नेपाल–भारत सम्बन्ध .

nirmal k acharya_1निर्मलकुमार आचार्य

 

 

नेपाल भारत सम्बन्ध यतिखेर चर्चाको शिखरमा छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आजदेखि नेपालको दुई दिने राजकीय भ्रमण हुन लागेको सन्दर्भमा द्विदेशीय बहुआयामिक चर्चा, परिचर्चा हुनु स्वाभाविक हो ।
भारतीय प्रधानमन्त्री मोदीको यस भ्रमणलाई सांस्कृतिक तथा धार्मिक भनिएको छ । भारतीय प्रधानमन्त्री मोदी सीताभूमि जनकपुर, पशुपतिभूमि काठमाडौंँ र नारायणभूमि मुक्तिनाथ दर्शनार्थ पुग्ने कार्यक्रम रहेकाले यसो भन्न सकिए तापनि भ्रमण केवल यत्तिमै सीमित छैन । यो भ्रमण नेपाल भारतबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउन सफल हुनसकोस् भन्ने कामना पनि राखिएको छ । विगतका कतिपय कटुता मेट्ने उद्देश्यले नै यो भ्रमण हुन थालेको भनाइ पनि छ । यस भ्रमणका क्रममा नेपालमा रेल सञ्जालको विस्तार तथा जलमार्ग निर्माणमा विशेष निर्णय हुने र अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास हुने खबर पनि सार्वजनिक भएको छ ।
‘रामायण सर्किट’को उद्घाटन हुने र जनकपुर–अयोध्या बस सेवा प्रारम्भ गरिने भएको छ । ‘बौद्ध सर्किट’ झैँ रामायण सर्किटको पनि विशेष महìव छ नै । रामायण तथा बौद्ध सर्किटले दुवै मुलुकका जनतालाई आपसमा नजिक्याउन र पर्यटन प्रवद्र्धन गर्न मद्दत पु¥याउनेछ । भविष्यमा ‘पवित्र क्षेत्र सर्किट’ को अवधारणा पनि अगाडि बढाउन सकिन्छ । अत्यन्तै महìवको तीर्थ मानिने चार क्षेत्रमध्ये कुरुक्षेत्र र हरिहर क्षेत्र भारतमा रहेका छन् भने वराहक्षेत्र र मुक्तिक्षेत्र नेपालमा छन् । यी क्षेत्र दुवै मुुलुकका लागि पवित्र पावनभूमि हुन् ।
सांस्कृतिक, धार्मिक पक्षकै सन्दर्भ, सम्बन्ध र सम्भावनाको कुरो गर्ने हो भने यसमा नेपाल भारतबीच मात्रै होइन, चीनलाई समेत समेट्न सकिन्छ । विश्वनाथ–पशुपतिनाथ वा केदारनाथ–पशुपतिनाथ मात्रै होइन, शिवक्षेत्रमा मानसरोवर कैलाश स्वतः समेटिन पुग्छ । यसले नेपालको सदिच्छा अनरूप भारत चीनबीचको सम्बन्धलाई अग्ल्याउनेछ । बौद्ध दर्शनका हिसाबमा एसियाली तारा सिद्धार्थ गौतम, गुरु पद्मसम्भव आदिका योगदानले अर्को विस्तृत सर्किटको पनि सम्भावना देखाएको छ ।
आर्थिक, औद्योगिक, व्यापारिक तथा सामरिक हिसाबमा दु्रततर विकास गरिरहेका भारत तथा चीन छिमेकी हुनु नेपालका लागि गौरवको कुरो हो । दक्षिण तथा उत्तरतिरका देशबीच सम्बन्ध सुध्रिंदै गएमा नेपालले दुवैबाट लाभ लिई प्रगति गर्न सक्नेमा दुईमत छैन । यही भावनाले गर्दा नै भारत तथा चीनबीच नेपालले सेतुवत् भूमिकाको अपेक्षा गरेको हो । केरुङबाट आउने रेल र रक्सौलबाट आउने रेल दुवैलाई स्वागत गर्न नेपाल तम्तयार रहनुले पनि यही भावना प्रकट गर्छ । नेपाल आउनु पूर्व भारतीय प्रधानमन्त्री मोदीले चीन भ्रमण गर्नुभएको विदितै छ । दुवै देशबीच बढ्दो सम्बन्धले नेपाललाई सकारात्मक प्रतिफल दिने अपेक्षा राखिएको छ । अपेक्षा निराशामा परिणत भएको दुःखद दृष्टान्त समेत नरहेको चाहिं होइन । यसअघिको चीन भ्रमणमा भारतीय प्रधानमन्त्री मोदी तथा चिनिया राष्ट्रपति सी जिनपिङबीच सम्झौता गरिँदा नेपाललाई खबरै नगरी लिपुलेक सम्बन्धमा नाका सञ्चालनसम्बन्धी द्विपक्षीय सम्झौता भएको थियो । यसले नेपाल र नेपालीलाई हदैसम्म आघात पु¥याएको छ । नेपालप्रति साँच्चै दिलोज्यानले माया गर्ने हो भने दुवै देश भारत एवं चीनले त्यो सम्झौतालाई पुनरावलोकन गरी नेपाललाई लागेको चोटमा मलमको काम गर्नु जरुरी छ । यस दिशामा कूटनीतिक तवरबाट पनि अविलम्ब प्रयास हुनुपर्छ ।
नेपाल भारतबीच परापूर्वकालदेखि घनिष्ठ सम्बन्ध रहे तापनि बेलाबखत सम्बन्धमा उतारचढाव देखिएका छन् । पछिल्लो चरणकै उदाहरण लिने हो भने पनि प्रधानमन्त्रीका रूपमा भाजपा नेता नरेन्द्र मोदी २०७१ साउन १८ गते नेपाल भ्रमणमा आउनु हुँदाको जस्तो अवस्था अहिले छैन । भारतीय प्रधानमन्त्रीका रूपमा मोदीको यो तेस्रो नेपाल भ्रमण हो । यसअघि उहाँ १८ औँ सार्क शिखर सम्मेलनमा सहभागी हुन नेपाल (२०७१÷०८÷१०) आउनुभएको थियो । तिक्तताको मात्रा मेटिँदो क्रममा त छ तर नेपालको संविधान–२०७२ प्रति असन्तुष्ट भारतबाट करिब पाँच महिना अघोषित नाकाबन्दी लगाइँदाको घाउ अझै बिसेक भएको छैन । त्यसैले शङ्का, आशङ्काका बादल मेटिएको नदेखिनु स्वाभाविक हो । सामाजिक सञ्जाल आदिमा भइरहेका आलोचनालाई पनि नकारात्मक रूपमा लिइनुहुँदैन । चोट लाग्नेले ऐया त भन्छ नै साथै निन्दा पनि गर्छ । विगतका तमाम कटुता मेटाउन ठूलै छातीको आवश्यकता छ । मुखले मात्रै होइन, व्यावहारिक रूपमै अर्थपूर्ण कामको थालनी गरिएमा यो भ्रमण कोसेढुङ्गा साबित हुनेछ ।
चोट नाकाबन्दीको मात्रै छैन । दुई देशबीच सीमा विवाद अत्यन्तै चर्को छ । पारि बनाइएका तटबन्धले तेस्र्याउने गरेका बाढी, डुबानको समस्या तीव्र छ । विगतमा भएका असमान सन्धि, सम्झौता ज्वलन्त विषय बनेका छन् । हवाइ मार्ग, भारतसित नेपालको चुलिंँदो व्यापार घाटा, नेपाली कृषि उत्पादनको भारतीय बजारमा पहुँच जस्ता पक्ष पीडारहित हुनसकेका छैनन् ।
नेपाल होस् वा भारत दुवै अभिन्न छिमेकी देश भएकाले सम्बन्ध सुधार्नुको विकल्प कसैसित छैन । पाकिस्तान, चीन, भुटान, म्यानमार तथा बङ्गलादेशसित सीमा जोडिएको भारत नेपालको पूर्व, पश्चिम तथा दक्षिणमा रहेको छ । यसरी हेर्दा भूपरिवेष्टित नेपाल भारत परिवेष्टितसरह देखिन्छ । भूपरिवेष्टित राष्ट्रले पाउने सुविधासमेत नपाएको अवस्थामा नेपाल पिछडिन बाध्य भइरहेको यथार्थलाई सबैले स्वीकार्नैपर्छ । हुन त अहिलेको भ्रमणमा उठ्ने जलमार्ग मार्फत समुद्री पहुँचको पक्ष आशाजनक छ । हल्दिया र विशाखापत्तनमको समुद्री पहुँच दूरीका कारण नेपालका लागि उपयुक्त ठहरिनसकेको छैन ।
कोशीबाट गङ्गाको कालुघाटसम्म जलमार्ग उपलब्ध गराइएमा नेपाललाई थोरै दूरीमा समुद्री पहुँच उपलब्ध हुनेछ । भनिन्छ, विशाखापत्तनमको दूरी हजार किलोमिटर जति छ भने कालुघाटको दूरी दुई सय किलोमिटर जति छ । कोशी, गण्डकी र कर्णालीमा यसैगरी जलमार्ग सञ्चालन हुने तारतम्य जुट्नसके समुद्री पहुँचले नेपालको अर्थतन्त्रमा कायापलट हुने निश्चित छ । यसैगरी रक्सौल–काठमाडौं रेलमार्गको प्रसङ्ग पनि छ । रक्सौल–काठमाडौं रेलमार्ग होस् वा पूर्व–पश्चिम रेलमार्ग खुला हृदयले सहयोग गरिने हो भने यसले नेपालको विकासमा अपूर्व योगदान पु¥याउनेछ । बरु रेलमार्ग बनाइँदा समयसुहाउँदो रेलमार्ग र आधुनिक रेलको परिकल्पना गर्न चुक्नै नहुने देखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक भारत भ्रमण गर्नुहुँदा गरिएका १२ बुँदे सहमति अनुसार जलमार्ग, रेलमार्ग कृषिमा समझदारीको विषयलाई कार्यान्वयनको चरणमा अगाडि बढाउन यो भ्रमण सफल हुने ठानिएको छ । सहमति, सम्झौता गर्ने तर पूरा नगर्ने विगतको परिपाटी त्याज्य बनेको हेक्का रहेकै हुनुपर्छ । अन्यथा जतिसुकै बखान गरिए पनि मौखिक फूलले सुवास नदिनेमा विवाद रहोइन ।
नेपाल भारतबीच सम्बन्ध सुधार गर्नुपर्नेमा बिरलै विमति पाइन्छ । सुधारकै उद्देश्यले नै नेपाल भारत प्रबुद्ध समूह (ईपीजी) समेत गठन गरिएको हो । यो समूहले पटक, पटक बैठक बसी सम्बन्ध सुधारका दिशामा मार्ग पहिल्याउँदै बढेको पनि छ । आगामी असार महिनामा यो समूहको अवधि सकिने भएकाले यसले दिने प्रतिवेदनका आधारमा सम्बन्ध सुधारका काम हुनसक्छन् । ज्यादै विवादास्पद सन् १९५० को सन्धि लगायत विभिन्न सन्धि, सम्झौता, सहमतिको पुनरवलोकन, सीमा नाका लगायत विभिन्न विषय खुट्याउँदै प्रबुद्ध समूहले २१ औँ शताब्दी अनरूप द्विदेशीय सम्बन्धमा जोड दिने अपेक्षा गरिएको छ । समयानरूप अन्तर्राष्ट्रिय मूल्य, मान्यता अनुसार दुई देशबीच सम्बन्ध हुनुपर्छ नै । नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमिकता, स्वाधीनता र मुलुकको प्रतिष्ठालाई थोरै पनि असर नपर्ने गरी आगामी सम्बन्ध तय हुनुपर्ने भावना सम्बद्ध सबैतिरबाट उठिरहेका छन् ।
संस्कृति र धर्म गाँसिएका विषयवस्तु हुन् । सांस्कृतिक र धार्मिक दृष्टिमा नेपाल तथा भारत दुवै विपुल सम्पदासम्पन्न राष्ट्र भएकामा दुईमत छैन । सांस्कृतिक तथा धार्मिक भ्रमण भनिएको अहिलेको यो राजकीय भ्रमणले इन्डियाको होइन, भारतको मूल्य, मान्यता अनरूप नेपालसित सम्बन्ध विस्तार गर्न खोजेको हो कि भन्ने भान दिन्छ । इन्डिया र भारतबीच के फरक छ भन्ने कुरो यहाँ बेलिविस्तार लगाइरहनु परेन । ब्रिटिशकालीन इन्डियाको साँघुरो सोचबाट मुक्त नहोउन्जेल भारतीय आभा फैलन नसक्ने वास्तविकतालाई राम्ररी बुझ्नुभएका भारतीय प्रधानमन्त्री मोदीले नेपाल लगायत सबै छिमेकी देशलाई आश्वस्त तथा विश्वस्त तुल्याउँदै दुनियाकै प्रतिस्पर्धात्मक रङ्गमञ्चमा उत्रिनुपरेको अवस्था छ । यो क्षेत्रीय तथा अन्तर्राष्ट्रिय आवश्यकताका कारण पनि नेपालसित सम्बन्ध सुमधुर बनाउँदै लैजानु अपरिहार्य देखिन्छ । आपसी विश्वास र समझदारी दुवैतिर उत्तिकै आवश्यक छ । यत्ति हुनसके भावी दिन दुवै देशका लागि अत्युत्तम साबित हुनेमा सन्देह रहोइन ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना