खानेपानी बोक्ने ट्याङ्करको मनोमानी स्टिकर फ्याँकेर पानी वितरण


सीता शर्मा

काठमाडौँ, जेठ ६ गते । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले उपत्यकामा ट्याङ्करमार्फत बिक्री गर्ने पानीको गुणस्तर छुट्याएर सबैलाई स्टिकर वितरण गरेर नसक्दै केही व्यवसायीले स्टिकर फ्याँकेर पानी वितरण गरेका छन् ।
पँहेलो स्टिकर पाएका केही ट्याङ्कर व्यवसायीबाट यस्तो बदमासी गरेको पाइएको छ । पानीको गुणस्तर छुट्याएर वितरण गरिएको स्टिकर कार्यान्वयन भए वा नभएको विषयमा नियमित अनुगमन नहुँदा यस्तो समस्या देखिएको हो ।
बोर्डका अनुसार अहिलेसम्म ५११ वटा ट्याङ्करललाई स्टिकर वितरण गरिएको छ । जसमा ११ वटा ट्याङ्करलाई निलो, ५५ वटालाई पँहेलो र ४४५ वटालाई हरियो स्टिकर वितरण गरिएको छ ।
बोर्ड प्राविधिक शाखाका इन्जिनियर बोधराज दाहालले स्टिकर लिएका ट्याङ्करको अनुगमन गर्ने क्रममा पँहेलो स्टिकर पाएका केही ट्याङ्करले स्टिकर फ्याँकेको पाइएको र तिनीहरूलाई कानुन अनुसार तुरुन्तै कारबाही गरिसकेको जानकारी गराउनुभयो । स्टिकर फ्याकेर पानी वितरण गर्ने व्यवसायीलाई १० हजार रुपियाँ जरिवानासहित दर्ता खारेजी गर्नेसम्मको व्यवस्था छ तर बोर्डले पहिलो पटक भएकाले सचेत गराएर छोडेको छ ।
यता स्टिकर फ्याँकेर पानी वितरण गर्दैआएका व्यवसायीले भने ट्याङ्कर मर्मत वा सफा गर्ने क्रममा स्टिकर पुछिएकाले लामो समयसम्म टिक्ने खालेको स्टिकर व्यवस्था गर्न बोर्डलाई आग्रह गरेका छन् ।
बोर्डका खानेपानी अनुगमन संयोजक समेत रहनुभएका दाहालले अबदेखि पानीको गुणस्तरका आधारमा ट्याङ्करमा त्यही अनुसारको निलो, हरियो र पहँेलो रङ पोत्नुपर्ने र अगाडि स्टिकर राख्नुपर्ने व्यवस्था गर्न लागेको जानकारी दिनुभयो । बोर्डले ट्याङ्करमार्फत पानी वितरण गर्न थालेको ३० वर्षपछि गएको वर्षदेखि ट्याङ्करको पानीको गुणस्तर छुट्याउन सुरु गरेको हो । बोर्डले उपत्यकामा निजीस्तरबाट सञ्चालित ट्याङ्करले बोक्ने पानीका स्रोतको परीक्षण गरी त्यसका आधारमा पानीको गुणस्तरको वर्गीकरण गरिरहेको छ । pani_1
उपत्यकावासी उपभोक्ताले खानेपानी जस्तो अतिआवश्यकीय संवेदनशील वस्तुको गुणस्तर र मूल्यमा मनपरि भएको भनेर पटक–पटक गुनासो गरेपछि बोर्डले निर्देशिका बनाएर पानीको गुणस्तरको वर्गीकरण गरेको थियो ।
बोर्डको खानेपानी गुणस्तर मापन तथा अनुगमन संयोजकसमेत रहनुभएका दाहालले ट्याङ्करमार्फत बोकिने पानीको स्रोत परीक्षण गरेर पानीको शुद्धता र गुणस्तरीयताको आधारमा ट्याङ्करमा स्टिकर टाँसिने गरेको जानकारी दिनुभयो ।
उहाँले उपत्यकावासीलाई शुद्ध पानी उपभोग गराउने र जनस्वास्थ्यप्रति सजग गराउने उदेश्यका साथ पानी बोक्ने ट्याङ्करको पानीका स्रोतको परीक्षण गरेर त्यसका आधारमा वर्गीकरण गर्न सुरु गरिएकाले कुनै कैफियत भेटिने बित्तिकै कारबाही गरिने बताउनुभयो ।
दाहालले उपत्यकामा पानी बोक्ने ट्याङ्करको पानी परीक्षण गरी त्यसका आधारमा (निलो, हरियो र पहेँलो) स्टिकर टाँस्ने व्यवस्था रहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार निलो स्टिकर प्रयोग गरिएको ट्याङ्करको पानी सिधै पिउन सकिन्छ भने हरियो स्टिकर प्रयोग गरेको ट्याङ्करले बोक्ने पानी प्रशोधन गरेर पिउन सकिन्छ । यस्तै, पहेँलो स्टिरक प्रयोग गरिएको ट्याङ्करको सामान्य प्रशोधनबाट पानी पिउन योग्य मानिने छैन त्यो पानी घरयसी अन्य प्रयोजन वा घर निर्माणमा प्रयोग गर्न सकिनेछ ।
खानेपानी व्यवस्थापन बोर्डले पानी बोक्ने ट्याङ्करमा पानीको परीक्षण गरेर त्यसको शुद्धताका आधारमा निलो, पहेलो र हरियो स्टिकर लगाएर प्रमाणित गरिदिन्छ । स्टिकर नभएको ट्याङ्कर प्रयोग गरेको भेटिए बोर्डले तुरुन्त कारबाही गर्नसक्ने व्यवस्था गरिएको छ । गुणस्तर प्रमाणित नभई कुनै पनि ट्याङ्करले पानी वितरण गर्न पाउने छैनन् । पानीको शुद्धताको आधारमा फिजिकल, केमिकल र माइक्रोबाइलोजिकल तीनै हिसाबले उपयुक्त पानी भएको ट्याङ्करलाई निलो स्टिकर प्रदान गरिन्छ । जुन पानी सिधै पिउन सकिन्छ । पानीको परीक्षण गर्दा फिजिकल र केमिकल मात्रा मिलेको तर माइक्रोबाइलोजिकलको मात्रा कम रहेछ भने त्यस्तो ट्याङ्करलाई हरियो स्टिकर प्रदान गरिन्छ । हरियो स्टिकर भएको पानी उमालेर मात्र पिउन मिल्छ ।
पानीको परीक्षण गर्दा माइक्रोबाइलोजीकलको हिसाबले उपयुक्त छ तर फिजिकल र केमिकलको हिसाबले उपयुक्त छैन भने त्यस्तो पानी भएको ट्याङ्करलाई पँहेलो स्टिकर दिइन्छ । हरियो स्टिकर प्रयोग भएको ट्याङ्करको पानी खान मिल्दैन ।
बोर्डका अनुसार अहिले सम्म उपत्यकामा करिब छ सय ट्याङ्करले पानी सेवा दिँदैआएकोमा ५११ वटाले स्टिकर लिइसकेका छन् भने ६० वटा प्रक्रियामा छन् । बाँकी रहेका अन्यले पनि निवेदन दिएका छन् ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना