मदन–आश्रित देनको उच्च स्मरण


लक्की चौधरी

काठमाडौँ, जेठ ३ गते । नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको योगदानले अहिलेको कम्युनिस्ट आन्दोलन फस्टाएको भन्दै दुवैजना नेताको देनको अहिले उच्च स्मरण गरिएको छ । वि.सं. २०५० जेठ ३ गते नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने दासढुङ्गामा रहस्यमय जिप दुर्घटनामा परेर भण्डारी र आश्रितको निधन भएको थियो । बिहीबार पर्ने २५औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा कम्युनिस्ट नेता तथा विश्लेषकहरूले दुवैको योगदानलाई सम्झँदै उहाँहरूले देखाएको बाटोमा थप उपलब्धिका लागि लाग्नुपर्ने बताउनुभएको छ ।
विश्वबाट कम्युनिस्ट आन्दोलन शिथिल र खुम्चिँदै गएका बेला नेपालमा कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउने विचारकका रूपमा मदन भण्डारी र कुशल सङ्गठकका रूपमा जीवराज आश्रितले भूमिका खेल्नुभएकाले नै आजको कम्युनिस्ट आन्दोलन नेपालमा सबैभन्दा बलियो भएको बुझाइ विश्लेषकहरूको छ । स्मृति दिवसको अवसरलाई माल्यार्पण र भाषणमै सीमित नगरी उहाँहरूले देखाएको बाटो तय गर्नु र वैचारिक तथा सैद्धान्तिक पाटोलाई व्यवहारमा उतार्नुले नै दुवैप्रति वास्तविक श्रद्धाञ्जलि हुने विश्लेषकहरूको सुझाव छ । Madan-Bhandari-and-Jibraj-Ashrit
एमाले नेता भरतमोहन अधिकारी आफूले कम्युनिस्ट आन्दोलनमा ६० वर्ष बिताएको स्मरण गर्दै यस अवधिमा मदन भण्डारीजस्तो विचारक र आश्रितजस्तो कुशल सङ्गठक नदेखेको बताउनुहुन्छ ।
“जनचाहनाअनुरूप मुलुकको विकास गर्न लोकतान्त्रिक प्रक्रिया नै सही बाटो हो भन्ने सिद्धान्तलाई बलियोसँग अगाडि बढाउनुहुने तत्कालीन कम्युनिस्ट महासचिव भण्डारी र सङ्गठन प्रमुख आश्रितको स्मृति दिवसलाई माल्यार्पण र भाषणमै सीमित गरियो भने उहाँहरूप्रति अन्याय हुन जान्छ”, नेता अधिकारीले भन्नुभयो, “मदन भण्डारीले देखाउनुभएको सही बाटो र आश्रितले निर्वाह गर्नुभएको कुशल सङ्गठकको भूमिकाबाट पाठ सिकेर अहिलेको कम्युनिस्ट दललाई अगाडि बढाउन सक्नु नै उहाँहरूप्रति सच्चा श्रद्धाञ्जलि हो । ”
वाम विश्लेषक मुमाराम खनालले मदन र आश्रितको दुःखद निधनले कम्युनिस्ट आन्दोलनलाई ठूलो झट्का लागे पनि कम्युनिस्टहरू उहाँहरूकै बाटो पछ्याएर सफलतामा पुगेको बताउनुभयो । कम्युनिस्ट आन्दोलनलाई बहुदलीय प्रतिस्पर्धामार्फत लोकतान्त्रिकीकरण गर्नुपर्छ भन्ने मुख्य बाटो तय गर्ने भूमिका भण्डारीको रहेको स्मरण गर्दै खनालले भन्नुभयो, “अहिलेको अवस्थामा मदन र आश्रितलाई सम्झनु कम्युनिस्ट शक्तिहरूको प्रमुख दायित्व हो । उहाँहरूको योगदानबिना अहिलेको कम्युनिस्ट आन्दोलन सम्भव नै थिएन । ”
वाम विश्लेषक श्याम श्रेष्ठले पनि कम्युनिस्ट दलले अहिलेको उचाइ कायम गर्नुमा मदन भण्डारीको सैद्धान्तिक र वैचारिक योगदानलाई नकार्न नसकिने बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना