बीमा नगर्दा केरा किसान मर्कामा



शालिग्राम नेपाल

चितवन, वैशाख २७ गते । झन्झटिलो व्यवस्था भएको भन्दै बीमा नगरेका केरा खेती गर्ने किसानले हावाहुरीबाट भएको क्षतिको राहत नपाउने भएका छन् । जोखिम बीमाले व्यहोर्छ भनेर बीमा कम्पनीले आग्रह गर्दा बेवास्ता गर्दा आइतबार साँझ आएको हावाहुरीको मारमा किसान परेका हुन् ।
६३० जना किसानले जिल्लामा केरा खेती गर्दै आएका छन् । तीमध्ये ३० प्रतिशतले मात्र बीमा गरेकाले नोक्सानी भएको धेरै किसानले बीमाबाट रकम नपाउने भएका हुन् । बीमा गर्दा केही झन्झटिलो व्यवस्था रहेको कारण यस वर्ष बीमा गर्ने किसानलेको सङ्ख्या थोरै थियो, चितवन केरा उत्पादक सङ्घका पूर्व अध्यक्ष यज्ञ सुवेदीले भन्नुभयो ।
‘समयमा बीमा नगर्दा अहिलेको ठूलो क्षति आफैँले सहनु परेको छ, उहाँले भन्नुभयो, ७० प्रतिशत किसानको बीमा छैन । बीमा गर्ने किसानले क्षतिको करिब ९० प्रतिशत क्षतिपूर्ति पाउने भए पनि बीमा नगर्ने कतिपय किसान व्यवसायबाटै हात धुनुपर्ने अवस्था आउन सक्ने सुवेदीले बताउनुभयो । kera
चितवन केरा उत्पादक सङ्घका जिल्ला अध्यक्ष विष्णुहरि पन्तले प्राकृति विपत्तिमा परेका किसानलाई अब सरकारले सम्बोधन गर्नुपर्ने बताउनुभयो । यति ठूलो नोक्सान भएको छ, किसान रोएर बसेका छन् । प्रारम्भिक जानकारी अनुसार कम्तीमा २० करोड रुपियाँ बराबरको केरा क्षति भएको सङ्घले जनाएको छ । पूर्वी चितवनमा लगाइएको ७० प्रतिशत केरा नष्ट भएको छ । अहिले क्षतिको विवरण सङ्कलन भइरहेको छ ।
मङ्गलबारदेखि बीमा कम्पनीले समेत अनुगमन गरिरहेको केरा उत्पादक सङ्घले जनाएको छ । पूर्वी चितवनका आशाराम चौधरीको पदमपुर र भटेनीमा गरी १२ बिघामा केरा ढलेर पूर्ण नष्ट भएको छ । उहाँले करिब ३५ लाख माथिको केरा क्षति भएको भन्दै बीमा नभएकाले सरकारसँग राहत माग गर्नुभयो । विगतमा बीमा गरेको भए पनि पोडिन्सियल बीमा कम्पनीले घाटा लाग्यो भनेर बीमा गर्न नमान्दा आफूले यस वर्ष बीमा नगरेको उहाँले बताउनुभयो ।
केरा किसान तथा कालिका केरा नगर समितिका अध्यक्ष नारायण पुडासैनीले पनि यो वर्ष केरामा बीमा गर्नुभएको छैन । उहाँको १२ बिघामध्ये तीन बिघामा केरा ढलेर पूर्ण क्षति भएको छ । करिब रु. १२ लाख नोक्सान भएको पुडासैनीले दाबी गर्नुभयो । म आफैँ समितिको संयोजक छु तर बीमा गर्न चासो दिइनँ, अहिले समस्या भयो, उहाँले भन्नुभयो ।
विगतमा बीमा गर ेपनि ५ प्रतिशतभन्दा कम क्षति भए क्षतिपूर्ति नपाइने नियम थियो । त्यसका कारण बीमा गर्नतर्फ ध्यान नदिएको किसानहरू बताउँछन् । बीमा कम्पनीले घटाएर दिने, झुलाइदिने, ५ प्रतिशत क्षतिको क्षतिपूर्ति नदिनेलगायत बीमा व्यवस्थापनको कमजोरीले किसानले बीमा नगरेको पुडासैनीले बताउनुभयो ।
पछि केरा किसानको दबाबमा ५ प्रतिशत हटाइएको थियो तैपनि बीमामा किसान आकर्षित हुनसकेका छैनन् । जसले अहिले करोडौँको नोक्सानी बेहोर्नुपरेको छ । यसपटकको हावाहुरीले सबैभन्दा बढी यहाँको पदमपुर, जुटपानी, चैनपुर र ठिमुरामा क्षति भएको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना