बीस वर्ष पुराना सवारी विस्थापन


लक्ष्मण दर्नाल

काठमाडौँ, जेठ ३ गते । यातायात व्यवस्था विभागले २९५ वटा २० वर्ष पुराना सार्वजनिक सवारीसाधनको लगत कट्टा गरेको छ । यसैगरी, ७९ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका गाडीको पनि लगत कट्टाको प्रक्रियामा लगेको छ ।  गत चैत १ गतेदेखि २० वर्ष पुराना सार्वजनिक सवारीसाधन चलाउन नपाइने व्यवस्था गरी विभागले देशभर अनुगमन गर्दैआएको छ । २० वर्ष पुराना सार्वजनिक सवारीसाधनलाई बन्द गर्ने सरकारको निर्णय अनुसार सो अभियान सञ्चालन भइरहेको छ । jam
विभागका अनुसार नियन्त्रणमा लिइएका सार्वजनिक सवारीको कर चुक्ता गरी इन्जिन नम्बर नष्ट गरी लागत कट्टा गरिएको छ । हालसम्म यातायात व्यवस्था विभाग मेची अञ्चल कार्यालयले पाँचवटा गाडी नियन्त्रणमा लिएको छ । कोसीले २६ वटा गाडी नियन्त्रणमा लिएको छ भने आठ वटाको लगत कट्टा भइसकेको छ । पाँचवटा लगत कट्टाको प्रक्रियामा रहेको विभागका प्रवक्ता तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।
त्यस्तै, सगरमाथा अञ्चल कार्यालयले दुईवटा २० वर्ष पुराना सार्वजनिक सवारी नियन्त्रणमा लिएकोमा एउटाको लगत कट्टा भइसकेको छ । जनकपुरमा दुईवटा सवारी नियन्त्रणमा लिइएकोमा दुईवटै सवारीका धनी लगत कट्टा प्रक्रियामा आएका छैनन् । नारायणीबाट सातवटा सवारी नियन्त्रणमा छन् । १४ वटा सवारीले लगत कट्टा गरिसकेका छन् भने दुईवटा प्रक्रियामा रहेको विभागले जनाएको छ ।
गण्डकीबाट हाल १८ वटा गाडी नियन्त्रणमा छन् । १८१ वटा गाडीको लागत कट्टा गरिएको छ भने १० वटा लगत कट्टा प्रक्रियामा रहेका छन् । धौलागिरिमा हालसम्म एउटा गाडी पनि नियन्त्रणमा लिइएको छैन । लुम्बिनीमा पाँचवटा गाडी नियन्त्रणमा छन् भने ३४ वटाले लगत कट्टा गरिसकेका छन् । भेरी अञ्चलमा चारवटा नियन्त्रणमा छन् भने आठवटाले लगत कट्टा गरिसकेका छन् । राप्तीमा दुईवटा नियन्त्रणमा लिइएको छ भने एउटाको पनि लगत कट्टा भएको छैन ।
सेती अञ्चल कार्यालयले हाल एउटा पनि नियन्त्रणमा लिएको छैन तर ४० वटा गाडीले लागत कट्टा गरेका छन् । महाकालीमा छवटा नियन्त्रणमा छन् भने चारवटाले लागत कट्टा गरिसकेका छन् र दुईवटा प्रक्रियामा रहेको विभागले जनाएको छ । कर्णालीमा अहिलेसम्म एउटा गाडी पनि नियन्त्रणमा लिइएको छैन ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना