भारतीय प्रधानमन्त्री मोदी आज आउनुहुँदै

narendra modiकाठमाडौँ, वैशाख २८ गते । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने राजकीय भ्रमणका लागि शुक्रबार नेपाल आउँदै हुनुहुन्छ । राजधानी काठमाडौँबाट भ्रमण आरम्भ हुने विगतका परम्परा तोड्दै प्रधानमन्त्री मोदी भारतको पटनाबाट प्रसिद्ध धार्मिक नगरी जनकपुरधाम आउँदै हुनुहुन्छ । 

भारतका प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको सबै तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । भ्रमणको तयारीका लागि जनकपुर, काठमाडौँ र मुस्ताङमा विशेष तयारी गरिएको छ ।
प्रधानमन्त्री मोदीको स्वागतका लागि सवारी रुटमा पर्ने सडकमा नेपाल–भारतका राष्ट्रिय झन्डा फहराइएका छन् भने ठाउँठाउँमा स्वागतद्वार निर्माण गरिएको छ । प्रधानमन्त्री मोदीलाई जनकपुर र काठमाडौँमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।
काठमाडौँमा दर्जन स्वागतद्वार
काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले प्रधानमन्त्री मोदीलाई स्वागत गर्न एक दर्जन स्वागतद्वार निर्माण गरिने बताउनुभयो । तीमध्ये दुईवटा स्वागतद्वार महानगरले निर्माण गरेको छ भने अरू द्वार विभिन्न सङ्घसंस्थाले निर्माण गरेका छन् ।
काठमाडौँ महानगरपालिकाका तर्फबाट राष्ट्रिय सभागृहमा प्रधानमन्त्री मोदीको नागरिक अभिनन्दन गरिने जानकारी नगरप्रमुख शाक्यले दिनुभयो ।
जनकपुरमा व्यापक उत्साह
भारतीय प्रधानमन्त्री मोदीको शुक्रबार हुन लागेको जनकपुरधामको धार्मिक भ्रमणले यस क्षेत्रमा व्यापक उत्साह देखिएको छ । २ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रधानमन्त्री मोदीको नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुन गाउँगाउँबाट सर्वसाधारण जनकपुरधाम आउन लागेको जानकारी दिनुभयो ।
नागरिक अभिनन्दनमा सहभागी हुन प्रदेश २ का आठै जिल्लाबाट सर्वसाधारण आउने उहाँले बताउनुभयो । रौतहट जिल्लाबाट एक दर्जन बस आउने प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवले जानकारी दिनुभयो । कतिपय व्यक्ति भने आफ्नो निजी सवारीसाधन तथा मोटरसाइकलमा आउन लागेको पनि उहाँले बताउनुभयो ।
प्रधानमन्त्री मोदीको स्वागतका लागि भारतको सीमावर्र्ती क्षेत्रका विभिन्न गाउँबाट पनि भारतीय नागरिक जनकपुरधाम आउने तयारीमा रहेको उमगाउँका अन्नपूर्णानन्द मिश्रले बताउनुभयो । “भारतको दरभङ्गा सम्मका भारतीय नागरिक आउन लागेका छन्”, उहाँले भन्नुभयो ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बाह्र बिघा रङ्गभूमि मैदानमा पाँच लाख नागरिक सहभागी हुने दाबी गर्नुभयो । मोदीको स्वागत कार्यक्रममा सरिक हुन स्थानीयवासी तयार भएर बसेको धनुषा कमला नगरपालिकाका नगरप्रमुख रामउद्गार गोइतले बताउनुभयो । मोदीको भ्रमणका लागि २ नम्बर प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।
मोदी सीधै जनकपुर
प्रधानमन्त्री मोदी भारतको बिहार पटनाबाट जनकपुर आउनुहुनेछ । त्यहाँ केही समय बिताएपछि काठमाडौँ आउने कार्यक्रम छ । प्रधानमन्त्री मोदीलाई टुँडिखेलमा स्वागत गर्नुका साथै ‘गार्ड अफ अनर’ दिइनेछ ।
राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसँग प्रधानमन्त्री मोदीले शिष्टाचार भेट गर्नुहुनेछ । सोही दिन प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता र छलफल हुने जानकारी परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले दिनुभयो । त्यस लगत्तै दुवै देशका प्रधानमन्त्रीले अरुण तेस्रो जलविद्युत् आयोजनाको संयुक्त रूपमा शिलान्यास गर्नुहुने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीले विशिष्ट पाहुनाको सम्मानमा शुक्रबार रात्रिभोज आयोजना गर्नुहुनेछ । वैशाख २९ गते बिहानै प्रधानमन्त्री मोदी मुक्तिनाथको दर्शनका लागि मुस्ताङ जानुहुनेछ । मुक्तिनाथ दर्शन गरेर काठमाडौँ फर्कनुभएपछि मोदीलाई काठमाडौँ महानगरपालिकाले नागरिक अभिनन्दन गर्नेछ ।
मुक्तिनाथबारे मोदी जानकार
मुस्ताङ जिल्लाको मुक्तिनाथ गाउँपालिकाका बराह गाउँ मुक्तिक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीले प्रधानमन्त्री मोदीको भ्रमणलाई लिएर तयारी भइरहेको जानकारी दिनुभयो ।
उहाँले मोदी युवा उमेरमा डेढदेखि दुई वर्ष मुक्तिनाथ क्षेत्रमा बस्नुभएको जानकारी आएको समेत बताउनुभयो । “प्रधानमन्त्री मोदी मुक्तिनाथ मन्दिरबारे राम्रो जानकार हुनुहुन्छ भन्ने कुरा तयारी गर्दै गर्दा आएको छ”,
उहाँले भन्नुभयो ।
प्रधानमन्त्री मोदीको यस पटकको भ्रमण राजनीतिक महŒवका साथै धार्मिक पर्यटनका हिसाबले पनि महŒवपूर्ण छ । प्रधानमन्त्री मोदीको जनकपुर र मुक्तिनाथ मन्दिरको भ्रमणलाई लिएर भारतीय आमसञ्चार माध्यमले पनि यसपटक निकै स्थान दिएका छन् ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना