नेपाली पत्रकारिता र समाज

mohan nepaliमोहन नेपाली

 

सूचना स्रोतहरूले दिएका विवादास्पद सूचना, आधिकारिक स्रोतहरूप्रति पहुँचको समस्या तथा पत्रकारहरूका आफ्नै आर्थिक सङ्कट, नैतिक तथा मानसिक विकासको स्तरजस्ता पक्षहरूले समाचार सम्प्रेषणमा प्रभाव पार्नु स्वाभाविकै हो । नेपाली पत्रकारहरूले आ–आफ्नो क्षमता र विवेकअनुसार गरेको कामले गर्दा नै विश्वका द्वन्द्वरत कैयौँ मुलुकहरूमा झैँ लाखौँको सङ्ख्यामा नरसंहार यहाँ हुन पाएनन् । यद्यपि, बुद्धभूमिमा १० वर्षमा १५ हजारको हाराहारीमा नेपाली मारिनु पनि निकै ठूलो क्षति हो । ०६३ को शान्तिप्रक्रियाको औपचारिक थालनीपछि पनि नेपालमा साम्प्रदायिक हिंसाको आगो लगाउने धेरै प्रयास भएकै हुन्, जात, धर्म र क्षेत्रको बहानामा । तैपनि, समग्रतामा नेपाली पत्रकारहरूले परम्परागत शैलीमै पत्रकारितालाई अगाडि बढाइरहंँदा पनि साम्प्रदायिक हिंसालाई सचेततापूर्वक निरुत्साहित पार्ने ढङ्गले नै काम गरेको तथ्यलाई बेवास्ता गर्न सकिन्न ।
विश्वका अन्य मुलुकका पत्रकारहरूमा झैँ नेपाली पत्रकारहरूमा पनि राजनीतिक, आर्थिक र सामाजिक पृष्ठभूमि र रुझानमा आधारित आ–आफ्नै किसिमको मनोढाँचा र राजनीतिक दृष्टिकोण हुनु स्वाभाविक हो । पत्रकारहरू जनजीवनमा महŒव राख्ने विषयवस्तुबारे यथासम्भव ताजा तथ्यहरूको खोजी र सङ्कलन गर्छन्, मापदण्डबमोजिमको ढाँचामा सामग्री तयार गर्छन् र जनसमक्ष प्रस्तुत गर्छन् । पत्रकारहरूको आफ्नै विषयगत गहनता, विश्लेषणात्मक क्षमता, भाषागत दक्षता एवम् जनसम्पर्कको खुबीजस्ता केही गुणहरूले पनि उनीहरूले खोजेर दिने सूचनाको गुणस्तरमा प्रभाव पार्छन् । त्यसैले, पत्रकारका क्षमता वृद्धिसम्बन्धी कार्यक्रमहरू नियमित प्रक्रियाकै रूपमा जारी रहन्छन् ।
तर, पत्रकारको क्षमता वृद्धि पनि समाजको क्षमता वृद्धिसँग सम्बन्धित हुन्छ । विद्यालय, कलेज, विश्वविद्यालय तथा कार्यस्थलमा जनता राम्ररी खारिने रणनीतिक वातावरण उपलब्ध छ भने त्यसको उर्वर प्रभाव पत्रकारहरूको पुस्तामा पनि पर्न जान्छ । पत्रकारिता र सामाजिक मनोविज्ञान निरन्तर एकार्कालाई प्रभावित पारिरहेका हुन्छन् ।
आफ्ना मनमा परेका छापहरू, विश्वासहरू र अवचेतन मनमा स्थापित लतहरूमा आधारित दृष्टिकोणबमोजिम नै मानिसमा फरक–फरक धारणाहरू बन्छन् र मानिसबीच भिन्नताको सिर्जना हुन्छन् । त्यसैले, मानिसले पत्रकारितासम्बन्धी भिन्दाभिन्दै धारणा बनाउनु पनि स्वाभाविक हो र यो पत्रकारिता र समाजबीचको अकाट्य सम्बन्धकै विषय हो ।
पत्रकारिता र समाजबीच अक्षुण्ण सम्बन्ध भएकाले नै वर्तमान युगमा एउटाको अस्तित्वविना अर्काको अस्तित्व कल्पना गरिन्न । त्यस्तै, पत्रकारिता र समाज एकले अर्काेलाई हेर्ने दुई आँखा हुन् । समाजले आफ्नो अनुहार पत्रकारिताको ऐनामा हेर्दछ भने पत्रकारिताले आफ्नो मुहार समाजको ऐनामा हेर्दछ । पत्रकारिताले समाजबाट प्राप्त कच्चा पदार्थलाई प्रशोधन गरी समाजलाई नै वितरण गर्दछ, जसका कारण समाजले पनि प्रशोधित हुने मौका पाउँछ । पत्रकारहरूका लागि विश्वमा लामो समयदेखि अनुभव र अध्यनबाट विकसित हुँदै आएका ढाँचा र शैली अवश्य महŒवपूर्ण हुन्छन् । तर, त्यत्तिकै महŒवपूर्ण विषयवस्तुको सार पक्ष पनि हुन्छ । कुनै पनि पुस्ताले पत्रकारिता क्षेत्रलाई ज्यादै सतही ढङ्गले नबुझोस् भन्नेतर्फ सचेत हुनैपर्छ । यो क्षेत्र प्रचारात्मक व्यवसाय त हो नि भन्ने भ्रम कसैमा पर्नुहुन्न । स्वयम् पत्रकारहरूको आफ्नो कामसम्बन्धी दृष्टिकोणले उनीहरूको अभ्यासलाई निरन्तर प्रभाव पारिरहेको हुन्छ ।
पत्रकारिता र लोकतन्त्र एक–अर्कालाई गतिशील बनाउने शक्तिहरू हुन् । आममानिस एकैपटक धेरै ठाउँहरूमा पुग्न सम्भव हुन्न । उनीहरूले अनेकप्रकारका सूचनाका स्रोतहरूप्रति पनि पहुँच राख्न सक्तैनन् तर पत्रकारिता क्षेत्रले आफ्नो विशिष्ट दायित्वकै रूपमा विविध ठाउँहरू र स्रोतहरूबाट सार्वजनिक महŒवका ताजा सूचना ल्याएर प्रविधिको प्रयोगद्वारा आममानिससमक्ष प्रस्तुत गरिदिन्छ । फलस्वरूप, एकै ठाउँमा बसी–बसी मानिस विविध विषयबारे अवगत हुन्छन् र वादविवाद गर्नुका साथै आ–आफ्ना धारणा र विश्लेषण बनाउन सक्ने हुन्छन् । मुख्यतः जनताका मुद्दाहरूको प्रतिनिधित्व गरेर नै पत्रकारिता क्षेत्रले आफ्नो औचित्य पुष्टि गरेको हो । बहुसङ्ख्यक जनताका जीवनमा महŒव राख्ने विषयवस्तुलाई सिद्धान्ततः पत्रकारिताले समेट्ने कारणले यसलाई स्थायी रूपमा जनताको प्रतिनिधित्व गर्ने क्षेत्रका रूपमा गणना गरिन्छ । संसद् नै नभएको बेलामा पनि पत्रकारहरूले सार्वजनिक मुद्दाहरूका आधारमा जनप्रतिनिधिको भूमिका निर्वाह गरिरहेका हुन्छन् । वास्तविक पत्रकार बन्नु भनेकै जनताको प्रतिनिधि बन्नु हो । प्रायसः पत्रकारहरूले सम्प्रेषित गरेका सूचानाकै आधारमा विभिन्न दलका निर्वाचित सांसदहरूले संसद्मा आवाज उठाउने गर्छन् । यसप्रकार, निर्वाचित दलीय प्रतिनिधिहरूले समेत पत्रकारितामार्फत प्रशस्त खुराक प्राप्त गर्ने गरेको तथ्य स्पष्ट छ ।
बजार अर्थतन्त्रको राप र चापको बीचमा नेपाली समाजलाई मानसिक रूपले समालोचनात्मक र विश्लेषणात्मक ढङ्गले तिखार्न नेपाली पत्रकारहरूले विषयवस्तुको प्रकृति र गुणस्तरलाई विशेष ध्यान दिनु उपयुक्त हुन्छ । सञ्चारका माध्यमहरू धेरै र पत्रकारको सङ्ख्या पनि बढ्दो तर सूचनाको स्रोत तथा विषयवस्तु उही हुने स्थितिले पत्रकारिता क्षेत्रमा पनि धेरै कठिन परिश्रम गर्नैपर्छ भन्ने सङ्केत गर्छ । तयारी सूचनाभन्दा उत्खनन गरेर प्राप्त गरेको सूचनाको महŒव धेरै गहिरो
हुन्छ । नजानेको तथ्य जान्न पाउँदा समाज खुसी हुन्छ । पत्रकारिता क्षेत्रले सार्वजनिक हितको पक्षमा सत्य उद्घाटित गरिदिँदा समाज यो क्षेत्रप्रति थप आभारी र सहयोगी बन्छ । त्यसैले, पत्रकारिता र समाजबीचको सम्बन्धलाई व्यावसायिक दृष्टिकोणबाट मात्र नहेरी मानवीयता, सामाजिक न्याय तथा मानवअधिकारको कोणबाट समेत आत्मसात् गर्नु आवश्यक छ । उत्साहजनक नै मानुपर्छ कि नेपाली पत्रकारिता आज नेताहरूको कथनमा मात्रै सीमित नभई विषयवस्तु र नीतिगत खोतलखातलतर्फ बिस्तारै अगाडि बढ्दै छ । सरोकारवाला पक्षहरूले आफ्नो समाजको यथार्थ तथा वस्तुगत विश्लेषण गरी ठोस नीति निर्माण गर्न आवश्यक सूचना प्राप्त गरून् भन्ने हेतुले नीतिगत समाचार र विश्लेषणलाई अझै पर्याप्त ठाउँ दिनु आवश्यक देखिन्छ ।
सञ्चार मन्त्रालयका अनुसार नेपालमा चैत २०७४ सम्ममा ८५७ वटा एफएम रेडियो स्टेसनहरू तथा १२३ वटा टीभी च्यानलहरूले लाइसेन्स प्राप्त गरेका छन् । हजारौँ पत्रपत्रिका तथा अनलाइन पोर्टलहरू समेत दर्ता भएको सन्दर्भलाई विचार गर्दा सञ्चारमाध्यमका लागि हामी धनी छौँ भन्ने अर्थ लाग्छ । तैपनि, क्रियाशील सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको क्षमता वृद्धि गर्ने र तिनलाई नेपालको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणतर्फ परिचालन गर्ने प्रश्न भने रणनीतिक एवम् योजनाबद्ध ढङ्गले सम्बोधन हुन सकेको छैन । सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनतर्फ अगाडि बढेको नेपाली समाजमा पत्रकारिताको परम्परागतभन्दा पनि नवीन तथा खोजपूर्ण पत्रकारिताको भूमिका बढी अपेक्षित हुनु स्वाभाविकै हो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना