कायापलट होला एन्फाको ?

prajit shakyaप्रजित शाक्य

 

कर्मा छिरिङ शेर्पा अन्ततः नेपाल फुटबल सङ्घ (एन्फा) को नेतृत्व लिन सफल हुनुभएको छ । अन्ततः किन भन्नुप¥यो भन्दा शेर्पाले एन्फाभित्रको भ्रष्टाचार, अपरादर्शिता र सुशासनको नारा घन्काएर नेपाली फुटबलको सर्वोच्च संस्थामा परिवर्तन ल्याउँछु भनी अभियान थालेको सात वर्षभन्दा बढी नै भइसक्यो । साँच्चिकै भन्ने हो भने पूर्व अध्यक्ष गणेश थापाको कार्यशैलीको प्रमुख विरोधी हुनुहुन्छ शेर्पा । उहाँले थापाविरुद्ध आन्दोलन नै अगाडि बढाउनुभएको थियो । जसको नाम दिइएको थियो– एन्फा शुद्धीकरण अभियान । यस अभियानमा लाग्दा शेर्पा एन्फा उपाध्यक्ष पदबाट निलम्बित हुनुभयो । यद्यपि, उहाँको पुनःबहाली भएको थियो ।
गत शनिबार एन्फालाई शुद्धीकरण गर्छु, एन्फामा सुशासन ल्याउँछु, एन्फालाई पारदर्शी बनाउँछु भन्दै आउनुभएका सोही व्यक्ति शेर्पा नै अध्यक्षमा चुनिनुभएको छ । त्यसैले पनि शेर्पाको अहिले नेपाल खेलकुदमा चर्चा छ ।
नेपालका खेलकुद सङ्घमध्ये सबैभन्दा सशक्त र धनी संस्था हो एन्फा । यसैगरी, नेपालको सबैभन्दा लोकप्रिय खेल हो फुटबल । त्यसैले यस खेललाई नेपालमा प्रायोजकको कहिल्यै कमी भएन । यसबाहेक फिफाबाट वार्षिक रूपमा आउने लाखौँ डलरले पनि यस संस्थालाई धनी बनाएको छ । एन्फा आर्थिक र भौतिक रूपमा जति सबल छ, अन्य खेलकुद सङ्घ त्यसको छेउछाउमा पनि छैन । त्यसैले यस्तो लोभलाग्दो संस्थालाई हाँक्ने व्यक्ति पनि नेपाली खेलकुदमा सधैँ चर्चामा रहने नै भयो । तत्कालीन अध्यक्ष गणेश थापा यसको ज्वलन्त उदाहरण हो । भलै थापाले यस अवधिमा आफ्नो स्वच्छ छवि बनाउन सक्नुभएन ।
एन्फामा थापाको दुई दशकभन्दा बढी प्रत्यक्ष र अप्रत्यक्ष रूपमा दुई दशकभन्दा बढी राज चल्यो । प्रत्यक्ष भन्नाले एन्फामा थापा १९ वर्ष लगातार नेतृत्वमा रहनुभयो । यद्यपि, थापाको कार्यकालमा एन्फा प्रायः विवादित रह्यो । थापाले एन्फा सम्हालेको सो दुई दशकमा नेपाली राष्ट्रिय टोलीलै एउटा पनि अन्तर्राष्ट्रिय उपाधि हात पार्न सकेन । उल्टो थापा आफैँलाई देशभित्र ५८ करोड रुपियाँ भ्रष्टाचार गरेको आरोप लाग्यो । उमेर समूहमा बढी उमेरका खेलाडी खेलाइएकोमा पटक–पटक कारबाहीमा नेपाल प¥यो । नेपाल म्याच फिक्सिङ काण्डमै मुछियो ।
थापाको कार्यकालमा एन्फा पारदर्शी हुन सकेन । उहाँ अख्तियार अनुसन्धन दुरुपयोग आयोग र सार्वजनिक लेखा समितिको छानबिनमा पर्नुभयो । घरेलु छानबिनबाट उम्कने प्रयासमा रहेको बेला थापामाथि विश्वको सर्वोच्च फुटबल संस्था फिफाको इथिक्स कमिटीले पनि दोषी मान्यो । सन् २००९ मा एएफसी कङ्ग्रेस र सन् २०११ मा सम्पन्न फिफाको निर्वाचनमा घुस लिएको भन्दै दस वर्ष प्रतिबन्ध र करिब २१ लाख रुपियाँ जरिवाना गरेपछि थापाको फुटबलसँगको संलग्नता नै समाप्त भयो ।
थापाको स्थानमा एन्फाका वरिष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठ एन्फाको कार्यवाहक अध्यक्ष बन्नुभयो, जुन पद ग्रहण गरेको केही समयमै उहाँको असमायिक निधन भयो । ललितकृष्ण श्रेष्ठको निधनपछि अर्का उपाध्यक्ष नरेन्द्र श्रेष्ठमा एन्फा चलाउने जिम्मेवारी आयो तर एन्फामा प्रतिबन्धमा परेको गणेश थापाको अध्यक्ष पद र ललितकृष्ण श्रेष्ठको वरिष्ठ उपाध्यक्ष पद खाली भयो । एन्फामा चलिरहेको हुरीबतासलाई नजिकबाट नियालिरहेको फिफाले अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पदको निर्वाचन गर्ने आदेश दियो । सोअनुरूप बाँकी डेढ वर्षका लागि एन्फाको आकस्मिक चुनाव पनि भयो ।
विगतमा थापाको विकल्प नै नभएको जस्तो देखिने एन्फामा शेर्पा र नरेन्द्र श्रेष्ठ अध्यक्ष पदका लागि प्रतिस्पर्धामा उत्रिनुभयो । सो निर्वाचनमा श्रेष्ठलाई जिताउन प्रतिबन्धित थापाको पनि साथ थियो । श्रेष्ठकै प्यानलबाट थापाका साला मणि कुँवरको उपाध्यक्षमा उम्मेदवारीलाई यसले पुष्टि गरेको थियो । दुई दशकपछि एन्फामा अध्यक्षका लागि भएको चुनावमा श्रेष्ठ विजयी हुनुभयो । शेर्पा मात्र पाँच मतले पछाडि पार्नुभएको थियो । श्रेष्ठको जितसँगै थापाको संलग्नता अप्रत्यक्ष रूपमा कायमै रह्यो ।
यसपटकको निर्वाचनमा भने शेर्पालाई सबैको साथ प्राप्त भयो र एन्फाको नेतृत्व आफूले लिन सफल भयो । शेर्पाको जितबाट जति नै बाधाअड्चन आए पनि परिस्थिति जति नै प्रतिकूल भए पनि लक्ष्य प्राप्तिमा निरन्तर लागे सफलता अवश्य प्राप्त हुन्छ भन्ने सन्देश मिलेको छ । अब शेर्पाको नेतृत्वसँगै एन्फामा थापाको राज सकियो भन्दा फरक नपर्ला ।
एन्फाको १६ औँ साधारण सभाको निर्वाचनमा शेर्पाले ६३ र उहाँका प्रत्याशी मणि कुँवरले १२ मत प्राप्त गर्नुभएको हो । यसो त यसपालि एन्फा भित्र÷बाहिर रहेका अधिकांशले शेर्पालाई खुलेर समर्थन गरेपछि उहाँको जित्ने वातावरण पहिलो नै तयार भइसकेको थियो । त्यसैले अर्का उम्मेदवार कुँवुरको समूहले निर्वाचन विधानसम्मत नभएको भन्दै चुनाव रोक्न काठमाडौँ जिल्ला अदालतमा मुद्दा पनि दायर ग¥यो तर अदालतले अन्तरिम आदेश अस्वीकार गर्दै चुनावको पक्षमा निर्णय दियो । जसले गर्दा नैतिक दबाबमा पर्नुभएका कुँवरले निर्वाचन प्रक्रियामा भाग नलिने घोषणा गर्नुभएको थियो । उम्मेदवारी फिर्ता लिने समय सकिसक्दा कुँवरको दाबेदारी भने कायम रह्यो । यस घटनाक्रमले चुनावअघि नै शेर्पाको जित पक्का भइसकेको थियो । अनुमान गरेजस्तै चुनावमा शेर्पाको प्यानलनै विजय भएको छ ।
शेर्पाको टिमले कार्यभार सम्हालेको भोलिपल्ट नै आफ्नो केही योजना पनि सार्वजनिक गरिसकेको छ, जसमा सबैभन्दा महŒवपूर्ण निर्णय एन्फाको नयाँ टिमले ठप्प रहेको लिगलाई चाँडै सञ्चालन गर्ने प्रतिबद्धता हो । लिग घरेलु फुटबलको मेरुदण्ड हो । शेर्पाको टिमले चाँडै आफूले भनेजस्तो लिग गर्न सकेमा उहाँमाथि सबैको विश्वास बढ्ने छ ।
अब शेर्पाको आगमनसँगै नेपाली फुटबलको भविष्य बदलिएला त भन्ने यक्ष प्रश्न तेर्सिएको छ । शेर्पाले भनेजस्तै बेहाल रहेको नेपाली फुटबलको स्थिति तथा विकृति र विसङ्गतिको जालोभित्र रहेको एन्फाको कायापलट उहाँले गर्नुहुन्छ त ? विगतमा सामूहिकभन्दा व्यक्तिवादी चरित्र एन्फामा हाबी रह्यो । अब यस्तो स्थितिको अन्त हुन्छ ? यी सबैको जवाफ शेर्पा र उहाँको समूहले दिने छन् अथवा छैनन्, त्यो भविष्यले अवश्य देखाउनेछ तर अहिलेको समयमा भने नयाँ समूहबाट नेपाली फुटबलमा सकारात्मक परिवर्तन आउने र एन्फा ‘सिस्टम’ मा चल्ने आशा गरिएको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना