मातृभाषा पत्रकारिता विकास गर्न १० बुँदे घोषणापत्र

patrakar 2 (1)(2)_1
गोरखापत्र समाचारदाता-
काठमाडौं, जेठ ३ गते । मातृभाषा पत्रकारिताको विकास गर्न १० बुँदे घोषणापत्र जारी गर्दै मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न भएको छ ।
यहाँस्थित नेवाः पत्रकार राष्ट्रिय दबूद्वारा आयोजित सम्मेलनमा २६ वटा भाषिक पत्रकारिता सम्बन्धी कार्यपत्रको निष्कर्ष सहित उक्त घोषणापत्र जारी गरेको हो ।
घोषणापत्रमा नेपाली सञ्चार जगत्मा आदिवासी जनजाति पत्रकारितालाई सम्बद्ध पक्षले आत्मसात गर्दै समाधान गर्ने दिशातिर उन्मुख हुनुपर्नेमा जोड दिइएको नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनले जानकारी दिनुभयो ।
उक्त घोषणापत्रमा नेपालमा ९३ वर्षदेखि निरन्तर रुपमा सञ्चालित मातृभाषा पत्रकारिताको लहरलाई राज्यले समय सापेक्ष समानुपातिक र समानताका आधारमा अनुदान वितरण गर्न ध्यानाकर्षण गरिएको छ । राज्यले राष्ट्रिय स्तरमा प्रत्येक वर्ष मातृभाषा पत्रकारिता दिवस आयोजना गर्न जोड दिइएको छ ।
राज्यको संरक्षण, प्रोत्साहन, प्राथमिकताको सूचीमा समावेश गर्न सकिए मातृभाषा पत्रकारिताको विकास हुने अध्यक्ष महर्जन बताउनुहुन्छ ।‘‘नेपाली सञ्चार माध्यमको अन्तर्वस्तुमा नेपालको विविधता प्रतिविम्बित हुनुपर्ने र त्यसका लागि समाचारकक्षमा आदिवासी जनजाति समुदायको समानुपातिक प्रतिनिधित्व हुनुपर्दछ ।’’ घोषणापत्रमा उल्लेख छ ।
घोषणापत्रमा पत्रकारितालाई समानता र सामाजिक न्याय, पहिचानका लागि आदिवासी जनजातिले गर्दै आएको आन्दोलनको अभिन्न अङ्गका रूपमा आत्मसात् गरिनुपर्ने, आदिवासी जनजाति सञ्चार पहलका लागि विशेष सुविधा तथा प्रोत्साहनको व्यवस्था हुनुपर्ने उल्लेख गरिएको छ ।
सम्मेलनलाई काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गर्नुभएको थियो । संघीय संरचनामा मातृभाषाको पत्रकारितालाई राज्यले प्रर्वद्धन गर्ने नीति तर्जुमा गराउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको दबूका उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले जानकारी दिनुभयो ।
सम्मेलनमा प्रस्तुत कार्यपत्रमा विविध भाषाको पत्रकारिताको इतिहास, समस्या, समाधान र राज्यको दायित्व विषयमा कार्यपत्रहरु केन्द्रित रहेको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना