सुरुङमार्ग निर्माणमा प्रदेश सरकारको चासो


भउचप्रसाद यादव

काठमाडौंँ, जेठ ४ गते । काठमाडौँ– हेटौँडा सुरुङमार्ग निर्माण गर्न प्रदेश ३ को सरकारले चासो देखाएको छ । सुरुङमार्ग निर्माणको अनुमति पाएको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपीबीसीएल) ले परियोजनालाई अघि नबढाएपछि प्रदेश सरकारले परियोजना निर्माणको प्रस्ताव अघि बढाएको हो ।
प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले अब सुरुङमार्ग प्रदेश सरकारले नै निर्माण गर्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो । ‘हामी पहिले सुरुङमार्ग निर्माणको जिम्मेवारी पाएको कम्पनीसँग छलफल गर्छौं, उहाँहरूको प्राथमिकता र योेजना के छ बुझेर प्रदेश सरकारले सुरुङमार्ग निर्माणलाई अगाडि बढाउँछ, उहाँले भन्नुभयो । उहाँले सुरुङ मार्ग निर्माण प्रदेश सरकारको प्राथमिकतामा रहेको समेत जानकारी दिनुभयो । उहाँले भन्नुभयो, अब कुनै पनि बहानामा सरकारले विकासमा विलम्ब सहँदैन् । प्रदेश सरकारको बजेटमा समेत सुरुङमार्ग निर्माण उच्च प्राथमिकतामा रहने मन्त्री ढुङ्गेलले जानकारी दिनुभयो ।
भूबनोटका दृष्टिले पनि काठमाडौँलाई हेटौँडासम्म जोड्न सुङ्गमार्ग उपयुक्त विकल्प भएको समेत उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, अब झोलामा खोला र योजना बोकेर हिँड्ने जमाना गयो, कि काम गर्नुपर्छ कि छोड्नुपर्छ । मन्त्री ढुङ्गेलले योजना हात पार्ने तर वर्षांैसम्म सिन्को समेत नभाँच्ने प्रवृत्तिको अन्त्य सरकारले गर्ने दाबी समेत गर्नुभयो ।
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पदभार ग्रहण गर्दा समेत सुरुङमार्ग निर्माणलाई सरकारको प्राथमिकतामा राख्ने घोषणा गर्नुभएको थियो । उहाँले आफ्नै पालामा हेटौँडा–काठमाडौँ सुरुङमार्ग निर्माणले पूर्णता पाउने दाबी समेत गर्नुभएको थियो । निर्माणको अनुमति पाए पनि एनपीबीसीएलले अहिलेसम्म वित्तीय स्रोतको व्यवस्थापथ गर्न सकेको छैन । कम्पनीले वातावरण प्रभाव मूल्याङ्कन(इआईए) प्रतिवेदन समेत बनाउन सकेको छैन । तर कम्पनीले प्रशासनिक शीर्षकमा भने ३१ करोड ७६ लाख रुपियाँ खर्च गरिसकेको छ ।
नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपीबीसीएल) का अध्यक्ष लाल केसीले भूकम्प, नाकाबन्दीलगायत केही वर्षयता मुलुकमा देखिएको प्रतिकूल परिस्थितिका कारण हेटौँडा–काठमाडौँ सुरुङमार्ग निर्माणले गति लिन नसकेको बताउनुभयो । मुलुकका अन्य धेरै विकास आयोजना ढिलो भएका हुन्, ती आयोजनामध्ये यो सुरुङमार्ग निर्माण पनि एक भएको बताउँदै उहाँले सुरुङमार्ग निर्माणका लागि प्रदेश सरकारसँग कार्ययोजना र आवश्यक बजेट हुन नसक्ने दाबी गर्नुभयो ।
विकास निर्माण जो जहाँबाट भए पनि सकारात्मक भएको बताउँदै अध्यक्ष केसीले सुरुङमार्ग निर्माणमा सघाउन प्रदेश सरकारलाई आग्रह गर्नुभयो । प्रदेश सरकारले हस्तक्षेप गर्छ भने त्यो निजी लगानीविरुद्ध हुने धारणा समेत उहाँले व्यक्त गर्नुभयो । एनपीबीबीसीएलले तयार पारेको डिजाइनअनुसार सुरुङमार्गको लम्बाइ ५८ किलोमिटर हुनेछ भने चौडाइ चार लेन रहनेछ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds