ भएको थियो । अत्यन्त षड्यन्त्रकारी र वर्वर शासनकालमा पनि यिनी ‘हिलोमा फलेका कमल हुन्’ । उनी देश र जनताका लागि केही गरौँ भन्ने भावनाले ओतप्रोत पृथक व्यक्ति थिए ।
१९५८ साल जेष्ठ वदी ३ (वैशाख २४) गते उनले थालनी गरेको नेपालको पहिलो समाचारपत्र ‘गोरखापत्र’ अहिलेसम्म अनवरत रूपमा प्रकाशन भइरहेको छ । शुरुमा हप्ताको एकपटक सोमबारमात्र प्रकाशन हुने, यो पत्रिका २०१७ सालदेखि दैनिक रूपमा प्रकाशन हुन थाल्यो ।
देवशमशेर नेपाली, संस्कृत र अङ्ग्रेजी भाषाका ज्ञाता थिए । बेलायती र भारतीय गुरुहरूमार्फत बेलायतको शासनपद्धतिबारे दख्खल थियो ।
जेष्ठ पत्रिका ‘गोरखापत्र’ को शिरमा देब्रेपट्टि संस्कृतमा लेखिएको थियो –
“सर्वे भवन्तु सुखिन सर्वे भद«ाणि पश्यन्तु”
अर्थात् ‘निरोगी सबै हुन् सबै हुन्, सुखिया सबै वेश देखिन नहुन् क्यै दुःखिया । ’ उनको ध्येयलाई यसरी पनि लिन सकिन्छ– सबैले यो अखबार पढून्, सबैलाई यसले आनन्द देओस्, सिकाओस्’ ।
देव शमशेरले वैज्ञानिक गेहेन्द्र शमशेरकै सल्लाह र सुझावअनुसार देशको शासन व्यवस्था सञ्चालन गर्न जनप्रतिनिधि ‘सल्लाहकार सभा’ बनाई ठाउँ–ठाउँमा ‘सुझाव बाकसहरू’ राख्न लगाए । जापान, बेलायत, जर्मनीजस्तो नेपालमा पनि कृषि, उद्योग र वैज्ञानिक प्रगति भए हुन्थ्यो भन्ने भावनाअनुरूप नै उनले आठजना नेपालीलाई विभिन्न विषयमा अध्ययन गरी ज्ञान हासिल गर्न जापान पठाए ।
जापानबाट फर्केका विशेषज्ञहरूले राम्रो काम गरे । चन्द्र शमशेरको पालामा कुलो, खेती, विद्युत् आदिमा प्रगति भएको थियो । ती विशेषज्ञहरू देव शमशेरकै विवेकको उपज थिए । जापानबाट फर्केको त्यो समूहले नेपालमा जापानी विकसित प्रजातिका हलुवावेद, कटुस आदि उमार्ने, विस्तार गर्ने, फलाउने कार्यमात्र गरेनन्, अनेकौँ स्वचालित हातहतियार पनि बनाए । उनीहरूले स्वचालित पिस्तोल र बन्दुक पनि निर्माण गरेका थिए । आजको कृषि, उद्योग आदि हरक्षेत्रमा परनिर्भरताले गाँजेको हाम्रो मुलुकमा, उनको करिब ११७ वर्षअघिको ‘राष्ट्रिय सोच’ नीति–कार्यक्रम र दूरदर्शितालाई प्रशंसा गर्नैपर्छ ।
उनले देशव्यापी रूपमा पाठशालाहरू स्थापना गर्नुका साथै गोरखापत्रमा आफ्नो तारिफ नछाप्न सन्देश जारी गरी निष्पक्ष, पारदर्शी र जनमुखी पत्रकारिताको पहिचान बनाए । उपत्यकावासीलाई आल्हादित पार्न काशीबाट झिकाइएका कथावाचकद्वारा टुँडिखेलमा बेलुकीपख हरिकीर्तन लगाए । दिउँसो तोप पड्काउने चलन चलाए । प्रजातान्त्रिक शासन पद्धति लागू गर्न सात मुलुकका विदेशी संविधानविद्हरूलाई आमन्त्रण गरे । वार्षिक १७ दिन बिदा दिने र कार्यालय समय १० बजेदेखि ५ बजेसम्म हुने प्रथा चलाए । उनले बहुआयामिक योजनाहरू अघिसार्नुका साथै परिवारिक विलासितामा राष्ट्रिय सम्पत्ति खर्च गर्न निषेध गरे । दासप्रथा उन्मूलन गर्न दरबारबाटै पहल गरे । इञ्जिनियर झिकाई खानेपानीको व्यवस्था गरे । राष्ट्रहितका बहुपक्षीय विचार–विमर्श गर्न पहिलोपल्ट दलित प्रतिनिधिसहित विभिन्नतहका मानिसको विशाल जनसभाको आयोजना गरे । ‘महिला–पुरुषको भूमिका समान सहभागिता’ लाई मध्यनजर गरी महिला सम्मेलनको पनि आयोजना गरे । यसको अतिरिक्त उनले विभिन्न ठाउँमा आवास गृहहरू, यात्रु विश्रामशालाहरू पाटीपौवा, जलकुण्ड, जलधारा पोखरी, अस्त्रागारमा निर्माणसुधार गर्नुका साथै खानेपानीका धाराहरू बनाए ।
यसप्रकारका सुधारवादी नीति, राष्ट्रप्रति श्रद्धाभक्ति र नेपालमा जापानी शैलीबाट कृषि र घरेलु कुटीर उद्योगको सञ्चालन गर्ने भविष्यदर्शी आयोजनाहरूले अङ्ग्रेजीहरूको मनमा चस्का पस्यो । उनीहरू पनि देव शमशेर हटेको देख्न चाहन्थे । आफ्नै वंशजले खेदो खन्न लागे, भाइ चन्द्र शमशेरले त कुलको कलङ्क ठान्न थाले ।
वि.सं. १९५८ मा शासन सम्हालेको चार महिना पनि नपुग्दै साह्रै अमानवीय तवरले पदच्यूत गरी धनकुटा लखेटियो । मुरारीको झरीपानी भन्ने ठाउँमा उनी १३ वर्ष बसे । उनले निर्माण गरेको दरबार अहिले होटल बनेको छ । नेपालबाट काशीवास गर्न पुग्ने नेपालीलाई आवासका लागि ठूलो घर खरिद गरे । जीवनको अन्तिम क्षणसम्म पनि नेपाल र नेपालीको भलो चिताउने भविष्य द्रष्टा देव शमशेरको १९७१ सालमा देहावसान भयो ।
देवले गर्न लागेका जनमुखी सुधारहरूप्रति डाहा र ईष्र्या गर्नेहरूले अपदस्थपश्चात् अधिकांश योजना बन्द गरे । तर, उनले स्थापना गरेको ‘गोरखापत्र’ बन्द गर्न कसैको सामथ्र्य भएन । एउटै कदमले उनको कद अग्लियो । उनको आँट, जोश र दृढ अठोटले ताराहरूबीच चन्द्रमा बने ।
११८ वर्षदेखि अनवरत प्रकाशन भई इतिहास रच्न सफल जनताको मुखपत्र गोरखापत्रको प्रथम प्रकाशनको दिन प्रत्येक वर्ष वैशाख २४ गतेलाई पत्रकारिता दिवस घोषणा गरेर मनाएर सरकारले ढिलै भए पनि राष्ट्रसपुत देवशमशेरप्रति सम्मान प्रकट गरेको मान्न सकिन्छ । मुलुकका विभिन्न उपयुक्त ठाउँमा उनको सालिक स्थापना गरी यस्ता निर्भीक भविष्यद्रष्टा सामाजिक अभियन्ताको सुकार्य स्मरण गर्नु कृतज्ञता हुनेछ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना