‘गोरखापत्र जनताको सम्पत्ति’

sambodhanकाठमाडौँ, वैशाख २५ गते । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गोरखापत्र जनताको सम्पत्ति र समाजको ऐना भएकोले यसले सोहीअनुरूप जिम्मेवारी वहन गर्नुपर्ने सुझाव दिनुभएको छ ।  गोरखापत्र प्रकाशनको ११८ औँ वर्ष प्रवेश, संस्थानको ५६ औँ वार्षिकोत्सव तथा तेस्रो राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा राजधानीको गोरखापत्र परिसरमा आयोजित विशेष कार्यक्रममा उहाँले यस्तो सुझाव दिनुभएको हो । 

राज्यमन्त्री बाँस्कोटाले गोरखापत्रले सञ्चार क्षेत्रको बढ्दो बजार प्रतिस्पर्धामा खरो उत्रन थप मेहनत आवश्यक रहेको बताउनुभयो । उहाँले बालबालिकादेखि युवापुस्ता र सर्वसाधरण पाठकदेखि बौद्धिकवर्गसम्मलाई समेट्ने प्रकाशनहरू गोरखापत्र संस्थानमा रहेको स्पष्ट गर्दै प्रकाशनहरूलाई अझ बढी व्यावसायिक बनाउनु समयको माग रहेको बताउनुभयो ।
उहाँले चुस्त, दुरुस्त र भ्रष्टाचार शून्य व्यवस्थापन बनाउन पनि निर्देशन दिनुभयो । उहाँले प्रकाशन र प्रशासनबीच समन्वय कायम राख्दै सरकारको समृद्धिको लक्ष्य पूरा गर्न सहयोगका लागि आग्रह गर्नुभयो । गोरखापत्र अङ्क र वर्षको निरन्तरतामा मात्र गनिनुभन्दा यसले पस्कने सामग्री र त्यसले समाज निर्माण र विकासमा पु¥याउँदै आएको निरन्तरताको अझ गुणात्मक गणना हुनु पनि उत्तिकै आवश्यक रहेको राज्यमन्त्री बाँस्कोटाको भनाइ छ ।
सोही अवसरमा गोरखापत्र संस्थानका अध्यक्ष गोविन्द पोखरेलले संस्थानका पत्रकार कर्मचारीले भोग्नुपरेको समस्या समाधान गर्न आफू सदैव तयार भएको बताउनुभयो ।
समारोहमा महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायले गोरखापत्रका प्रकाशनलाई दुर्गम क्षेत्रसम्म पु¥याउन क्षेत्रीय प्रकाशन सुरुवातका लागि भौतिक पूर्वाधार तयार भइरहेको र दुर्गम क्षेत्रसम्म पहुँच बढाउन बिक्री एजेन्टहरूको नियुक्ति भइसकेको जानकारी दिनुभयो ।  उहाँले संस्थानका फजुल खर्च कटौती गर्दै व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाइने छ भन्नुभयो । वैशाख २५ देखि नै लागू हुने गरी संस्थानमा कार्यरत सबै कर्मचारीहरूकोे पाँच जनासम्मको परिवारका लागि बीमाको व्यवस्था गर्ने तयारी गरिएको घोषणा गर्नुभयो ।
त्यस्तै हरेक छ छ महिनामा १०/१० जना कर्मचारी तथा पत्रकारका वृत्ति विकासका लागि वैदेशिक तालिम तथा अध्ययन भ्रमणमा पठाउने व्यवस्था गरिने पनि घोषणा गर्नुभयो ।
कार्यक्रममा गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक निर्मलकुमार आर्चायले विश्व पत्रकारिताको इतिहासमा यति लामो समयसम्म निरन्तर प्रकाशित हुने थोरै सङ्ख्याका पत्रिकामध्ये गोरखापत्र रहेको बताउनुभयो । उहाँले गोरखापत्र नेपालको पत्रकारिताको पाठशाला भएको भन्दै यसलाई जीवन्तता प्रदान गर्नु जरुरी भएको बताउनुभयो । समारोहमा गोरखापत्र संस्थान आधिकारिक ट्रेड युनियनका अध्यक्ष विष्णु खनालले मुलुक सङ्घीय ढाँचामा गइसकेको अवस्थामा गोरखापत्रका प्रकाशनलाई पनि विस्तार गर्नु ढिलो भइसकेको बताउनुभयो ।
सोही अवसरमा संस्थानद्वारा सम्मानित वरिष्ठ पत्रकार भैरव रिसालले गोरखापत्र आफूजस्ता धेरैको पत्रकारिता र भाषाको गुरु भएको भन्दै यसले अनन्तकालसम्मको आयु बाँचोस् भन्ने कामना गर्नुभयो । उहाँले गोरखापत्र निष्ठाको पत्रकारिताबाट नचुकोस्, व्यावसायिकताको नाममा साहुको हातमा नपुगोस्, विज्ञापनका साथै पाठ्य सामग्रीको प्रतिशत अझ बढोस्, आचारसंहिता शब्दमा नभई व्यवहारमा लागू होस् भन्ने कामना गर्नुभयो ।
सम्मान तथा पुरस्कार प्रदान
यसै समारोहमा गोरखापत्र संस्थाले विभिन्न व्यक्ति तथा कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । संस्थानले विगत तीन वर्षदेखि प्रदान गर्दै आएको गोरखापत्र राष्ट्रिय पत्रकारिता पुरस्कार यस वर्ष वरिष्ठ पत्रकार भैरव रिसाललाई प्रदान गरिएको छ ।
सोमबार आयोजित विशेष समारोहमा राज्यमन्त्री बाँस्कोटाले उहाँलाई सम्मानपत्रसहित नगद ५५ हजार ५५५ रुपियाँको चेक प्रदान गर्नुभयो । त्यस्तै, विभिन्न प्रदेशमा कार्यरत समाचारदाताहरूलाई पनि पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेहरूमा सुनसरी समाचारदाता सचिन पोखरेल, पर्सा समाचारदाता कन्हैयालाल केशरी, मकवानपुर समाचारदाता राममणि दाहाल, पोखरा समाचारदाता रमेश पौडेल, बुटवल समाचारदाता छविलाल पाण्डे, सुर्खेत समाचारदाता ललित बसेल, कैलाली समाचारदाता प्रकाशविक्रम शाह र उपत्यका समाचारदाता देवबहादुर कुँवर हुनुहुन्छ । उहाँहरूलाई जनही पाँच हजार ५५५ रुपियाँसहित सम्मानपत्र प्रदान गरिएको थियो ।
त्यस्तै, गोरखापत्र संस्थानले प्रदान गर्ने उत्कृष्ट कर्मचारी पुरस्कार कर्मचारी सरस्वती रञ्जितलाई प्रदान गरियो । उहाँलाई सम्मानसहित २५ हजार एक रुपियाँ प्रदान गरिएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना