भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण

suresh acharya_1डा. सुरेश आचार्य

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो एक कार्यकालमा नेपालको तेस्रोपटक भ्रमण गरेर इतिहास कायम गर्नु भएको छ । उहाँको यो भ्रमणले असल छिमेकी सम्बन्ध कायम गर्न खोजेको देखिन्छ । उहाँको पहिलो भ्रमणले नेपाली नागरिकमा भारतीयप्रति खासगरी मोदीप्रति जुन सदभाव प्राप्त गरेको थियो, दोस्रो भ्रमणमा उहाँले त्यति धेरै उत्साह भर्न सक्नुभएन । उहाँ पूर्व निर्धारित क्षेत्रमा पनि जानुभएन । पहिलो भ्रमण सकेर फर्कदा उहाँले तीन महिनापछि आउँदा जनकपुर र लुम्बिनीको भ्रमण गर्ने बताउनुभएको थियो । तर उहाँ ती क्षेत्रमा जानुभएन ।
पहिलो र दोस्रो भ्रमणमा गरेको नेपालप्रतिका प्रतिबद्धता मोदीले पूरा गर्नुभयो कि गर्नुभएन भनेर शायद यसपटक खोजिने थियो । तर त्यस्तो हुन सकेन । मधेशी दलका नाममा भएको आन्दोलनमा नेपालमा नाकाबन्दी गरेर मोदीले जे गर्नुभयो, त्यो नेपाली नागरिकले लामो समयसम्म भुल्न नसक्ने घटना बन्यो । जनकपुरदेखि काठमाडौँसम्म र राष्ट्रपतिदेखि राजनीतिक दलका नेतालाई भेट्दासम्म उहाँले त्यो घटनाप्रति विष्मय प्रकट गर्नुभएन । उहाँले कूटनीतिक रूपमा नै भए पनि त्यो भारतको कमजोरी थियो भन्न सकेको भए शायद यो भ्रमण उहाँका प्रति आत्मीयता जगाउन सफल हुने थियो । त्यो प्रयत्न पनि उहाँले गर्नु भएन । यद्यपि, नेपाली अझ खासगरी हिन्दू संस्कृतिमा अतिथि देवो भवः को संस्कारका कारण मोदीले त्यस्तो कुनै अप्रिय प्रतिक्रिया झेल्नु परेन ।
मोदीले नेपाली र मैथिली भाषामा बोलेर भावनात्मक सम्बन्ध गाँस्ने प्रयत्न गर्नुभएको छ । पहिलोपटक आउँदा एउटा नेपाली केटोलाई घरमा काम लगाएर राखेको विषयले नेपालीप्रतिको सद्भाव व्यक्त गर्न उहाँलाई जति सघाएको थियो, नयाँ बानेश्वरमा ओर्लेर नेपाली नागरिकसँग हात मिलाउँदा उत्पन्न सद्भाव जति उत्कर्षमा थियो, त्यो आत्मीयता नेपाली नागरिकले देखाउन सकेनन् । बुद्ध नेपालमा जन्मेका हुन् भन्ने तथ्य उहाँले पहिलो भ्रमणमा संविधानसभालाई सम्बोधन गर्ने क्रममा नै स्वीकार गर्नुभएको थियो तर भारतका कुनै ऐतिहासिक दस्तावेज वा पाठ्य सामग्रीमा कतै यो तथ्य सच्याइएको जानकारी नेपालीले पाएका छैनन् । यसपटक फेरि मोदीले बुद्धको जन्मभूमिसमेत भनेर लुम्बिनी जाने चाहना व्यक्त गर्नुभएको थियो ।
यसपटकको मोदीको भ्रमण मूलतः धार्मिक यात्रा देखियो । नेपाललाई हिन्दू राज्य कायम गर्न भारतको प्रयत्न रहनेछ भन्ने सन्देश दिन यो भ्रमण सफल भएको छ । उहाँले राजनीतिक विषयमा भन्दा धार्मिक यात्रामा नै बढी समय व्यतीत गर्नुभएको छ । यद्यपि, विगतमा झैँ राजनीतिक भेटघाटलाई पनि उहाँले निरन्तरता दिनुभएको छ । नेपाल सरकारले मोदीको यो भ्रमण धेरै दृष्टिले ऐतिहासिक र सम्झनलायक रहेको बताएको छ । नेपाल भारतबीचमा रहँदै आएको सम्बन्धमा कुनै समय समस्या थियो भन्ने सन्देश दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भन्नुभएको छ ः यो भ्रमणपछि नेपाल भारतबीच रहँदै आएको सम्बन्ध अझ सुदृढ बन्ने नेपाल सरकारको विश्वास छ । विगतमा भएका दुईपक्षीय समझदारीको कार्यान्वयनको समय सीमा तोकिनुलाई सकारात्मक रूपमा लिँदै आगामी सेप्टेम्बरसम्म नेपालले उठाएका विषय प्रभावकारी रूपमा कार्यान्वयन गर्ने समझादारी भएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिनुभएको छ । मन्त्री ज्ञवालीले रेलवे, जलमार्ग र कृषिमा सहयोग गर्नुभएको सहमतिमा ठोस प्रगति हुने गरी निर्णय भएको पनि बताउनुभएको छ ।
भारतीय प्रधानमन्त्री मोदीले पनि नेपाल भ्रमण फलदायी भएको टिप्पणी गर्नुभएको छ । नेपालबाट प्रस्थान गर्दैगर्दा मोदीले ट्वीट गर्दै भन्नुभएको छ ः मेरो नेपाल भ्रमण ऐतिहासिक रह्यो । यस भ्रमणले मलाई नेपाली जनतासँग आत्मीय हुने ठूलो अवसर प्रदान ग¥यो । प्रधानमन्त्री केपी ओलीसँगको छलफल धेरै फलदायी रह्यो । लगत्तै अर्को ट्वीट गर्दै उहाँले लेख्नुभयो ः यस भ्रमणबाट नेपाल भारत सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ । म नेपाली जनता तथा नेपाल सरकारले देखाएको न्यानोपनका लागि आभार प्रकट गर्छु । यसबाहेक पनि उहाँले नेपालमा रहँदा नेपाल र नेपालीको हितका लागि जुनसुकै सहयोग गर्न तयार रहेको बताउन छोड्नु भएन । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा भनेको समृद्ध नेपाल र सुखी नेपालीको नारालाई पटकपटक दोहो¥याउँदै उहाँले नेपालमा यस्तो सम्भावना उज्जवल रहेको बताउनुभयो । उहाँले भन्नुभयो ः ‘नेपाल आफ्नो आवश्यकता र प्राथमिकताअनुसार अगाडि बढोस् । तपाईंको सफलताका लागि भारत सधँै नेपालसँग काँधमा काँध मिलाएर हिँड्न तयार छ । ’ यसको थप व्याख्या गर्दै पर्वतारोहीलाई सगरमाथा चढ्न शेर्पाले सघाएको प्रतीकात्मक उदाहरण दिँदै भन्नुभयो – ‘तर, लक्ष्य अझै टाढा छ । एक प्रकारले हामी सगरमाथाको बेसक्याम्पमा पुगेका छौँ र शिखर चढ्न बाँकी नै छ । जसरी पर्वतारोहीले नेपालका शेर्पाको साथ समर्थन पाउँछन्, त्यसरी नै नेपालको यो विकास यात्रामा भारत तपाईंका लागि शेर्पाको काम गर्न तयार छ । ’
एउटा छिमेकीले योभन्दा बढी भन्ने ठाउँ पनि छैन । मोदीले यो भनिरहँदा हरेक नेपालीको मनले मोदीको अन्तर मन बुझ्ने प्रयत्न गरिरह्यो । मोदीमा यो उदात्त भावना हुन्थ्यो भने हिजोका प्रतिबद्धता पूरा गर्नेतर्फ भारत सक्रियताका साथ लाग्नु पथ्र्यो । कतिपय कुरा नेपालको कर्मचारीतन्त्रका कारण पनि ढिला भएको हुन सक्छ तर नाकाबन्दी नै लगाउनु अघि मोदीले नेपाली नागरिकले देखाएको सदाशयता र सम्मानको थोरै पनि किन स्मरण गर्नुभएन भन्ने प्रश्न हरेक नेपाली मनमा उब्जिरह्यो । उहाँले नेपालीसँग आत्मीयता बढाउन सफल भएँ भनिरहँदा फेरि पनि नेपाली मन कुँढिएकै छ, शङ्कामा परेकै छ । के मोदी आफूलाई सच्याएको देखाउन नेपाल आउनु भएको हो ? त्यसो हो भने किन उहाँले नाकाबन्दीलाई कुनै पनि रूपमा स्मरण गरेर कमजोरी थियो भन्ने सक्नुभएन ? मोदीले नेपाली मन जित्न व्यवहारमा परिवर्तन गरेर देखाउनु पर्नेछ । तर नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बलियो साझेदारी गर्न चाहेको सन्देश दिएर मोदीले ओलीको मनचाहिँ जितेको देखिएको छ । यी उहाँ प्रधानमन्त्री ओली हुनुहुन्छ, जो नेपालका खासगरी भारतविरोधी भावनाको उपयोग गर्दै सत्तामा पुग्नुभएको छ ।
भारतीय प्रधानमन्त्री मोदी दोस्रोपटकको नेपाल भ्रमणका क्रममा जनकपुर जान चाहानुहुन्थ्यो तर उसबेला विभिन्न कारणले सम्भव भएन । त्यसैले उहाँले यो पटक नेपालको प्रवेश नै जनकपुरबाट गर्नुभयो । यो जानकी मन्दिरमा पूजाअर्चनाका लागि मात्र थिएन । उहाँ जसरी काठमाडौँबाट मुक्तिनाथ जानुभयो, उसरी नै जनकपुर जान असम्भव थिएन । तर भर्खरै बनेको मधेश केन्द्रीत प्रदेश नम्बर २ को राजधानी जनकपुरबाट नेपाल प्रवेश गरेर मोदीले राजनीतिक अर्थ पनि दिन खोज्नुभएको छ । मधेशलाई सङ्घीय सरकारले कसरी बुझ्ने भन्ने सन्देश दिन यो भ्रमण सफल भएको छ । अर्कातिर मधेशले कुनै समय निषेध गरेका प्रधानमन्त्री ओलीलाई मोदीको स्वागतका नाममा जनकपुर पुग्ने अवसर प्राप्त भएको छ । यद्यपि, सरकारका तर्फबाट मोदीलाई स्वागत गर्न रक्षामन्त्री ईश्वर पोखरेल पुग्नुभएको थियो । जनकपुरमा ओलीको पूजा अर्चनाको कुनै ठूलो कार्यक्रम थिएन । प्रधानमन्त्रीको हैसियतमा मोदीको स्वागत गरिरहँदा ओलीले मोदीकै रूपको पोशाक लगाएर मोदी र मधेशसँग एकैपटक नाता जोड्न खोजेको समेत देखियो ।
भारतीय प्रधानमन्त्री मोदीलाई नेपाली नागरिकसँगको सम्बन्ध पुनस्थार्पित गर्न सहज छैन । नाकाबन्दीका कारण भारत र मोदीप्रति नेपाली मनमा ‘भारत विरोधी भावना’ अद्यापि बढेकै छ । भारतको यो यस्तो कूटनीतिक असफलताको समाधानका लागि उहाँले धार्मिक यात्रालाई अगाडि सार्नुभयो । भारत र मोदीको नेपाली नागरिकसँगको सम्बन्धमा एक प्रकारको अप्ठ्यारोपन अझै प्रष्ट देख्न सकिन्छ । पञ्चेश्वरमा ठगिएको अनुभूत गरेका नेपालीलाई आयोजना सफल बनाएर राहत दिने काम गर्नुको सट्टा आयोजनालाई नै बीसौँ वर्षदेखि अड्काएर राखिएको छ । नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो अरुण जलविद्युत् आयोजनाको शिलान्यास भइरहँदा भारतप्रति सकारात्मक भावना बन्न सकेको छैन । ओली र मोदीको सम्बन्ध सुधार भइरहँदा भारतीय र नेपाली नागरिकको भावनात्मक सम्बन्ध पनि सुधारिनु आवश्यक छ । मोदीलाई पहिलो र दोस्रोको तुलनामा तेस्रो भ्रमण निकै महँगो परेको छ । अब भाषणमा होइन, व्यवहारमा मोदीले नेपाल भारतबीचको सुमधुर सम्बन्ध प्रमाणित गर्ने समय आएको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना