मोदीको भ्रमण र सांस्कृतिक सम्बन्ध

Shreemanश्रीमन नारायण


दक्षिणी छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशबीचको धार्मिक एवं सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउनुका साथै परम्परागत बहुआयामिक सम्बन्धमा पनि प्रगाढता ल्याउने निश्चित छ । नेपालका प्रधानमन्त्री के.पी. शर्मा ओलीको भारत भ्रमण सम्पन्न भएलगत्तै भारतका प्रधानमन्त्री नेपालको धार्मिक भ्रमणमा आउनुले दुई देशबीचको घनिष्ठ सम्बन्ध दर्शाउँछ । भारतीय प्रधानमन्त्री मोदीको धार्मिक तथा सांस्कृतिक भ्रमणका क्रममा उहाँले जनकपुरमा जानकी मन्दिर तथा मुस्ताङको मुक्तिनाथजस्ता प्रसिद्ध धार्मिक तीर्थस्थलको समेत भ्रमण गर्दै हुनुहुन्छ ।
नेपाल–भारत मैत्री सम्बन्धका कतिपय अपरिहार्य तìव छन् जसमध्ये सांस्कृतिक समानतालाई एउटा प्रमुख घटकको रूपमा लिन सकिन्छ । सरकारको सञ्चालन आफ्नै तरिका र परिस्थितिको बाध्यात्मक अवस्थाबाट भइरहेको हुन्छ तर दुई देशबीचको सांस्कृतिक समानताका कारण जनस्तरको सम्बन्ध र बन्धुत्व कहिल्यै कमजोर भएन । नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्ध यति बढी प्रगाढ एवं अद्वितीय छ, विश्वका कमै देशबीच यस खालको सम्बन्ध रहेको होला । यी दुई देशबीचको सांस्कृतिक सम्बन्ध शताब्दियौँ पुरानो हो । नेपाल र भारत एकअर्कासित आध्यात्मिक, धार्मिक एवं सांस्कृतिक रूपमा अनन्य भावले जोडिएका छन् ।
नेपाल एवं भारतबीचको सांस्कृतिक सम्बन्धलाई हामी कुनै निश्चित समयको परिधिभित्र बाँध्न सक्दैनौँ किनभने वैदिक ज्ञानको दृष्टिकोणले हामीले आँखा खोलेदेखि नै नेपाल–भारत सांस्कृतिक सम्बन्धको अस्तित्वलाई हामी आफूसँगै सुन्दै र बुझ्दै आएका छौँ । धर्म, अध्यात्म र संस्कृतिको एकताले यी दुई देशलाई आन्तरिक रूपमा निकै दरिलोसँग बाँधिदिएको छ । नेपाल र भारतको सम्बन्ध त्यति नै प्राचीन छ जति प्राचीन यी दुई देशबीचको सांस्कृतिक चेतना छ । भारत नेपाल दुवै देश एउटै सांस्कृतिक चेतनाका साझेदार संवाहक हुन् । हिमालय हामी दुवैको निम्ति आत्मसाधनाको स्थल रहिआएको छ । अनन्तकालदेखि नै हिमालयका महान् चुचुराले हामी दुवैलाई आध्यात्मिक शक्ति प्रदान गर्दै आएका छन् ।
प्रथम जनआन्दोलनको सफलतापश्चात् नेपालको अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई भारत भ्रमणमा गएका बखत उहाँले दुई देशबीचको सम्बन्धलाई परिभाषित गर्दै भन्नुभएको थियो–
“अस्त्युतरस्यां दिशि देवात्मा हिमालयो नाम नगाधिराज ः “पूर्वापरौ तोयनिधीवगाहय स्थितः पृथिव्याइवमानदण्डः।। मेघदूतम् ।
देउताको आत्मा, ऋषिमुनिजहरूको तपोभूमि, गंगा, यमुना, कोशी, गण्डकी, कर्णालीको उद्गम स्थल, विदेशीको आकर्षणको केन्द्र मनोहर हिमालय यस पृथ्वीको मापन यन्त्र हो, यसको पूर्वी तथा पश्चिमी क्षेत्र महासागरबाट स्नेह प्राप्त गर्दै अनादि कालदेखि स्थित छ । यो रमणीय हिमालय नेपाल र भारतका प्रत्येक व्यक्तिको आस्थाको एवं श्रद्धाको केन्द्र विन्दु रहिआएको छ । यस हिमालयको दक्षिणी क्षेत्रमा नेपाल तथा भारत अवस्थित छ । जगत्का माता–पिता पार्वती र शङ्कर हाम्रा आदि देव हुन्, उनको निवास स्थान कैलाश पर्वत मानिन्छ जुनकि नेपाल र भारत दुवै देशका भक्तजनको पवित्र तीर्थ स्थल पनि यो हो । दुवै देशले हिन्दू बाहुल्य भएर पनि धर्मनिरपेक्षतालाई स्वीकार गरेका छन् । यहाँका नागरिकहरू जुन धर्म एवं पन्थका अनुयायी भए पनि आपसमा मिलेर बस्दछन् । यहाँ धार्मिक उदारता र सहिष्णुता पनि उच्च कोटीको रहेको पाइन्छ ।
प्रसिद्ध समाजवादी नेता तथा भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखरले जनकपुरधाम भ्रमणमा आएका बखत त्यहाँ आयोजित अभिनन्दन समारोहमा भाषण गर्दै भावविभोर भएर माता सीताको बन्दना गर्नुभएको थियो । उहाँले भन्नुभएको थियो कि भगवान् रामलाई पनि पुरुषार्थको प्रेरणा सीताबाट नै प्राप्त भएको थियो । लङ्कालाई रावणको अत्याचारी शासनबाट मुक्त गराएर रामले विभिषणलाई त्यहाँको राजा बनाउँदा सचेत गराउनुभएको थियो कि धनजनको यति बढी हानिका पश्चात् प्राप्त यस जनाधिकारको यदि विभिषणले रक्षा गर्न सकेनन् भने प्रजाले उनलाई पनि सत्ताबाट च्यूत गर्नेछन् । वर्तमान युगमा पनि जनताको समर्थन एवं सक्रियताबाट सत्ताधारी भएका शासकगणले जनतालाई समानता र न्यायको अनुभूति गराउन सकेनन् भने लामो समयसम्म नेतृत्व गर्न सक्ने छैनन् । श्री चन्द्रशेखरले जाति एवं सम्प्रदायको सङ्कीर्णताबाट माथि उठेर विदेह राजा जनकको उदारतालाई आफ्नो आदर्श बनाउन सबैसँग आग्रह गर्नुभएको थियो ।
करिब चार वर्ष अघि पनि नेपाल भ्रमणमा आउनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भगवान् पशुपतिनाथको दर्शनपछि भन्नुभएको थियो – नेपालका पशुपतिनाथ र भारतका केदारनाथ दुवै एउटै शिवका दुईवटा नाम हुन्, एउटै ईश्वरीय शक्तिका दुईवटा रूप हुन् । दुई भिन्न स्थान र दुई भिन्न देशमा अवस्थित रहेर पनि यिनमा ताìिवक भिन्नता छैन । ठीक त्यसरी नै नेपाल र भारतको संस्कृतिमा कुनै ताìिवक भिन्नता छैन चाहे यी दुईको संस्कृतिमा परिवेश र समय परिवर्तनका कारण केही भिन्नता किन नदेखियोस् । उहाँले पशुपतिनाथको नगरी काठमाडौँ र काशी विश्वनाथको नगरी वाराणसीसित आवागमनको सुविधा सहज हुनुपर्ने आवश्यकता पनि औँल्याउनु भएको थियो ।
भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखरपछि जनकपुरधामको धार्मिक भ्रमण गर्ने नरेन्द्र मोदी भारतका दोस्रो प्रधानमन्त्री हुनुहुनेछ । भारतका हजारौँ तीर्थालुहरू भगवान् पशुपतिनाथ, गौतम बुद्धको भूमि तथा माता जानकीको दर्शन गर्न दिनहँु नेपाल आउने गर्छन् । त्यसैगरी हजारौँ नेपाली तीर्थयात्री पनि भारतको चारधाम, वाराणसी अयोध्या, मथुरा, द्वारका, बृन्दावन, तिरुपति, सिरडी, कामरूप कामाख्या, कोलकाता, गंगासागर, वैष्णोदेवी तथा हरिद्वार जाने गर्छन् । पितृ तर्पणका लागि गया जाने कर्मकाण्डीय मान्यता पनि रहिआएको छ । भौगोलिक परिस्थितिका कारण दुवै देशबीच आवागमन पनि सरल भएकाले कम खर्चमा दुवै देशका नागरिक आ–आफ्ना आराध्यको दर्शन तथा पूजा गर्न सफल भइरहेका छन् ।
नेपाल र भारतबीचको सांस्कृतिक तथा सामाजिक संरचनाका साथै सामाजिक रीतिरिवाज, खान–पान भेष–भूषा बोलीचालीको भाषामा निकै नै सामीप्यता पाइन्छ । जसरी भारतका जनता धार्मिक रूपले उदार एवं सहिष्णु हुन्छन् ठीक त्यसरी नै नेपाली जनता पनि धार्मिक, उदार र सहिष्णु छन् । शायद त्यही भएर होला कुनै नेपाली भारत भ्रमणमा जाँदा र भारतका जनता नेपाल आउँदा अपनत्वको अनुभूति गर्ने गर्छन् तथा कुनै किसिमको समस्या उत्पन्न हुँदैन ।
सर्वे भवन्तु सुखिन ः सर्वे सन्तु निरामया ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चित दुःख भागभवेत । ।
योे कल्याणमयी भावनाले यी दुई देशको सामाजिक व्यवस्था ओतप्रोत रहेको पाइन्छ । चार वेद, अठार पुराण, गीता, धर्मशास्त्र, हाम्रा एउटै हुन् । नेपाल र भारतका आर्यहरू एउटै ऋषिका वंशज एवं सन्तान हुन् । तीन देवता ः ब्रह्मा–विष्णु, महेश, तीन शक्ति ः महाकाली, महालक्ष्मी र महासरस्वतीलाई हामी समान रूपले पूजा गर्दछौँ । यस्तै पञ्चदेवता, विष्णु, पञ्चभौतिक, दश दिक्पाल एवं नवग्रहादि देवताहरूको पनि समान रूपमा पूजा–अर्चना गरिन्छ । अहिंसा परमो धर्मः को भावना हामी दुवै देशका जनतामा सामान रूपले विद्यमान छ । पशुपंक्षी, जडसंगम सबैमा ईश्वरको अंश हेर्ने हाम्रो मान्यता रहिआएको छ । तसर्थ हामीबीचको सांस्कृतिक सम्बन्ध अद्वितीय प्रगाढ एवं अटल रहेको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालबाट धेरै नै प्रभावित हुनुहुन्छ भने आम धारणा छ । उहाँको यस धार्मिक भ्रमणले नेपालका तीर्थस्थललाई बढी आकर्षक पर्यटकीय एवं धार्मिक दृष्टिकोणले विश्वप्रसिद्ध बनाउनमा मद्दत पुग्ने अपेक्षा गर्न सकिन्छ । रामायण सर्किट एवं लुम्बिनी सर्किटको परिकल्पनाले मूर्तरूप लिएमा भ्रमण अझ बढी प्रशंसनीय हुनेछ । यो भ्रमण नेपालका धार्मिक क्षेत्रको संरक्षणमा सहयोगी साबित हुने अपेक्षा गर्न सकिन्छ । पौराणिक, धार्मिक, भौगोलिक, सांस्कृतिक वैवाहिक, सामाजिक, आर्थिक एवं राजनीतिक सम्बन्ध अझ बढी प्रगाढ एवं सुमधुर बनोस् भन्ने चाहना दुवै देशका जनताको पनि रहेको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना