विश्वशान्तिको बिहानी उदाएकै हो


pradip nepalप्रदीप नेपाल

 

छ महिना उत्तर कोरियाका कारण विश्व तरंगित रह्यो । पहिले, संसारमा लगाउन सकिने जति नाकाबन्दी सबै लगाउँदा पनि कसैलाई टेरपुच्छर नलाई पारमाणविक हतियार परीक्षणको आतंकले त पछि कसैले नसोचेको समयमा शान्तिवार्ताको पहल गरेको खुशियालीले । यो त्यस्तो खुशी हुनैपर्ने विषय त होइन । किनभने समस्या उत्तर कोरिया होइन, समस्या हो अमेरिका । तर यो भिडन्तमा उत्तर कोरियाको जीत भयो । हामीजस्ता साना राष्ट्रका लागि खुशीको कुरा हुनुपर्ने हो । आपूmलाई विश्वको एक्लो वादशाह मान्ने अमेरिकालाई सबै क्षेत्रमा कोरियाले हराइदियो । अमेरिकाको आणविक धम्कीलाई कोरियाले पनि आणविक हतियारको धम्कीले नै जवाफ दियो । अमेरिकाले अफगानिस्तान र सिरियामाथि आक्रमण गरेजस्तो उत्तर कोरियामाथि आक्रमण गर्न सकेन । उत्तर कोरियालाई विनाशकारी युद्धकोे मनस्थितिमा बाँचिरहेको तानाशाहको देश भन्छन् पश्चिमाहरू तर उत्तर कोरियाले त्यसलाई पनि झुटो प्रमाणित गरिदियो ।
आजै मिसाइल हानिने हो कि भन्ने त्रासको स्थितिलाई पर्लक्कै उल्ट्याएर दक्षिण कोरियासँग पारिवारिक मैत्रीभाव जगाउने काम अमेरिकाले गरेको होइन । त्यो काम पनि उत्तर कोरियाले नै गरेको हो । समग्रतामा डोनाल्ड ट्रम्पभन्दा बुद्धिमान र शान्तिप्रिय देखिए उत्तर कोरियाली नेता किम जोङ उन । हप्तादिन अघिसम्म अमेरिकी मिसाइललाई आकाशमै प्रतिकार गर्ने र साह्रै निहुँ खोजे सङ्घीय अमेरिकाको राजधानी नै नष्ट गरिदिने भाषण गरिरहेका किम जोङ उनले अहिले कोरियालाई परमाणु शस्त्रास्त्र बिहीन बनाउन सकिन्छ भन्ने ठाउँमा पुगेका छन् । यहाँ एउटा तर शब्द छ भनेर सोचे हुन्छ । अमेरिका जे जे भन्छ उत्तर कोरिया सोही सोही गर्छ भनेर कसैले नसोच्नु राम्रो हुन्छ । किम जोङ उनले हतियारको सन्दर्भमा अमेरिकालाई टक्कर दिँदादिँदै शान्तिको पहल गरे । यस अर्थमा उनले कूटनीतिक युद्ध पनि जिते । अब शुरु हुन्छ वार्ता । त्यो पनि कसिलो नै हुन्छ । वार्तामा इमान रह्यो भने यसमा पनि किम नै अगाडि हुनेछन् ।
किम जोङ उनले भनेका पनि छन्, ‘मलाई थाहा छ, अमेरिकीहरू हामीसँग स्वभाविक रूपमा दुस्मनी साँध्छन् । तर तिनीहरूले हतियारको कुरा गरे भने म, दक्षिणतर्फ प्रशान्त महासागर वा अमेरिकामा आणविक हतियार खसाल्न नसक्ने मान्छे होइन भन्ने तिनले थाहा पाउनु पर्छ । अमेरिकासँग विश्वासको वातावरण तयार भयो भने, आक्रमण नगर्ने सुनिश्चित गरियो भने हामी कठिनाइका साथ आणविक हतियार लिएर किन बस्छौँ ?’ किमको भनाइ पढ्दा र अहिलेसम्मको अमेरिका–कोरियाको तनावको यात्रालाई हेर्दा भन्न सकिन्छ, त्यहाँ पनि किम जोङ उनको पक्ष भारी हुनेछ । उनको स्पष्ट भनाइ छ– अमेरिकाले कोरियाली प्रायद्वीप आक्रमण नगर्ने सुनिश्चिता दिएमा खर्चिलो आणविक हतियार नष्ट गर्न उत्तर कोरिया तयार छ । अर्थात् युद्ध समाप्त गरेर शान्ति स्थापना गर्नु भनेको दक्षिण कोरिया र जापानबाट अमेरिकी सैनिक घर फर्किनु हो ।
यो वर्तमान विश्वको सकारात्मक अनुहार हो, यदि अमेरिका विश्वशान्तिको पक्षधर भैदिन सक्यो भने ।
अहिले भकुण्डो अमेरिकाको हातमा छ । उसले युद्ध चाह्यो भने कोरिया युद्ध गर्न पनि तयार छ, उसले पूर्वी एशियामा शान्ति होस् र आणविक खर्च कटौती गरेर आफ्नो पैसा अन्यत्र लगानी गर्न सकियोस् भन्ने चाह्यो भने अब विश्वशान्ति सुनिश्चित छ ।
अमेरिका नै विश्वयुद्धको मुख्य खतरा हो भन्ने सत्य स्थापित भएको समय हो अहिले । बीसौं शताब्दीको उत्तरार्ध र एक्काइसौं शताब्दीको आरम्भको इतिहास खोतल्ने हो भने यो सत्य सजिलै प्रमाणित हुन्छ । आधा शताब्दी अघिको कोरियाली युद्ध र भियतनाम युद्धको कारण अमेरिका नै थियो । कोरिया र भियतनामले युद्ध चाहेका थिएनन् । अमेरिकाले उनीहरूको भूमिमा आक्रमण नगरेको भए उनीहरू अमेरिकाको विरुद्ध जाइलाग्ने थिएनन् । पछिल्ला दिनमा अफगानिस्तान पनि अमेरिकामाथि आक्रमण गर्न गएको थिएन । इराकले त खालि आफ्नो स्वतन्त्रता खोजेको थियो । तर यी दुवै मुलुक अमेरिकी आक्रमणबाट ध्वस्त पारिए । अहिले सिरियाले पनि अफगानिस्तान र इराककै नियति भोग्नु परिरहेको छ । इराक र अफगानिस्तानलाई ध्वस्त पारेपछि अमेरिका सरक्क आफ्नो घरमा फर्किए जसरी सिरियाबाट उसले पनि बहिर्गमन गर्नैपर्छ । तर त्यतिबेलासम्म सिरिया एउटा कंकाल भइसक्नेछ ।
बाराक ओबामालाई अपवाद मान्ने हो भने अमेरिकी राष्ट्रपतिहरू आपूmलाई विश्वको शाहन्साह ठान्छन् । तर किन ? मैले बुझ्न सकेको छैन । संसारभरि उनीहरूको मनमाफिकको कानुन लागू हुनुपर्छ भन्ने कुन आधारको तर्क हो उनीहरूको ! उनीहरू पनि औपनिवेशिक शासन खेपेरै आएका हुन् । के अमेरिकी सभ्यतामा मानवता मरिसकेको छ ? यस्तो त नहुनु पर्ने हो ।
यदि हो भने अमेरिकी ‘थिंक ट्यांक’ हरूले सोच्ने बेला यही हो । हिजो दुई ध्रुवीय विश्व थियो — अमेरिका र सोभियत सङ्घ । अहिले त्यस्तो छैन । अहिले जताततै ध्रुव बनेका छन् र कोही पनि हिजोको जस्तो एक ध्रुवको पछौटे हुने अवस्थामा छैनन् । अहिले क्षेत्रीय शक्तिहरू बलशाली बन्दैछन् । संयुक्त राष्ट्रसङ्घको स्थायी सदस्यमा दक्षिण अमेरिकाबाट ब्राजिल र अफ्रिकाबाट दक्षिण अफ्रिकाको प्रतिनिधित्व हुनुपर्ने यही क्षेत्रीय शक्तिको बलाशाली अभिव्यक्ति हो । यति मात्र होइन, अमेरिकालाई उत्तर कोरियाले समेत टक्कर दिएको समय हो यो । इरानले पनि अमेरिकालाई प्रभु मानेको छैन । ‘ओरेन्ज रिभोल्युसन’ को विरुद्धमा सम्बन्धित राष्ट्रमा बहस शुरु भएको छ । सानो राष्ट्र कतारले समेत ‘जैसा जैसा अमेरिका वैसा वैसा कतार’ भन्न मानेको छैन । अमेरिकाले आफ्नो क्षेत्र मानेको दक्षिण अमेरिकामा पनि अमेरिकी प्रभुत्व हिजोजस्तो छैन । मान्छेहरू अमेरिका र चीनको व्यापार युद्धले कस्तो विनाश निम्त्याउने हो भनेर आतंकित छन् । रुस र अमेरिकाको द्वन्द्वले हिजोको सोभियत सङ्घको शीतयुद्धलाई सम्झाउन थालेको छ । त्यतिबेला सोभियत सङ्घ कमजोर थियो, अमेरिकाको तुलनामा गरीब पनि थियो तर अहिलेको अवस्था त्यस्तो छैन ।
चीनको कल्पनातीत विकासले अमेरिकी वर्चस्वलाई घाइते बनाउँदै लगेको छ । हिजोको जस्तो दक्षिण कोरिया, अमेरिकासँग टाँसिएर चीनलाई दुश्मन बनाउने पक्षमा छैन । दक्षिण कोरियाले चीनको शक्ति र विकासको वेग आँकलन गरेर चीनसँगको मित्रतालाई प्राथमिकतामा राखेको छ । दक्षिण कोरियाभित्र पनि अमेरिकापरस्त दक्षिणपन्थी शक्ति बलियो छैन भन्ने सत्यलाई पछिल्लो चुनावले प्रमाणित गरिसकेको छ । कोरियाली शान्तिको सपना एक्लो किमको मात्र होइन, त्यो दक्षिण कोरियाका मुन जाय इनको पार्टीलाई जिताउने जनताको पनि हो । स्वयं दक्षिण कोरियाका राष्ट्रपति मुनको पनि हो ।
अमेरिका आफैंसँग पर्याप्त साधन स्रोत भएको मुलुक हो । संसारमा धनीहरूको संख्यामा पनि अमेरिका सबैभन्दा माथि छ । युद्धले पछिल्ला पचहत्तर वर्षमा अमेरिकालाई धन जनको विनाश बाहेक अरु केही दिएको छैन । हतियार बिक्रीबाट नाफा त धेरै होला तर त्यसको तुलनामा अमेरिकी आमाहरूमा कष्ट र पीडा धेरै भएको छ ।
म कार्लमाक्र्सका विचारबाट प्रभावित भएको मान्छे हुँ । कुनै राष्ट्रको अन्धसमर्थन र अन्धविरोध गर्न म सक्दिनँ । व्यक्तिले चाहेमा गर्न नसक्ने केही हुँदैन । अहिलेसम्म अमेरिकी राष्ट्रपति संसारको सबैभन्दा शक्तिशाली मान्छे मानिएको छ । उनले परमाणु हतियार सम्पन्न सबै मुलुकका प्रमुखहरूसँग बसेर आणविक अस्त्रमुक्त विश्व निर्माण गर्ने काममा पहल गरे भने अमेरिकी राष्ट्रपतिको कति ठूलो मान हुँदो हो !
यो एउटा साहित्यकारको सपना न हो । राजनीतिले शत्रुता बढाउँछ, साहित्यले आत्मीयता बढाउँछ । आउनु होस् हामी विश्वशान्तिको पक्षमा गीत गाउँ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना