सामूहिक कृषि लगानीबाट लाखौँ आम्दानी

vegभैरहवा, वैशाख २९ गते । पछिल्लो समय रूपन्देहीमा सामूहिक रूपमा कृषि क्षेत्रमा प्रवेश गर्ने व्यक्तिको सक्रियता बढेको छ । विभिन्न पेसा, व्यवसायमा आबद्ध व्यक्तिले पनि कृषि क्षेत्रमा फार्म स्थापना गरी राम्रो आम्दानी गर्दै आएका छन् । रूपन्देहीको सियारी गाउँपालिका–५ बैधौलीमा रूपन्देही कृषि फर्म स्थापना गरी सामूहिक रूपमा आम्दानी गर्दै आएका छन् । 

रूपन्देहीका विभिन्न पेसा तथा व्यवसायमा आबद्ध भएका व्यक्तिको लगानीमा रूपन्देही कृषि फर्म स्थापना भएको हो । प्राध्यापक डा. खगराज शर्मा, मेघदेव पन्त, पोमनारायण खनाल, हरि खनाल र युवराज घिमिरेलगायतको सक्रियतामा फर्म स्थापना गरिएको हो ।
५ बिघा क्षेत्रफमा माछापालन, ३ बिघामा मकै, बोडी, सिमी, टमाटरलगायतका तरकारीजन्य कृषि उत्पादन उत्पादन गरी बिक्री वितरण हुँदै आएको छ । विगत लामो समयदेखि प्राध्यापन पेसामा संलग्न रहनुभएका शर्माले कृषि व्यवसाय सबैभन्दा महìवपूर्ण भएका कारण यस क्षेत्रमा संलग्न भएको बताउनुभयो । कृषि क्षेत्रलाई नकारात्मक दृष्टिकोणबाट हेर्ने गरिएकोमा यसलाई परिवर्तन गर्नका लागि पनि यस क्षेत्रमा प्रवेश गरेको उहाँको भनाइ छ ।
पाँच बिघा जग्गा आफ्नै र तीन बिघा भाडामा लिएर कृषि फर्मको सुरुवात गरिएको हो । हाल बाख्रापालन, माछापालनदेखि लिएर अन्य तरकारीजन्य उत्पादनसमेत फर्मबाट हुँदै आएको छ । गतवर्ष मात्रै करिब २५ लाख रुपियाँ बराबरको माछा मात्रै बिक्री गरिएको थियो भने बोडी, मकै गरेर करिब २ लाख रुपियाँको बिक्री भएको थियो ।
मौरीसमेत पालन गरिएको फर्मबाट ७ लाख रुपियाँ आम्दानी भएको सञ्चालकको भनाइ छ । बोयर बाख्रामा स्थानीय जातको क्रस गरी करिब ५० वटा जति पालन गरिएको छ भने लोकल र लेयर्स कुखुरा हाल २ सयको सङ्ख्यामा रहेका छन् । त्यस्तै केही समयअघिसम्म माहुरी २० वटा घार रहेकोमा हाल १० वटा घार रहेका छन् । अन्य बिक्री भइसकेका छन् । पहिले हाँसपालनसमेत गरिएको फर्ममा अब केही समयपछि फेरि हाँसपालन सुरु गर्ने योजना रहेको फर्मका सञ्चालक शर्माले जानकारी दिनुभयो ।
सुरुवातमा साढे २ करोड लागतमा सुरु गरिएको फर्मको अहिले स्थिर पुँजी करिब ९ करोड रुपियाँ पुगेको छ । पोखरी निर्माणका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत सहयोग प्राप्त भएको थियो भने ६ वटा पोखरी हाल सञ्चालनमा रहेका छन् । कृषिका लागि ज्ञान केन्द्रका रूपमा विकास गर्नेगरी योजनाका साथ अगाडि बढाइएको सञ्चालक हरि खनालले बताउनुभयो ।
फर्मको व्यवस्थापन समेत हेर्दै आउनुभएका खनालका अनुसार माछामा रहुँ, नैनी, कमन कार्प, ग्रास कार्प, सिल्भर कार्प, बिगहेड कार्प जातका माछापालन गरिँदै आएको छ । किसानले प्रयोग गर्ने विद्युतीय मिटर दुईथरी भएका कारण किसान मर्कामा परेको सञ्चालक पोमनारायण खनालको भनाइ छ । माछा पोखरीलाई उद्योगअन्तर्गत राखिएका कारण किसानले पाउने सहुलियत पाउन नसकेको किसानको गुनासो रहेको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना