सुन प्रकरणमा सर्वोच्चको आदेश ‘अभियुक्तलाई धरौटीमा छाड्नू’

नारायण काफ्ले

काठमाडौँ, जेठ ५ गते । सर्वोच्च अदालतले ८८ किलो सुन तस्करी प्रकरणका दुई अभियुक्तलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न उच्च अदालत पाटनले जारी गरेको आदेश बदर गर्दै सर्वोच्च अदालतले अभियुक्तद्वय नन्दकुमार पाण्डुरङ्ग मगर र उल्हास दिनकर सालुङ्गखेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
वि.सं. २०७४ भदौ २९ गते समातिएको ८८ किलो सुन तस्करी प्रकरणका चारमध्ये मुख्य अभियुक्त मानिएका दुईजना यसअघि नै रिहा भइसकेका छन् । सर्वोच्चले मुख्य अभियुक्तलाई धरौटीको सुविधा दिइसकेको अवस्था तथा तत्काल प्राप्त प्रमाणबाट कारोबारमा संलग्न भएको पुष्टि नभएको भन्दै मगर र सालुङ्गखेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । सर्वोच्चले जनही पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ ।
न्यायाधीशद्वय केदारप्रसाद चालिसे र बमकुमार श्रेष्ठको संयुक्त इजलासले शुक्रबार उनीहरूलाई छाड्न आदेश दिएको हो । सङ्गठित रूपमा सुनको अवैध कारोबार गरेको मुद्दामा दुवै जनालाई जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनले थुनामै रहेर मुद्दाको कारबाहीमा भाग लिने गरी आदेश दिएको थियो । suprem
सर्वोच्चको आदेशमा भनिएको छ, “बरामद भएको सुनको कारोबारमा संलग्नता रहेको भन्ने तत्काल प्राप्त प्रमाणबाट नदेखिएको र फोन सम्पर्क भयो भनिएका सुन कारोबार गर्ने व्यक्ति गणेशदत्त बडू तथा अर्का प्रतिवादी सत्यनारायण अग्रवाललाई क्रमशः पाँच लाख र दुई लाख रुपियाँ धरौटी लिई मुद्दाको पुर्पक्ष भइरहेको देखिएकाले यी निवेदक नन्दकुमार पाण्डुरङ्ग मगर र उल्हास दिनकर सालुङ्गखेलाई अ बं. ११८ को देहाय २ को अन्तर्गत पुर्पक्षका लागि थुनामा राख्ने भनी सुरु काठमाडौँ जिल्ला अदालतबाट भएको आदेश सदर गरेको उच्च अदालत पाटनको आदेश बेरितको देखिँदा बदर गरिदिएको छ ।
यी निवेदकहरूबाट जनही पाँच लाख नगद वा सोबापतको जेथा वा बैङ्क जमानत दिए लिई मुद्दाको पुर्पक्ष गर्नुहोला । ”
सर्वोच्चले उच्च अदालतको २०७४ फागुन ३० गतेको आदेश बदर गरेको हो । सर्वोच्चले अभियुक्तद्वयले कारोबारमा प्रत्यक्ष संलग्नता रहेको भन्ने कुरामा इन्कार गरेको अवस्थामा कारोबार गर्ने प्रतिवादी गणेशदत्त बडूसँग फोन सम्पर्कसम्म भएको अवस्थामा थुनामा राख्नु नपर्ने ठहर गरेको हो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना