दिल्ली–जनकपुर–मुक्तिनाथ

tiryha bhattaraiतीर्थ भट्टराई

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने राजकीय भ्रमणमा आज वैशाख २८ गते नेपाल आउँदै हुनुहुन्छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलगत्तै हुन लागेको मोदीको नेपाल भ्रमणले दुई देशको सम्बन्धलाई अग्रगति दिने विश्वास गरिएको छ । दुई देशबीचका शङ्का उपशङ्का तोड्दै हालै प्रधानमन्त्री ओलीले भारतको भ्रमण गर्नु भएपछि सुमधुर बनेको सम्बन्धलाई भारतीय प्रधानमन्त्री मोदीको यस भ्रमणले थप बलियो बनाउने र विश्वासको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
गत महिना चैत २३–२५ सम्म भएको भ्रमणमा प्रधानमन्त्री ओलीलाई भारतमा जुन स्वागत र सत्कार गरियो र जस्ता समझदारीहरू भए तिनले विगतमा भारतीय नाकाबन्दीका कारण चिसिएको सम्बन्धलाई पूर्ववत् बनाउने मात्र होइन, आपसी समानताका आधारमा विश्वास बढाउने र आपसी सहकार्यलाई तीव्रता दिने आशा गरिएको छ । यस परिप्रेक्ष्यमा मोदीको यो भ्रमणले निश्चय नै सम्बन्धलाई जनस्तरमा पनि आत्मियता थप्नेछ ।
मोदीको भ्रमण तालिकामा जनकपुर, काठमाडौँ र मुक्तिनाथको भ्रमण छ । यी गन्तव्यस्थल मोदीका रोजाइका हुन् । यी स्थान दुई देशको धार्मिक, सांस्कृतिक सम्बन्धका कडी पनि भएकाले मोदीका लागि यो भ्रमण एउटा तीर्थयात्राजस्तै हुनेछ । भारतको राजधानी दिल्ली मुकाम भएका मोदी देशको उत्तरतर्फ नेपाली सीमावर्ती शहर पटनाबाट नेपालको दक्षिणी शहर जनकपुरदेखि उत्तरको मुक्तिनाथ क्षेत्रमा पुग्नुको धार्मिकमात्र होइन, भावनात्मक सम्बन्धको पेचकिल्ला पनि बन्नसक्छ ।
मोदीको यो भ्रमणले गत महिना प्रधानमन्त्री ओलीले भारत भ्रमणमा दुई पक्षबीच भएका सहमतिलाई सम्झौताका रूपमा अगाडि बढाउने कुरा त छँदैछ, यस भ्रमणकालमा उहाँका तीर्थयात्रा सूचीमा परेका जनकपुरधाम र मुक्तिनाथको भ्रमणले उहाँको तीर्थयात्राको धोको पूरा गर्ने मात्र नभई नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास गर्न सकिन्छ ।
जनकपुर राजा जनकद्वारा शासित प्राचीन मिथिलाको राजधानी हुनु तथा राजा जनककी सुपुत्री जानकी
(सीता) को विवाह त्यसबेलाको अयोध्या (भारत) का राजकुमार रामसित भएको धार्मिक मिथकले दुई देशलाई भावनात्मक सम्बन्धले गाँसेको छ । यसकारण भारतका हिन्दू धर्मावलम्बी मात्र होइन सम्पूर्ण भारतीय नागरिकका लागि जनकपुर निकै चासोको तीर्थस्थल रहिआएको छ । त्यसमाथि जानकी मन्दिर करिब एक शताब्दीभन्दा अगाडि भारतको टिकमगढकी महारानी बृषभानु कुमारीले त्यसबेलाको रु नौ लाखको लागतमा निर्माण गरेको इतिहास भएकाले स्वतः नै भारतीय दर्शनार्थी आकर्षित हुने तीर्थस्थल हो ।
प्रधानमन्त्री मोदीको भ्रमणक्रममै जनकपुर–अयोध्या बससेवा शुरुआत हुने तथा रामायण परिक्रमा पथमा जोडिने चर्चाले जनकपुर मात्र होइन सम्पूर्ण नेपालीमा उत्सुकता छाएको छ ।
जनकपुरको धेरै गरिमा भएर पनि जनकपुरको विकास हुन नसक्नु र अझ उजाडिँदै जानुको कारण खोज्न सक्नुपर्छ । विगतका राजनीतिक द्वन्द्वले सो गौरवपूर्ण शहर उजाडिँदै गएको धेरैले महसुस गर्दै आएका छन् । ठूलो शहर भइकन पनि सफा सुग्घर र सुव्यवस्थित नहुनुमा त्यहाँको स्थानीय निकाय÷तह तथा सरकारका विभिन्न निकायकै पनि दोष होला । तर जनकपुरलाई विवाहपञ्चमी र रामनवमीमा मात्र सम्झने स्थलको रूपमा मात्र नभई सदावहार रूपमा धार्मिक पर्यटकीय शहरको रूपमा विकास किन गर्न सकिएन ? के जनकपुरका नेताहरू काठमाडौँ (केन्द्र) का निर्णयक तहमा थिएनन् ? काठमाडौँ, धरान वा पोखराका बासिन्दा, अगुवाहरू नै उपस्थित भएर जनकपुरमा सफाइ चेतना र व्यवस्थित सडक बनाइदिनुपर्ने हो ? केन्द्रलाई मात्र दोष दिने वा अरूले नै हाम्रो ठाउँ राम्रो बनाइदिउन् भन्ने मानसिकता हट्नुपर्छ । नयाँ राज्य संरचनाअनुसार प्रदेश २ मा परेको छ जनकपुर । त्यहाँको प्रदेश सरकार बन्नुका साथै स्थानीय सरकार पनि क्रियाशील भएकाले उनीहरूले जनकपुरका विमार निको पार्दै लानुपर्ने आवश्यकता छ । प्रधानमन्त्री मोदीको भ्रमणमा धेरै भारतीय मात्र होइन, अन्तर्राष्ट्रिय चासो हुनु जनकपुरको पर्यटकीय विकासका लागि आशाको किरण हुनसक्छ तर यो अवसरलाई उपयोग गर्ने जनकपुरवासीले नै हो ।
प्रधानमन्त्री मोदीको अर्को गन्तव्य मुस्ताङको मुक्तिनाथ भ्रमणले मुक्तिनाथ क्षेत्रको विकासमा ठूलो योगदान पु¥याउने विश्वास गर्न सकिन्छ । हुन त मुक्तिनाथ पहिलेदेखि नै नेपालको एक प्रमुख गन्तव्यको रूपमा रहेको र आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको रूपमा परिचित छ । यो हिन्दूले पितृतर्पण गर्नैपर्ने ठाउँ मानिएको छ । बौद्धमार्गीका लागि पनि समान आस्थाकेन्द्र हो यो । धार्मिक यात्राका लागि मोदीले मुक्तिनाथ चाहनु यसैले हो यद्यपि यसको राजनीतिक, रणनीतिक उद्देश्य अर्कै हुन सक्ला । जे भए पनि मुक्तिनाथमा बढीभन्दा बढी भारतीय पर्यटक आकर्षण गर्न सकिएमा त्यसक्षेत्रको मात्र नभई देशकै समृद्धिमा योगदान पु¥याउन सक्ने सम्भावना छ । अहिले हवाईमात्र नभई सडकमार्गबाट पनि मुक्तिनाथ सहज पहुँचमा आइपुगेको छ । मुक्तिनाथमा भारतीय यात्रुलाई छोटो, सहज यात्रा बनाउन भारतीय पक्षले कालीगण्डकी कोरिडर वा सिद्धार्थ राजमार्गको सुधार विस्तारमा सहयोग पु¥याएमा सुनमा सुगन्ध हुने थियो ।
भ्रमणक्रममा भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री ओलीले सङ्खुवासभामा निर्माण हुने अरूण तेस्रो जलविद्युत् आयोजनाको संयुक्तरूपमा शिलान्यास गर्नु अर्को सुखद पक्ष हुनेछ । अरूण तेस्रो धेरै राजनीतिक किचलोले अलमलमा परेको नेपालको एक भाग्यविधाता हो । यो आयोजना बन्ने चर्चा चलेको बेलामै नेपाली हितमा बन्न सकेको भए आज हामी विद्युत्का लाग यति रोइकराइ गर्नुपर्ने अवस्थामा हुने थिएनौँ । तर ढिलै भए पनि ९०० मेगावाट क्षमताको आयोजनाको शुरुआत हुनु प्रदेश नं १ का लागि मात्र नभई समग्र राष्ट्रका लागि एक कोशेढुङ्गा हुनेछ भने यसको सफलताले नेपाल–भारत सम्बन्ध र सहकार्यलाई थप बढावा मिल्नेछ ।
भ्रमणक्रममा रक्सौल–काठमाडौँ रेलमार्ग निर्माण तथा नेपाल–भारत जल यातायात सञ्चालन तथा कृषिमा साझेदारीसम्बन्धी समझदारीलाई सम्झौताको रूप दिई कार्यान्वयन पक्षमा अघि बढ्नु नेपाली जनताका लागि चासोको कुरा बनेको छ । यी विषयमा ठूलो अर्थतन्त्रले सानो अर्थतन्त्रलाई उकास्ने गरी सहमति हुनुपर्ने अपेक्षा छ ।
प्रधानमन्त्री मोदी भ्रमणको सिलसिलामा वैशाख २८ गते जनकपुर हुँदै काठमाडौँ आउने र नेपाली पक्षसँग वार्ता गर्नुहुनेछ भने यसअघि भएका सहमति बारेका सम्झौतामा हस्ताक्षर हुने बुझिएको छ । वार्तामा नेपाल–भारत सहयोगका विभिन्न पक्षमा भएका विगतका सम्झौता कार्यान्वयनको पनि समीक्षा हुने विश्वास गरिएको छ । यस सन्दर्भमा नेपाल–भारत सहयोगका कतिपय आयोजना अघि बढ्न नसक्नुका कारण पहिल्याएर अघि बढ्नु आवश्यक देखिन्छ भने सीमा समस्या, सीमा क्षेत्रमा डुबानका समस्यालाई पनि समाधान गर्नेतर्फ अघि बढ्नु अत्यावश्यक छ ।
समग्रमा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणले नेपाल भारतबीच विगतमा भएका तीता अनुभूतिलाई बिर्साएर न्यानोपनको नयाँ युगमा लानेछ भन्ने अपेक्षा गर्न सकिन्छ । नेपाल–भारतबीच रहेका असमान सन्धि सम्झौता तथा नेपालका दःुख व्यथालाई दीर्घकालीन रूपमा समाधान गर्न भ्रमण सहयोगी बनोस् ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना