कृषिमा युवा : पुँजी र बजारले रोक्यो सफलता


सविता शर्मा

काठमाडौँ,  वैशाख ३१ गते । पछिल्ला वर्षहरूमा युवा उद्यमशीलताको विकास गर्ने विषय चौतर्फी रूपमा उठिरहेको छ, दर्जनौं सरकारी निकायले युवा उद्यमशिलताका नयाँ नारा, योजना र कार्यक्रम समेत बनाइरहेका छन् ।
तर कृषि क्षेत्रमा उद्यमी बन्न चाहने युवाले भने यी नारा र कार्यक्रमबाट खासै लाभ पाउन सकेका छैनन् । उल्टो गरिरहेको कामबाट पनि कतिपयले विस्थापित हुनुपर्ने हो कि भन्ने चिन्ताले सताउन थालेको छ ।
कृषि क्षेत्रमा भविष्य सुरक्षित होला नहोला विश्वासको वातावरण अझै बन्न नसकेको कतिपय युवा बताउँछन् । सीप र प्रविधिको ज्ञान भए पनि त्यसको प्रयोग गर्न अनुकूल वातावरण नबन्दा कृषि युवा उद्यमी उत्साही बन्न सकेका छैनन् ।
धादिङका गोकर्ण त्रिपाठी साना किसान विकास बैङ्कमार्फत् चार वर्षअघि कृषि पढ्न÷सिक्न इजरायल जानुभएको थियो । उताबाट फर्केर आधुनिक प्रणाली र परम्परागत दुवै शैली अपनाएर तरकारी खेती गरिरहनुभएको छ ।
आधुनिक प्रविधि जोडेर काम गर्दा उत्पादन त राम्रो हुन्छ तर सानो स्केलमा गर्दा आय भने राम्रो हुन सकेको छैन । ठूलो ‘स्केल’मा जानका लागि उताको जस्तो ‘सिस्टम’ यहाँ सम्भव छैन, व्यक्तिगत रूपमा केही गर्न सक्ने अवस्था छैन, उहाँले भन्नुभयो । Sunil-dhakal
इजरायलमा थोपा सिँचाई र कम खर्चबाट धेरै उत्पादन गर्ने तरिका सिक्नुभएका त्रिपाठी सीप प्रयोगका लागि नेपालमा अनुकूल वातावरण नभएको बताउनुहुन्छ । अनुकूल वातावरण र प्रविधिको प्रयोग गर्न पाए धेरै गर्न सकिने सम्भावना छ, उहाँले भन्नुभयो, ‘उताको पाँच प्रतिशत मात्रै सिस्टम पनि यता लागू गर्न सक्यौं भने पनि धेरै गर्न सकिन्छ ।
उहाँले बजार सहज नभइदिँदा कृषिमा लागेका युवाको भविष्य नै अनिश्चित भएको बताउनुभयो । मैले उत्पादन गरेको गोलभेंडा आधा मात्र बिक्री भयो, लौका र घिरौंला खासै बिकेन, लगानी उठ्ने वातावरण नभएपछि कसरी काम गर्नु ? उहाँले प्रश्न गर्नुभयो ।
साना किसान विकास बैङ्कले ‘लर्न एन्ड अर्न’ कार्यक्रममा विद्यार्थी÷प्रशिक्षार्थी पठाउन थालेको पाँच वर्षभन्दा बढी भइसकेको छ । छैठौं ब्याच पनि उता गइसकेको छ भने पाँचौं ब्याचसम्मका युवा कृषिसम्बन्धी तालिम लिएर स्वदेश फर्किसकेका छन् । सुरुका वर्षमा वार्षिक दुई सय ५० जना विद्यार्थी/प्रशिक्षार्थी पठाइएको भए पनि पछिल्ला वर्ष भने पाँच सय जनाको हाराहारीमा पठाउने गरिएको छ । हालसम्म दुई हजार १४० जना पढ्न र सिक्न गइसकेका छन् । त्यसमध्ये एक हजार छ सय स्वदेश फर्किसकेका छन् ।
साना किसान बैङ्कका प्रमुख व्यवस्थापक झलेन्द्र भट्टराईले उद्यम गर्ने धेरै युवासँग पर्याप्त पुँजी, जग्गा÷जमिन नभएको बताउनुहुन्छ । बैङ्कले पनि यो क्षेत्रलाई विश्वास गर्दैन । साना किसान बैङ्कको सीमितता छ, हामीले ठूलो लगानी गर्न सक्दैनौं, उहाँले भन्नुभयो ।
यसले सम्भावना हुँदाहुँदै पनि यो क्षेत्रमा सकारात्मक वातावरण बन्न नसकेको उहाँले बताउनुभयो । युवालाई कृषि क्षेत्रमा उद्यमशील बनाउने हो भने सरकारले सहजरूपमा वित्तीय तथा प्राविधिक सहयोग, बजारको सुरक्षा र मौसमको सुनिश्चितता तथा बिमाको व्यवस्था गर्नुपर्छ भट्टराईले सुझाव दिनुभयो ।
जग्गा भाडामा लिएर काम गर्न अफ्ठ्यारो छ, त्यसमा स्थायी संरचना बनाउन पाउने नपाउने लगायतका समस्या छन्, स्पष्ट ऐन÷कानुनको व्यवस्था छैन, उहाँले भन्नुभयो, कतै सिंचाई छैन, कतै उत्पादन खेर गइरहेको छ ।
उद्यमशिलता विधामा राष्ट्रिय युवा प्रतिभा सम्मानबाट सम्मानित मकवानपुरका तारा स्याङ्यातन सफल कृषि युवा उद्यमी हुनुहुन्छ । किबी र अग्र्यानिक तरकारी खेती गरिरहनुभएको स्याङ्तनले यो क्षेत्रमा लागेको पाँच वर्षभन्दा बढी भइसक्यो ।
एक करोडभन्दा बढीको जग्गा धितो राखेर डेढ करोड लगानी भइसकेको फार्मका लागि ऋण माग्दा सरकारी बैङ्कले पाँच÷सात लाख रुपियाँभन्दा बढी दिन मान्दैनन्, उहाँले गुनासो गर्नुभयो ।
कृषि ऋण वास्तविक किसानसँग पुगेको छैन । कमाउँदै थप लगानी गर्दै यो अवस्थासम्म आइपुगेको हुँ । सरकारी निकायको कहीँ कतै भूमिका छैन, धेरै बैङ्क धाउँदा पनि सकारात्मक प्रतिक्रिया पाइनँ, उहाँले भन्नुभयो ।
‘लर्न एन्ड अर्न’ कार्यक्रमबाट युवा किसान उत्साही भएको प्रमुख व्यवास्थापक भट्टराईले बताउनुभयो । युवाले साँच्चै नै गर्न सक्छन् भन्ने लागेको छ, युवामा देखिएको उत्साह देख्दा हामी पनि निकै उत्साही छौं, उहाँले भन्नुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना