इतिहास निर्माणको सौरभ गोरखापत्र

Junar_babuजुनारबाबु बस्नेत

 

आज पत्रकारिता क्षेत्रले गौरव गर्ने दिन । नेपालको पहिलो अखबार अर्थात् समाचारपत्र गोरखापत्र प्रकाशित शुभारम्भ भएको दिन । ११८ वर्षअघि संवत् १९५८ जेष्ठ वदी ३ अर्थात् वैशाख २४ गते नेपालमा गोर्खापत्र
(गोरखापत्र) ले साप्ताहिक रूपमा श्रीगणेश ग¥यो । राणा प्रधानमन्त्री देव शमशेरले विक्रम संवत् १९५८ वैशाख ११ गते अर्थात् वैशाख वदी रोज २ का दिन पण्डित नरदेव पाण्डेलाई एउटा सनद जारी गरे । त्यो सनदमा पुर्जी हेरी गोर्खाली अखबार हप्तावारी एक हजार जम्मा थान छाप्न जिम्मा दिएको थियो । भारतको कलकत्ताबाट त्यसको १२१ वर्षअघि नै सन् १७८० बङ्गाल गजेट प्रकाशित भइसकेको थियो । बेलायती शासनको अधिनमा रहेको भारतको तत्कालीन राजधानी कलकत्ताबाट प्रकाशित भएको अखबार दक्षिण एसियाकै पहिलो थियो ।
ढिलै सही, नेपालमा पनि गोरखापत्रले प्रकाशन शुरु भयो । सनद जारी गरेको दुई सातामा सम्पूर्ण बन्दोबस्त गरेर अखबार प्रकाशित गर्नु सानो प्रयास थिएन । आँकेताँकेको १५ दिनमा अखबार निकाल्न यो डिजिटल युगमा पनि सजिलो काम होइन । त्यसअघि काठमाडौँबाट सुधासागर (संवत् १९५५) र संवत् १९४० को दशकमा बनारसबाट गोरखा भारत जीवन मासिकपत्रिका नेपाली भाषामा प्रकाशित भए पनि ती नितान्त साहित्यिक पत्रिका थिए । समाचारपत्र थिएनन् । भलै तिनले गोरखापत्र प्रकाशनको आधार सिर्जना गरे । पण्डित नरदेव पाण्डेले सुधासागर प्रकाशन गरेका थिए ।
त्यतिखेर छाप्ने प्रविधि त्यति सहज थिएन । सेनाका मातहतमा टाइप छापाखाना र लिथो छापाखाना थियो । सेनाको मातहतबाट निकालेर पण्डित नरदेव पाण्डेको मातहतमा त्यही सनदले ल्याएको थियो । सेनाका मातमातहमा भएको जिनिश, त्यो पनि छाप्ने मेसिन पण्डितलाई दिनु देव शमशेरको ठूलो उदारता र विश्वास थियो । प्रेसका कामदार कर्मचारीलाई पनि सेना मातहतबाट झिकेर पण्डितकै मातहतमा जान भनियो । वर्षभरिलाई तलब र आवश्यक मसलन्द खर्च, कागज किन्दा लाग्ने रकम सबै बन्दोबस्त शुरुमै गरिएको थियो । त्यसका लागि तीन हजार ९०४ रुपियाँ एकमुष्ठ निकासा गरियो । त्यो वर्षभरिका लागि बन्दोबस्त थियो । यसबाट के देखिन्छ भने लाभ र हानि सोचेर अखबार प्रकाशित गरिएको देखिएन । देव शमशेरले समाजलाई सूचना र जानकारी दिन, समाजको अन्धकार तोड्न अखबार प्रकाशित गरेका थिए । त्यसैले वर्षभरि लाग्ने सम्पूर्ण खर्च व्यवस्थासँग अखबारको बिक्रीवितरणको प्रत्यक्ष सम्बन्ध देखिएन् । अखबार बेचेको पैसा मुलुुकी खानामा दाखिला गरी रसिद लिनु भनिएको थियो । यो अहिलेका सरकारहरूलाई पनि अचम्म लाग्ने कुरा हुन्छ ।
‘दुनियाँलाई हुन्या इस्तीहार नटासिने कुरा र नयाँ जारी भयाको ऐनका कुरा कलकत्ताको र याँहाको दर भाऊ । ’ छाप्नू । त्यस सनदमा के छाप्ने र के नछाप्ने भन्ने विषयको आँकलन गरिएको थियो । छाप्न हुने कुरामा जनतालाई राज्यसँग जोड्न खोजिएको छ । सूचना र जानकारी अनि कलकत्ता र यहाँको दरभाउ दिएर बजारलाई पारदर्शी बनाउन खोजिएको जस्तो देखिन्छ । त्यस्तै .... ‘हाम्रा तरीफका कुरा नछापनू’ अखबारमा नछापिने कुरा बुँदामा यो पनि परेको छ । मिडियालाई आवाजविहीनहरूको आवाज पनि भनिन्छ तर अहिले मिडिया कतै आवाज भएकालाई अझ ठूलो आावाज बनाउने साधान त भएको छैन ? भन्ने विमर्श चलिरहेको छ । शासकका तारिफका कुरा नछाप्नू भन्ने एक प्रकारले आचारसंहिता पनि थियो त्यो । सन् १९२२ मा अमेरिकामा समाचारपत्रका सम्पादकहरूको संस्थाले पहिलो अचारसंहिता जारी गरे तर सन् १९०१ मै हामी कहाँ समाचारपत्र प्रकाशन अघि आचारसंहिताकै झलक दिने गरी छाप्न हुने र नहुने कुराको सीमारेखा मापन गरिएको देखिन्छ । यो पक्षलाई असाध्य महŒवपूर्ण अध्ययनका रूपमा लिनुपर्ने हुन्छ ।
सञ्चारविद् डेनिस मक्वालले मिडियालाई सामाजिक व्यवसाय भनेका छन् । अरू व्यापार जस्तो मुनाफाकै लागि मिडिया चलाउनुहुन्न भन्ने मान्यता विश्वभर छ तर यता केही दशकदेखि मिडिया तीव्र व्यापारीकरणको व्यवसाय बन्दै गएको छ । महात्मा गान्धीले अखबारलाई सामाजिक सेवा भावले प्रकाशित गर्नुपर्छ भन्ने मान्यता अगाडि सारे । बेलायती साम्राज्यविरुद्धको अभियानमा विभिन्न अखबारका सम्पादन गरी गान्धीले राष्ट्रिय स्वतन्त्रता सङ्ग्रामलाई अगाडि बढाए । त्यस अभियानमा अखबारमा विज्ञापनसमेत छाप्न हुँदैन भन्ने मान्यता गान्धीको रह्यो । विज्ञापन छापिएपछि अखबार स्वतन्त्र हुन सक्दैन भन्ने गान्धीको भनाइ थियो । गोरखापत्र प्रकाशनको सार हेर्ने हो भने प्रकाशनलाई सकभर स्वतन्त्र, निष्पक्ष समाचार सम्प्रेष गर्ने ध्येय छ । यो युगका मक्वाइल र अघिल्लो युगका गान्धीको ध्येय, धारणा र मूल्य गोरखापत्र प्रकाशन गर्दा देखिनु संयोगमात्र होइन । देव शमशेरले देखेको समाजको सपनाको मार्गचित्र पनि हो ।
विश्वभर नै जसले अखबार आरम्भ गरे, तिनले ठूलो सास्ती पाएको इतिहास छ । बङ्गाल गजेट प्रकाशित गरेपछि जेम्स अगस्टस हिक्कीले ठूलो सास्ती पाए । कसैको पक्ष नलिने सम्पादकीय नीति थियो बङ्गाल गजेटको तर समग्र भारतको शासन गरिरहेको इष्ट इण्डिया कम्पनीको तारो बने उनी । कलकत्ता एड्भरटाइर चलाएर राम्रो व्यवसाय गरिरहेका हिक्कीले काराबासको सास्तीसमेत व्यहोर्नुप¥यो । यता श्री ३ देव शमशेरले समाचारपत्र प्रकाशित गरेपछि लामो समय सत्तामा बस्न पाएनन् । वैशाखमा समाचारपत्र प्रकाशित भयो, असारमै देव शमशेरले सत्ताबाट हात धुनुप¥यो । भाइ चन्द्र शमशेरले देव शमशेरको उदारतालाई सहन सकेनन् । सत्ताच्यूत गरी धनकुटा धपाइए । ११४ दिन मात्र शासन गर्दा भाषा पाठशाला खोल्नेदेखि अखबार प्रकाशनसम्म गरे । नेपालमा बेलायती मोडेलको संसदीय शासन पद्धतिसम्मका देव शमशेरका सुधार भने त्यसै थन्कियो । अखबार उज्यालोको प्रतीक हो, तानाशाहलाई मन पर्ने कुरा भएन । चन्द्र शमशेरको लगभग २९ वर्ष शासनमा गोरखापत्र कचल्टियो । पत्रकारितामा अरु प्रकाशन सम्भवै रहेन ।
विश्वपत्रकारितको इतिहासमै एउटा निरन्तरता र ऐतिहासिक परिघटना हो गोरखापत्रको प्रकाशन । गुटनवर्गले (१४४०) मा जर्मनीमा छाप्ने मेसिन आविष्कार गरेको सय वर्ष नपुग्दै पत्रपत्रिकाको अवधाणा आएको थियो । ‘न्युजिटिङ’ भन्ने पत्रिका सन् १५२६ मा छापियो । इटलीको भेनिसबाट १५६२ मा नोतिजिस्कृत (गजेटा), जर्मनीको फ्राङ्कफर्टमा सन् १६१५ मा ‘फ्राङ्कफर्ट जर्नल’, बेलायतको लण्डनबाट सन् १६२२ मा लण्डन न्यूज निस्किए । पछि सन् १७०२ मा लण्डनबाट प्रकाशित भएको डेली कुरान्ट विश्वकै पहिलो दैनिक समाचारपत्र हो । नेपालमा गोरखापत्र प्रकाशनले यो निरन्तरता नवीन कडी थियो ।
गोरखापत्रभन्दा अघि साहित्यिक पत्रिका प्रकाशित भए पनि ती सक्कल रूपमा पाउन सकिएको छैन । गोरखाभारत जीवन र सुधार सागर दुवैको भौतिक अस्तित्व इतिहासकारले पनि पाउन सकेका छैनन् । नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहासको अध्येयता ग्रीष्मबहादुर देवकोटाले आधा शताब्दी अघि नै गोरखापत्रका प्रकाशनताका धेरै मानिस भेटे । ती पत्रिका देखेको तर नब्बे
(संवत् १९९०) सालको भूकम्पले पुरिएको भन्ने व्यक्तिहरूसित कुराकानी गरेको मात्र पढ्न फेला पारे । कही पाइएन । गोरखापत्र भने मदन पुस्तकालय र राष्ट्रिय अभिलेखालयमा पहिले पनि पहिलो अङ्कदेखि नै सुरक्षित छन् । त्यसैले गोरखापत्रले नेपालमो पत्रकारिताको वास्तविक इतिहासको अध्याय आरम्भ गरेको हो ।
गोरखापत्रभन्दा अघिको समयमा नेपालमा भएको पत्रकारिताको बारेमा अरू पनि किंवदन्ती छन् । संवत् १९५८ मा बेलायती फिल्ड मार्सल लर्ड रावट् नेपाल आए उनी पछि बेलायतको कमाण्डर–इन चिफ पनि भए । दुई दिनका लागि काठमाडौँ आएका उनले साँझ यहाँबाट प्रकाशित हुने पत्रिका पढ्न चाह गरे । यो देव शमशेर प्रधानमन्त्री हुनभन्दा अघि वीर शमशेर नै प्रधानमन्त्री हुँदाको कुरा हो । वीर शमशेर समक्ष यो कुरा पेस हुँदा अखबार छापी भोलिपल्ट बिहान लार्ड रावाटको टेबुलमा पु¥याइएको थियो भन्ने किंवदन्ती छ । अध्येता ग्रीष्मबहादुर देवकोटाले यो कुरा उल्लेख गरे पनि त्यो किंवदन्ती मात्र हुन सक्छ । रातभरमा तात्तातै पत्रिका छापेर टेबुलमा पु¥याउन कसरी सम्भव भयो होला र ?
यथार्थमा विक्रम संवत् १९५८ वैशाख २४ गते नै नेपाली पत्रकारिताको जग हो । आफ्नो प्रकाशनको प्रारम्भदेखि १९९१ वैशाख ८ गतेसम्म हप्ताको प्रत्येक सोमबार प्रकाशित भयो । त्यसपछि २००१ असोजसम्म हप्ताको बुधबार प्रकाशित भयो । हप्ताको दुई अनि तीन दिन हुँदै २०१७ साल फागुन ७ गतेपछि यो दैनिक भयो । सरकारको छापाखानाअन्तर्गत प्रकाशित दैनिक भएपछि दुई वर्षमा गोरखापत्र संस्थान स्थापन भई नयाँ अध्यायमा आरम्भ ग¥यो । गोरखापत्र संस्थान प्रकाशक रहेर गोरखापत्रसँगै अङ्ग्रेजी दैनिक द राइजिङ नेपाल, साहित्यिक मासिक मधुपर्क, युवा पाठकका लागि युवा मञ्च मासिक र बालबालिकाका लागि मुना मासिक प्रकाशित भइरहेको छ । विशिष्ट पक्ष के भने गोरखापत्रले देशका ३८ वटा भाषाका समाचार र विचारलाई पनि समायोजन गर्दै पत्रकारिताको समावेशी अध्याय अगाडि बढाइएको छ । यो राष्ट्रकै सम्पदा भइसकेको छ । त्यसैले गोरखापत्र प्रकाशनको वैशाख २४ को पवित्र दिनलाई सरकारले २०७३ सालमा राष्ट्रिय पत्रकारिता दिवस मनाउन आरम्भ गरेको छ । अहिले हामी तेस्रो पत्रकारिता दिवसको सौरभमा समृद्ध नेपालको भावी गन्तव्यतर्फ अग्रसर हुँदैछौँ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना