इन्धनको बढ्दो मूल्य  

Binod nepalविनोद नेपाल

 

नेपाल आयल निगमले एक महिना अन्तरमा पेट्रोल, डिजल र मट्टीतेलको मूल्य तीनपटक वृद्धि गरेको छ । निगमले वैशाख ३ गते वृद्धि गरेको मूल्यमा १९ गते मध्यरात पश्चात् लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपियाँ तथा डिजेल र मट्टीतेलमा तीन–तीन रुपियाँले वृद्धि गरेको थियो । यसपछि पुनः जेठ २ गते मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा दुई दुई रुपियाँ वृद्धि गरी पेट्रोलको भाउ ११० र डिजेल तथा मट्टीतेलको भाउ ९२ प्रतिलिटर पु¥याएको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावतै राखिएको छ ।
निगमका अनुसार भारतीय आयल निगम आइओसीबाट इन्धन आयात गर्ने निगमले उसले पठाएको नयाँ मूल्यसूची अनुसार नयाँ मूल्य कायम गरेको हो । डलरको बढ्दो मूल्य र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको कारण मूल्य समायोजन गर्नुपरेको निगमले जनाउँछ । स्मरणीय छ, समयमा मूल्य समायोजन नगर्दा निगम ठूलो घाटामा गएको र घाटा बढ्ने क्रम जारी रहेपछि झन्डै तीन वर्ष अघि पेट्रोल, डिजल र मट्टीतेलमा स्वचालित मूल्य प्रणाली लागु गरिएको थियो । स्वचालित मूल्य प्रणाली अनुसार आइओसीले हरेक अङ्ग्रेजी महिनाको १ र १५ तारिखमा नयाँ मूल्य पठाउने गर्छ र सोही अनुसार मूल्य समायोजन गर्ने गरिन्छ ।
पेट्रोलियम पदार्थको मूल्य हरेक पन्ध्र दिनमा समायोजन गर्दै जाने नीति २०७१ असोजदेखि लिइएको थियो । यसरी समायोजन गरिने मूल्य अन्तर्राष्ट्रिय मूल्यमा आधारित हुने तथा निगमले पेट्रोलियम पदार्थको मूल्य प्रत्येक १५ दिनमा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे बढाउने र घटे घटाउने जनाइएको थियो । यस व्यवस्था अनुसारको मूल्य निगमले पहिलोपटक असोज १३ गते रातीदेखि लागू गरेको थियो । जतिखेर पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैया“ ४४ पैसा र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ पैसा घटेको थियो । यो दर लागू हुनु अघि पेट्रोलको मूल्य प्रतिलिटर १३४ रुपिया“ ५० पैसा थियो जुन यसपछि १३३ रुपैया“ छ पैसा कायम हुन आएको थियो भने प्रतिलिटर १०५ रुपैया“ ५० पैसामा बिक्री हु“दै आएको डिजेल र मट्टीतेल १०५ रुपैया“ २३ पैसामा उपलब्ध हुने भएको थियो ।
यो प्रणाली लागु भएपछि पेट्रोलियम पदार्थको वितरणमा आउने समस्या निराकरण हुने, पेट्रोलियम आपूर्तिमा सहजता आउने तथा मूल्य निर्धारण पारदर्शी हुने र निगमको आर्थिक अवस्था सुधार भई इन्धनको समुचित व्यवस्थापन गर्न सक्ने बताइएको थियो । यो प्रणाली लागू गरिएपछि इन्धनको मूल्यमा निरन्तर गिरावट आयो । तर मूल्य घटे पनि निगमले हरेक पन्ध्र दिनमा मूल्य समायोजन गरेन । आफ्नो अनुकूलता हेरी बेलाबेलामा उपभोक्तालाई केही दिएजस्तो गर्न मात्र मूल्य समायोजन ग¥यो । महँगो भएको वस्तु सस्तो भएको अनुभव नै नभएका उपभोक्ताले पनि यसप्रति खासै चासो राखेनन् । यसैको परिणाम घाटामा गएको निगम नाफामा आयो, निगमको वित्तीय अवस्थामा सुधार भयो । यो सकारात्मक पक्ष हो ।
तर केही समय यता इन्धनको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ । अहिले कच्चा इन्धनको पछिल्लो मूल्य विगत चार वर्षकै सर्वाधिक उचाइमा पुगेको छ । यतिखेर पेट्रोलियम निर्यात गर्ने राष्ट्रहरूको संगठन ‘ओपेक’ देशहरूले जसरी कच्चा तेलको आपूर्ति घटाएका छन् त्यसलाई हेर्दा आगामी दिनमा इन्धनको मूल्य अझै माथि जाने आशंका गरिएको छ । यसको असर हाम्रो बजारमा पनि पर्ने र इन्धनको मूल्य अझ माथि जाने लगभग निश्चित नै छ ।
यसरी इन्धनको मूल्य उचाइतर्फ जाँदै गर्दा त्यसको बोझ आम उपभेक्तामाथि विभिन्न किसिमबाट पर्नेछ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य यसैगरी बढेमा आम उपभोक्ताको दैनिकी नै प्रभावित हुनेछ । इन्धनको मूल्यमा हुने वृद्धिसँगै सवारी साधनको यात्रु र ढुवानी भाडामा वृद्धि हुन्छ । यसबाट वस्तुभाउको मूल्य प्रभावित हुन्छ । सार्वजनिक यातायातमा सिन्डिकेटको अन्त्य गर्ने सरकारको कदमले जथाभावी मूल्यको सम्भावना त नरहला तर बजारभाउ नियन्त्रण कठिन हुनेछ । विगत वर्षमा सरकारले लिएको लक्ष्यभन्दा पनि महँगी वृद्धि तलै रहेको तथ्यांकहरूले देखाएका थिए । त्यो इन्धनको मूल्यमा आएको ह्रासकै परिणाम पनि थियो । तर यसैगरी इन्धनको मूल्य बढिरहे अब त्यो अवस्था नरहने र महँगी अपेक्षित तथा लक्षित सीमाभन्दा बढ्नेछ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओपेकले अस्वाभाविक तथा कृत्रिम रुपमा कच्चा तेलको मूल्य बढाएको भन्दै यस्तो मूल्य वृद्धि अमेरिकाको लागि स्वीकार्य नहुने बताउनुभएको छ । तेलको मूल्यमा अस्वाभाविक वृद्धि गरिएको भन्दै त्यसप्रति ट्रम्पले जनाएको असन्तुष्टिको असर तेल उत्पादक मुलुकहरूलाई कसरी र कुन रुपमा पर्छ र तिनबाट कस्तो प्रतिकृया आउँछ समयले बताउनेछ ।
तर हाम्रो जस्तो सानो र आयातमुखी अर्थतन्त्रमा इन्धनको मूल्य वृद्धिबाट पर्ने नकारात्मक असरको आफ्नै पक्ष छ । हाम्रो आयात निर्यातबीच ठूलो र अस्वाभाविक अन्तर छ । व्यापार सन्तुलन छैन । हाम्रो निर्यातले इन्धनको आयात पनि धान्दैन । इन्धनको आयातमा निकै ठूलो धनराशि व्यय भइरहेको छ । यसो हुनुको कारक हो हामीकहाँ सवारी साधनको संख्यामा भएको वृद्धि । गत वर्षदेखि विद्युत् भार कटौती लगभग हटिसकेको छ तर इन्धनको आयात भने निरन्तर बढ्दो छ । यसैले एकातिर विद्युतीय सामग्रीको घरायसी प्रयोग प्रोत्साहित गर्नु आवश्यक छ । बढी क्षमताका सवारी साधन आयात गर्न दिँदा राजस्व असुली बढी हुने भए पनि तिनले इन्धन समेत बढी खपत गर्ने भएकाले इन्धनको आयात घटाउनका लागि त्यसतर्फ पनि ध्यान दिनु आवश्यक छ । यसका लागि निर्माणाधीन जलविद्युत् आयोजनाहरू समयमै र शीघ्र सम्पन्न गरी विद्युत् आपूर्ति बढाउने, विद्युतीय सवारी साधनहरू सञ्चालन गर्ने, घरायसी कामहरू विद्युत्बाटै गर्नेतर्फ ध्यान केन्द्रित हुनु आवश्यक छ ।
हामीले आत्मनिर्भर अर्थतन्त्रको कुरा गरिरहेका छौं । सुशासन र आर्थिक समृद्धिका कुरा गरिरहेका छौं । राजनीतिक संक्रमणको अन्त्य भई मुलुक स्थायित्वको दिशातर्फ उन्मुख भइरहेको सन्दर्भमा यस्ता कुरा स्वाभाविक हुन् । तर घोषणाले मात्र लक्ष्य हासिल हुँदैन । यस्ता लक्ष्य हासिल गर्नका लागि एकातिर हाम्रो विगतको मनोवृत्तिमा परिवर्तन ल्याउनु आवश्यक छ भने अर्कोतिर इन्धन तथा विलाशिताका सामग्रीमा भइरहेको खर्च घटाउनेतर्फ ध्यान दिनु र मितव्ययी हुने सामग्रीहरूको प्रयोगलाई प्रोत्साहन गर्नु पनि नितान्त आवश्यक देखिन्छ । अन्यथा हाम्रा लक्ष्य कागजमै सीमित रहने र हाम्रो जीवनयापन अझ कष्टकर हुनेछ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना