गौरव गाथा (सम्पादकीय)

मुलुक भित्रैबाट पहिलो समाचारपत्रका रूपमा संवत् १९५८ साल ज्येष्ठ बदी ३ सोमबारका दिन (वैशाख २४ गते) प्रकाशन सुरु गरेको गोरखापत्र (गोर्खापत्र) आज ११८ वर्ष प्रवेश गरेको छ । सुरुमा साताको एकपटक, अनि साताको दुईपटक र साताको तीनपटक प्रकाशन हुँदै गोरखापत्र २०१७ फागुन ७ गतेदेखि दैनिक रूपमा प्रकाशन आरम्भ भएको हो । गोरखापत्र अहिले साहित्य अनुरागीका लागि मधुपर्क मासिक, बालबालिकाका लागि मुना मासिक, युवाको विशिष्ट माग पूरा गर्न युवामञ्च मासिक तथा अङ्ग्रेजी भाषामा दी राइजिङ नेपाल दैनिकलाई पनि साथसाथै लिएर अगाडि बढिरहेको छ । नेपाली पत्रकारिताको जग बसाएको गोरखापत्र प्रकाशनकै दिन पारेर राष्ट्रिय पत्रकारिता दिवस पनि मनाउन थालिएको छ । आजै ‘समृद्धि र सुशासन ः आमसञ्चारको अभियान’ नाराका साथ तेस्रो राष्ट्रिय पत्रकारिता दिवस पनि मनाइँदैछ । यो दिनले राणाकालीनजस्तो बन्द र चेतना स्तर कमजोर भएको समय समाचारपत्रका रूपमा मुलुक भित्रैबाट गोरखापत्र प्रकाशन भएको र त्यसले हालसम्म निर्वाह गरेको भूमिकालाई स्मरण गराउँछ । यो दिन नेपाली पत्रकारिता जगत्कै गौरवको दिन पनि हो । 

बितेका ११७ वर्षमा गोरखापत्रले धेरै आरोह, अवरोह पार गरेको छ । राणाशासनको पछिल्लो आधाभन्दा बढी समय, सात सालपछिको प्रजातान्त्रिक युग, ३० वर्षे पञ्चायती शासन, २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना तथा २०६२–६३ को जनआन्दोलन र त्यसपछिको सङ्घीय शासन प्रणालीसम्मको एउटै साक्षीका रूपमा गोरखापत्र उभिएकोे छ । गोरखापत्रले ११७ वर्षको राजनीतिक, सामाजिक र आर्थिक परिदृष्यको जीवन्त तस्विर बोकेको छ । एक सय वर्ष पूरा गरेका कला, संस्कृतिले विशेष महìव राख्छन्, तिनलाई पुराताìिवक सम्पदा मानिन्छ । गोरखापत्र तिनकै श्रेणीमा पर्ने भएकाले यो नेपाली मात्रको साझा सम्पत्ति पनि हो । यति मात्रै होइन, एक सय वर्ष निरन्तर प्रकाशन भएका दक्षिण एसियाकै थोरै पत्रपत्रिकामध्ये गोरखापत्र पनि पर्नु हामी सबैका लागि गौरवको विषय हो । यो लामो कालखण्डमा गोरखापत्रले धेरै सजिला, अप्ठेरा अवस्थाबाट गुज्रनुपरेको सबैलाई विदितै छ । यी परिस्थितिमा कुनै बेला घटीबढीको अवस्था आएको हुनसक्छ तर पनि गोरखापत्रले सत्य, निष्पक्ष समाचार दिएर जनतालाई सुसूचित गर्ने आफ्नो दायित्वलाई कहिल्यै बिर्सन चाहेन । त्यसैले त गोरखापत्र नेपाली पत्रकारिताको पर्याय बनेको छ र पाठकको माया र विश्वास अटुट छ । गोरखापत्रले समाचार, विचार सम्प्रेषण मात्रै गरेको छैन, धर्म, संस्कृति र परम्परालाई जीवन्तता दिइरहेको छ, भाषा, साहित्य, कला र संस्कृतिका उन्नयनमा समर्पित छ ।
युग बदलिएको छ, सोच बदलिएको छ । विज्ञान प्रविधिको विकास, बजार र पाठकको रुचिमा आएको परिवर्तनका कारण समाजको एउटा तप्काले गोरखापत्रको प्रस्तुतिप्रति अपेक्षा राखेको छ । आकाङ्क्षा पूरा गर्न गोरखापत्र प्रयासरत छ तर पनि हामी सस्तो लोकप्रियता र क्षणिक आर्थिक लाभका लागि समाज र राष्ट्रलाई प्रतिकूल असर पर्नसक्ने र हाम्रा परम्परागत तथा सांस्कृतिक मूल्य मान्यतामाथि घात हुनसक्ने जोखिमप्रति त्यति नै सचेत छौँ । यही नै गोरखापत्रप्रतिको माया, विश्वास र शुभेच्छाको स्रोत हो र दीर्घायुको रहस्य पनि । हामीले आम नागरिकको रुचिलाई आत्मसात् गर्दै आएका छौँ र त्यसैअनुरूप रूपान्तरणको प्रक्रिया निरन्तर चलिरहेको छ । विविध विषयवस्तु, सन्तुलित समाचार, लेख रचना र विचार सम्प्रेषण तथा बढीभन्दा बढी पाठकलाई समेट्ने प्रयास जारी छ । गोरखापत्रले अहिलेसम्म निर्वाह गर्दै आएको सरकार र जनताबीचको पुलको दायित्वलाई थप प्रभावकारी र व्यावसायिक बनाउने प्रण गर्दछौँ । यसमा प्रकाशन हुने सामग्रीमा गुणात्मक सुधार र क्षेत्र विस्तार गर्दै प्रतिस्पर्धी क्षमता विकास गर्ने प्रतिबद्धता दोहो¥याउँछाँै । गोरखापत्र प्रकाशनको ११८ औँ वर्ष प्रवेश तथा तेस्रो राष्ट्रिय पत्रकारिता दिवसको यस पुनित अवसरमा हामी सम्पूर्ण पाठक, लेखक तथा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना प्रकट गर्दछौँ ।
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु माकश्चिद् दुःखभाग्जनः । ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना