विद्यालयमा बालबालिकामाथि ‘बुलिङ’

yam kunwarयामबहादुर कुँवर

 

बालबालिकामाथि हुने बुलिङ अर्थात् हेपाइका सन्दर्भमा अध्ययन अनुसन्धान तथा बहस चलेको हाम्रो समाजमा खासै पाइँदैन । बालबालिकामाथि हुने शारीरिक, मानसिक, संवेगात्मक तथा मौखिक तवरले पु¥याउने हानीलाई सामान्य अर्थमा बुलिङ भनिन्छ । बुलिङलाई बल प्रयोग गरेर शोषण गर्नु, सताउनु, धम्क्याउनु, जिस्काउनु, दुःख दिने जस्ता विभिन्न अर्थमा पनि बुझ्न सकिन्छ । बालबालिकामाथि बुलिङ विद्यालय, घरपरिवार, कलेज, समुदाय, सार्वजनिक भेला, कार्यस्थल आदि जहाँ पनि हुन सक्छ । घरपरिवारमा बाबुआमा तथा ठूलाले साना बालबालिकामा, विद्यालय तथा कलेजमा शिक्षकले विद्यार्थीमा तथा पुराना विद्यार्थीले नयाँ विद्यार्थीमा, जान्नेले नजान्नेलाई, शक्तिशालीले कमजोरलाई, सपाङ्गले अपाङ्गता भएकालाई बुलिङ गर्ने गरेको पाइन्छ । सामान्यतया विद्यालयका कक्षा कोठाभित्र, खेलमैदान, शौचालय, चमेनागृह, सवारीसाधन, प्रतिक्षालय, भेला, सभा सम्मेलनलगायत विद्यालयभित्र र बाहिर पनि बुलिङका घटना हु्ने गर्छन् ।
बालबालिकाहरूले चाहेजस्तो वातावरण विद्यालय, घरपरिवार, समुदाय, सार्वजनिक भेला, सामुदायिक क्रियाकलाप आदिमा पाएका छैनन् । उनीहरूको भावनालाई अभिभावक तथा सिङ्गो समुदायले ध्यान दिएको पनि पाइँदैन । बुलिङका सन्दर्भमा दिन प्रतिदिन विद्यालयमा गम्भीर प्रकृतिका घटना घटेका पाइन्छन्, जसले गर्दा कैयौंँ बालबालिकाले बीचैमा विद्यालयमा छाड्ने गरेका पाइन्छ । नेपालका विद्यालयमा बालबालिकामाथि हुने बुलिङविरुद्धको नीति अभाव छ । कति विद्यालयले यससम्बन्धी नीति बनाए पनि कार्यान्वयनमा समस्या देखिन्छ ।
कानुनी प्रावधान
नेपालले बाल अधिकारसम्बन्धी महासन्धि सन् १९८९ लाई सन् १९९० मा हस्ताक्षर गरी प्रतिबद्धता जाहेर गरेको छ । जसअन्तर्गत बालबालिकाको बाँच्न पाउने, संरक्षण पाउने, गुणस्तरीय शिक्षा र स्वास्थ्य सुविधा पाउनेलगायत, बालश्रम शोषण गर्न नपाउने व्यवस्था हुँदाहुँदै पनि कतिपय अधिकार सुनिश्चित हुन सकिरहेका छैनन् । यो महासन्धिले १८ वर्षभन्दा कम उमेर समूहलाई बालबालिकाका रूपमा परिभाषित गरेको छ । साथै आफ्नो देशको कानुनअनुसार धेरैजसो देशले उमेरलाई मुख्य आधार मानेर फरक–फरक तवरले परिभाषित गरेको पाइन्छ । परिभाषित गर्दा विवाह गर्न योग्य उमेर, बालिग मतदानको उमेर, नागरिकता प्राप्त गर्न सक्ने उमेर, सेना तथा प्रहरीमा भर्ना हुन सक्ने उमेरजस्ता विषयलाई आधार मानेको पाइन्छ । नेपाल सरकारको पछिल्लो तथ्याङ्कअनुसार ४४ दशमलव ७ प्रतिशत कुल जनसङ्ख्या १८ वर्षभन्दा कम उमेरका बालबालिकाको रहेको छ ।
नेपालको संविधान २०७२ को धारा ३९ मा स्पष्ट रूपमा बालबालिकाको हकको व्यवस्था गरिएको छ । जसअन्तर्गत बालबालिकालाई अपहरण गर्न वा बन्धक बनाउन नपाउने व्यवस्था छ । त्यसैगरी उनीहरूलाई विभिन्न नाममा दुव्र्यवहार, उपेक्षा वा शारीरिक, मानसिक, यौनजन्य वा अन्य प्रकारको शोषण गर्न नपाउने व्यवस्था छ । साथै उनीहरूले निर्वाध रूपमा मौलिक हक अधिकार पाउने सुनिश्चितसमेत गरिएको छ । बालबालिकालाई कसैले पनि कुनै प्रकारको पीडा वा दुःख दिन नपाउनेसमेत संविधानमा प्रस्ट रूपमा उल्लेख छ । त्यस्तै धारा १६ मा प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हकको व्यवस्था गरिएको छ । यस्तै धारा २२ मा यातनाविरुद्धको हक उल्लेख छ । धारा २९ मा प्रत्येक व्यक्तिलाई शोषणविरुद्वको हक छ तर नेपालमा बालबालिकामाथि हुने बुलिङविरुद्वको नीतिको अभाव छ । यससम्बन्धी कुनै कानुनी उपचार नेपालमा छैन । नेपालको कानुनमा ज्यान मार्ने धम्कीविरुद्धको मुद्दा दर्ता गर्नसक्ने कानुनी प्रावधान रहे पनि विद्यालयमा अध्ययन गर्ने बालबालिका यसप्रति ज्ञान तथा चेतना नभएको बताउँछन् ।
कानुनी प्रावधान जे भए पनि बालबालिका बुलिङबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पीडित हुन्छन् । विद्यालयमा बालबालिकाले विभिन्न खालका घटना बुलिङका रूपमा भोगेको पाइन्छ, जस्तैः झोलाका किताब साटिदिने, खाजा बलजफ्ती खोसेर खाइदिने, झोला, बोत्तल, खाजाबट्टा आदि सामान फालिदिने, कलम, कपी, किताब आदि खोसिदिने, पछाडिबाट चिमोट्ने, पोशाकमा मसी छर्कने, पुच्छर बनाएर झुण्ड्याइदिने, गालीगलौज गर्ने, कपडा तानिदिने, बलजफ्ती आफ्नो गृहकार्य गर्न लगाउने, टोपी वा रुमाल खोसेर लगिदिने आदि ।
हाम्रो समाजमा आफ्ना बालबालिकाप्रति बुलिङ भएको सोच्न पनि नसोचिने अवस्था छ । बालबालिकाले पनि आपmू बुलिङमा परेको कुरा अभिभावकलाई बताउन रुचाउँदैनन् । बताइहाले पनि उल्टै ठिक्क प¥यो भनी छोराछोरीलाई खुच्चिङ भन्ने गरेको पाइन्छ । छात्राहरूले आपmू शारीरिक, मानसिक तथा यौनजन्य रूपमा बुलिङ भएका भए पनि अभिभावकलाई बताउन सक्दैनन् ।
विश्वमा प्रत्येक वर्ष लगभग २२ लाख विद्यार्थी बुलिङको मारमा परेका हुन्छन् । बुलिङका कारण प्रत्येक दिन एक लाख ५० हजार विद्यार्थीबीचैमा विद्यालयबाट घर भागेर जान्छन् । बुलिङका कारण हरेक १० मा एक जना विद्यार्थीले विद्यालय छाड्छन् । १४ वर्षको उमेरसम्ममा ३० प्रतिशतभन्दा कम केटा र ४० प्रतिशतभन्दा कम केटीले आफ्ना साथीसँग बुलिङका सन्बन्धमा कुरा गर्छन् । लगभग ७२ प्रतिशत विद्यार्थी बुलिङका घटनालाई विद्यालयको एउटा समस्याका रूपमा लिन्छन् । १७ प्रतिशत अमेरिकी विद्यार्थीले एक विद्यालय सेमेष्टरमा महिनामा तीन पटकभन्दा बढी बुलिङको शिकार भएको भनी उजुरी गर्छन् । साथै उनीहरूले आपmू बुलिङको शिकार भएको साथीसँग पनि भन्ने गर्छन् ।
बुलिङबाट पीडित बालबालिकाले बीचैमा विद्यालय छाड्ने, घर परिवारसँग राम्रो सम्बन्ध नराख्ने, घर छाडेर भाग्ने, एक्लै कोठामा टोलाएर बस्ने जस्ता घटनाहरू गर्ने गरेको पाइन्छ । बुलिङका घटनाले गर्दा तिनको जीवन पनि अन्धकारमय हुन सक्छ । साथै पीडित बालबालिका मानसिक रूपमा निरुत्साहित भई मानसिक रोगीको बिरामी हुने प्रबल सम्भावना हुन्छ । पटक–पटक बुलिङबाट पीडित हुने बालबालिकाले आत्महत्या गर्न सक्ने सम्भावना पनि प्रबल हुन्छ । साथै बुलिङबाट पीडित बालबालिकामा नकारात्मक सोचको विकास हुन्छ र जसले उनीहरू मानसिक तनावबाट मुक्त हुन सक्दैनन् ।
बालबालिकालाई यस्तो अवस्थाबाट बचाउन अभिभावक, शिक्षक, बालबालिका तथा सिङ्गो समाजलाई बालबालिकामाथि हुने बुलिङको जानकारी गराई बुलिङ हुने अवस्था आउन नदिन जनचेतनामूलक कार्यक्रम लागू गर्नुपर्ने देखिन्छ । हरेक विद्यालयमा बुलिङविरुद्वको सुनुवाइ हुने व्यवस्था गर्नुपर्छ । विद्यार्थीलाई समय–समयमा चेतनामूलक कक्षासमेत सञ्चालन गर्नुपर्ने देखिन्छ । पीडित बालबालिकाले अभिभावक तथा विद्यालय प्रशासनलाई तुरुन्त जानकारी गर्नुपर्छ । बालबालिकालाई आफूमाथि बुलिङ भएकोजस्तो लाग्छ भने त्यस्तो व्यक्ति वा समूहमा नबस्ने, आमाबाबु, शिक्षक तथा आपmूलाई विश्वास गर्ने साथीलाई भन्ने गर्नुपर्छ । आपmूलाई कमजोर ठान्नु हुँदैन । अरूलाई बुलिङ गर्ने बानी कसैमा छ भने तुरुन्त सुधार गर्नुपर्छ ।
बालबालिकाको सुरक्षा तथा उनीहरूको मानसिक र संवेगात्मक विकासका लागि पनि बुलिङविरुद्ध स्पष्ट कानुनको आवश्यक छ । साथै बुलिङ न्यूनीकरण गर्न उपचारात्मक र निरोधात्मक उपाय अपनाउन सकिन्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना