मातृभाषा आउँदैन !

ramesh bhattaraiरमेश भट्टराई ‘सहृदयी’

 

प्रसङ्गवश कुराकानीका क्रममा एकजना कलेजका विद्यार्थीसँग मैले दिल खोलेर सोधेँ– ‘तपाईंलाई आफ्नो मातृभाषा आउँछ ?’ आफूलाई मुखभरिको जवाफ पाएजस्तो भयो, ‘आमाबाबाले बोर्डिङ पढाउनुभयो । घरमा आफूहरू मात्र गुरुङ भाषामा बोल्नुहुन्छ । मसँग बोल्दा नेपालीमा कुरा गर्नुहुन्छ । स्कुलमा अङ्ग्रेजी पढियो । त्यहाँ नेपाली बोले बापत फाइन तिरियो । घरमा आयो ‘गुरुङ भाषा सिकेर तेरो के काम छ र !’ भन्ने जवाफ पाइयो । म अहिले न अङ्ग्रेजी राम्ररी जान्दछु । न नेपाली शुद्ध छ । न त आफ्नो मातृभाषा जान्दछु । ’
संविधानले बहुभाषिक हक र अधिकारलाई सुनिश्चित गरेको छ । मातृभाषामा शिक्षा लिन पाउने हकलाई सुनिश्चित गरेको छ । ‘मैले मेरो मगर भाषा सिकेर के गर्नु, बरु त्यो समयमा कोरियन भाषा सिके महिनाको लाख बढी कमाइ गर्न सकिन्छ । ’ एकजना मित्रसँगको टेबल गफले मलाई झक्झक्यायो । आजको समाजमा मानिसलाई पेट पाल्ने कत्रो पीडा छ । यी अभाव र आवश्यकताले मानिसको जीवन आक्रान्त छ । वास्तवमा भावनाले पेटको भोक मेटिँदैन रहेछ । यसको अर्थ उहाँले आफ्नो मातृभाषालाई अपमान गर्नुभयो भन्न पनि मिल्दैन । विडम्बना, चाहेर पनि आजको विश्वव्यापीकृत संसार साँघुरिएको प्रतिस्पर्धामा मातृभाषा सिक्नुपर्ने कुरा गफ, कानुन र चर्चामा गएर थुरिएको अनुभूत हुन्छ । अर्कातिर हामीलाई अङ्ग्रेजी अन्तर्राष्ट्रिय भाषा भएकाले जान्नैपर्ने बाध्यता छ । नेपाली भाषा त झन् साझा सम्पर्कको भाषा हो । औपचारिक कार्य यसैबाट सम्पन्न हुन्छ । प्रादेशिक निर्धारणमा सरकारी कामकाजको भाषा चुन्ने अधिकार प्रदेशले पाए पनि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको नातो गाँस्ने सम्प्रेष्य आधार ४४ दशमलव ६३ प्रतिशतका वक्ताले बोल्ने गरेको नेपाली भाषा नै हो ।
नेपालले वर्तमान सन्दर्भमा हेर्दा शिक्षामा बहुभाषिक नीति अँगालेको भए पनि मूलतः अङ्ग्रेजी र नेपाली भाषा नै चर्चामा छन् । आज अङ्ग्रेजी सिकाउनुपर्छ भन्ने मानसिकता जागृत भइरहँदा नेपाली भाषा र मातृभाषाप्रतिको झुकावमा कालो बादल लागेको अनुभूत हुन्छ । तीन महिना भाषा सिकेर बोल्न सक्ने भइन्छ भने हामीमा धेरैभन्दा धेरै भाषा सिक्ने खुबी त हुन्छ । लक्ष्य, परिश्रम र निरन्तरताले बहुभाषिक व्यक्तित्व निर्माण गर्न सक्ने हामीले आज आफ्नै मातृभाषालाई किन गलहत्याइरहेका छौँ ?
नेपालले शिक्षामा लगानी गर्ने चेष्टा गरिरहँदा मातृभाषाको विकासमा समाजको मनोविज्ञान कति गम्भीर छ ? आफ्नै गरिमा र पहिचान बोक्ने भाषा, संस्कृति र सकारात्मक परम्परालाई समेत तिलाञ्जलि दिएका हामीले कलिला सन्तानलाई विदेशको भूत चढाएका छौँ । महँगा स्कुलमा भर्ना गर्नु र अङ्ग्रेजीमा बोल्नु नै सबैथोक हो भन्ने हाम्रो सोचसँग नेपाली भाषा सहायक आवश्यकतामा र मातृभाषा त गौण आवश्यकतामा पर्न पुग्दा रहेछन् । यसमा घमण्ड, इज्जत, आडम्बरको मनोदशाले झापड हानेको लाग्छ । फलतः समाजमा शिक्षाभित्रको वर्गीयता र खोक्रो आडम्बर जन्मिरहँदो रहेछ । अङ्ग्रेजी सिक्नुमा खराबी अवश्य होइन । अङ्ग्रेजी भाषा हरेक विषयवस्तुको गहन अध्ययन, शोध अध्ययन, प्राज्ञिक बौद्धिक विकास, अन्तर्राष्ट्रिय सहसम्बन्ध, भौतिक वैज्ञानिक विकास मात्रै होइन, विश्वव्यापीकृत बन्ने कुरासम्ममा उपयोगी र आवश्यक छ तर मातृभूमिमा सङ्घर्ष गर्ने, नेपाल आमाको माटाको ऋण घटाउने सपना तुन्न सक्ने आधार नदेखेका हामीले आफ्नै देशमा केही गर्नुपर्छ, पर्यटन विकास गर्ने, यहाँका स्रोतसँग सहकार्य गर्दै आत्मनिर्भर बन्ने सपना देखाउनै जानेनौँ । हामी अर्काले बनाइदिएका सुविधाजनक संरचनामा नोकर बनेर भए पनि डलर कमाउने, ग्रीनकार्ड लिने, उतै संसार बसाउने सोचसँग पो मितेरी गाँस्न थालेछौँ ।
ताना शर्माको ‘पातालमा बिलाउने रोग’ र ‘बेलायततिर बरालिँदा’ निबन्धले घच्घच्याउँछ । विदेशका पीडा मात्र होइन, आफ्ना संस्कृति, परम्परा, आफन्त, नेपाली मौलिकतालाई छोडेर अर्कैको संसारमा रम्ने प्रवृत्तिमा लिप्त मानसिकतामा मातृभाषाको दोहन भइरहेको छ । हरेक भाषालाई बाँच्न र प्रसारित हुन वर्ण, लिपि, व्याकरण, शब्दकोश, साहित्य, वाङ्मय विकास तथा प्रसारित र स्वीकरण गर्ने राज्यनीतिको खाँचो पर्छ । एउटा भाषाको वर्ण र लिपि तयार पारेर त्यसलाई जीवन्त बनाउने महान् र वैज्ञानिक कार्य भाँडाकुटी खेल होइन । २०६८ को जनगणनामा पेस गरिएको तथ्याङ्कलाई हेर्दा नेपालमा १२३ भाषा बोलिन्छन् । जसमध्ये १३ वटा भाषामा मात्र एक प्रतिशतभन्दा बढी वक्ता सङ्ख्या छन् भने ११० वटा भाषाको वक्ता एक प्रतिशतभन्दा कम छन् । नेपाली भाषा केन्द्रीय विभागका प्रा.डा. दानराज रेग्मीले प्रस्तुत गर्नुभएको तथ्याङ्कका अनुसार नेपालमा ५३ प्रतिशत भाषा सुरक्षित, ५१ प्रतिशत सङ्कटापन्न, ११ वटा अपशरणशील, ६ वटा मृतप्रायको स्थितिमा छन् भने एउटा सुषुप्त र एउटा भाषा लोपोन्मुख अवस्थामा पुगेको छ । मातृभाषामा २४ वटा बढी पाठ्यक्रम तयार भएका छन् तर यसको विकासमा बौद्धिक वर्गको ध्यान जान थाले पनि समाज मनोविज्ञानले तगारो हालेकै छ ।
आफ्नो पहिचानका विषयमा नाक फुलाउँदै गर्दा हामी अर्काकै सरलता र अन्धानुकरण गर्न आकर्षित छौँ । आफ्नो भाषालाई जोगाउने विषयलाई एकातिर मिल्काएर पैसा र लालचकै खेलतिर मग्न छौँ ।
अलि–अलि अङ्ग्रेजी मिसाएर बोलेमा बडप्पन झल्कने हाम्रो आदत बस्दै छ । भाषा हाम्रा पुर्खाले दिएको अमूल्य निधि हो । एउटा भाषाको निर्माण गर्नु अनि भाषासँग जोडिएको संस्कृति, धर्म, परम्परा, चालचलन, शिल्प कलात्मकता, आचरण, व्यावहारिकता, औषधि विज्ञान र विज्ञानको सम्मिलन जस्ता पक्षलाई हामीले बोध गर्न जान्दैनौँ भने हाम्रो मौलिकता नै मक्काउँदै गएको होइन र ? परिवर्तन त्यो होइन जसमा आफैँलाई लगेर बेचौँ । हाम्रा मातृभाषालाई बोल्न जानिरहेकै पुस्ताले नजोगाए यी केवल इतिहासका पानामा सीमित रहने भय छ । हाम्रा भावी पिँढीले हामीलाई पक्कै सत्तोसराप गर्लान् । हिजो एकभाषिक नीति थियो तर यो कुनै जातिको आधारमा भएकै होइन, शासन र सोचले जन्माएको वास्तविकता हो । भाषासँगै समाज र संस्कृतिले नातो गाँस्दा त्यहाँ युगीन चित्र र मनोरञ्जनका झलकलाई मुखर पारेको हुँदोरहेछ । बरु अब त इमानसिंह चेमजोङको देन, सत्यमोहन जोशी जस्ताका प्रयाससँग हामीले हातेमालो गर्न जान्ने बेला आएको छ । मातृभाषाप्रतिको हीन सङ्कीर्णतालाई मेट्न समाज, स्थानीय सरकार र राज्यले प्रोत्साहन गर्ने बेला आएको छ । यी विषयमा मूलतः गोरखापत्र दैनिकले समावेशी समाजको दर्बिलो सम्बोधन गर्दै बहुभाषिक पृष्ठभूमिमा रहेर समाचार सम्प्रेषण गर्दै गरेका विषय पक्कै सराहनीय छन् । रेडियो नेपालले प्रसारण गर्ने बहुभाषिक कार्यक्रम वास्तवमा प्रशंसनीय छ ।
एकजना विद्यार्थीले नेपाली विषयको परीक्षा लेखिरहँदा सोधेँ, ‘सर सिस्टमलाई नेपालीमा के भनिन्छ ?’ आज माध्यमिक तहका धेरै विद्यार्थीलाई एउटा निवेदनसम्म पनि राम्ररी मिलाएर लेख्न आउँदैन । नेपालीका खबर अक्षर फुटाएर पढ्नै जान्दैनन् । कार्यालयमा एउटा चिठ्ठी लेखेर कुनै औपचारिकता व्यक्त गर्नुप¥यो भने कसैको सहारा चाहिन्छ । देशमा उत्पादन गरिरहेको जनशक्तिले दैनिक आवश्यक कागजातका विषय प्रयोगात्मक तबरले प्रस्तुत गर्न सक्नुपर्ने हो तर आजको शिक्षित वर्गले सजिलै भनिदिन्छ, ‘मलाई नेपाली आउँदैन । ’ कैयौँ पुस्तालाई रोमनको अङ्कलाई नेपालीबाट भन्न र लेख्न आउँदैन । बरु नेपालीका अङ्कलाई पनि अङ्ग्रेजीमा अनुवाद गरेर बोल्ने आदत मौलाएको छ । भाषामा परिवर्तनशीलताको गुण हुन्छ भन्दै गर्दा अपशरणशील भएमा हामीले पहिचान गुमाएका लाञ्छना झेल्नु नपर्ला भन्न सकिन्न । के हामीले आफैँलाई, आफ्नो मातृभाषालाई, देशको साझा सम्पर्कको भाषालाई नै बिर्सेर अन्धानुकरण गर्दै दगुरिरहेका त छैनौँ ? कमसेकम जनगणनामा सोधिने प्रश्नमा मातृभाषा नजान्नेले ‘मेरो मातृभाषा फलानो हो’ भन्दै गर्दा आफ्नो सक्षमतालाई पनि ख्याल गरौँ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना