विदेशबाट फर्किएका युवाले खोजे ‘प्याकेज’

सविता शर्मा

काठमाडौँ, जेठ ९ गते । सरकारले नीति तथा कार्यक्रममार्फत रोजगारीका लागि बिदेश जानुपर्ने स्थितिको अन्त्य गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याउने घोषणा गरेको छ । तर बैदेशिक रोजगारीमा गएर स्वदेशमै केही गराँैं भन्ने सोचसहित फर्केका युवाको सीप, क्षमता र ज्ञानलाई उपयोग गर्ने सम्बन्धमा भने नीति तथा कार्यक्रममा नबोलिएको भन्दै कतिपय युवाले गुनासो गरेका छन् ।
बैदेशिक रोजगारीबाट फर्केर व्यवसाय गरिरहनुभएका उत्तम अधिकारी भन्नुहुन्छ, ‘बिदेशबाट फर्केको जमात के गर्दै छ ? यो जनशक्तिसँग भएको पूँजी र सीपलाई उत्पादनशील क्षेत्रमा कसरी जाड्न सकिन्छ ? भन्ने कुराको खोजी गरिने सङ्केत नीति तथा कार्यक्रममा पाइएन ।’
सरकारले योजना र कार्यक्रम बनाएर त्यस्ता युवाकोे पुँजी र सीपको उपयोग गर्नु राम्रो हुने उहाँले बताउनुभयो । सीप, क्षमता र पूँजी भएपनि विदेशबाट फर्किएको धेरैजसो जनशक्ति अलपत्र अवस्थामा रहेको आफूलाई जानकारी पाएको उहाँले बताउनुभयो । विदेशबाट कमाएर ल्याएको पैसा डुल्ने–घुम्नेमा सकिएपछि धेरै युवा फेरी विदेश फर्किने अवस्थामा रहेका छन्, उहाँले भन्नुभयो ।
वैदेशिक रोजगारीबाट फर्केका युवाको तथ्याङ्कसमेत अहिलेसम्म कुनै सरकारी निकायले सङ्कलन गरेका छैनन । बैदेशिक रोजगारीबाट फर्केर आएका युवालाई सरकारले उचितरुपमा सम्बोधन गर्नका लागि पनि तथ्याङ्कको जरुरी पर्दछ ।
यस्ता युवा देशभरि छरिएर रहेका छन् र उनीहरू कतै संगठित पनि भएका छैनन् । युवाको पूँजी सीप, क्षमता, ज्ञान र अनुभव स्पष्टसँग खुल्ने तथ्याङ्क भएमा नयाँ र राम्रा सम्भावनाका उत्पादनशील क्षेत्रमा उनीहरुको सीपको उपयोग गर्न सकिने भुक्तभोगी युवाको अनुभव छ ।
बैदेशिक रोजगारीमा रहेका श्रमिकका बारेका जानकार बिष्णु खत्री विदेशबाट फर्केकाले पुँुजीसँगै सीप, दक्षता र अनुभव लिएर आउने हुँदा त्यस्तो जनशक्ति प्रयोग गर्नका लागि पनि तथ्याङ्क राख्न जरुरी भएको बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, ‘इजरायलमा कृषि पढेर÷सिकेर आउने कति छन् ? कोरियाबाट कृषि र उद्योगमा के कस्ता सीप सिकेर आए उनीहरुको सीपको प्रयोग कहाँ गर्दा मुलुक र ती युवाको हितमा हुनसक्छ ? यसको खोजी र सम्बोधन गर्न आवश्यक छ ।’
अध्यागमन विभागसँग कति विदेश गए र कति नेपाल आए भन्ने सामान्या तथ्याङ्क मात्र छ । अध्यागमन विभागका निर्देशक तथा सूचना अधिकारी राजुप्रसाद पौडेलले तथ्याङ्क वर्गीकरण गरेर नराखिएको बताउनुभयो । हामीसँग विदेश गएको र आएको तथा राष्ट्रियता मात्र हाम्रो तथ्याङ्कमा हुन्छ, उहाँले भन्नुभयो । अब सफ्टवेयर अपडेट गर्दा कुन भिसामा गएको र आएको हो छुट्याइने उहाँले जानकारी दिनुभयो ।
श्रम स्वीकृति लिएर बिदेश जाने र आउनेको तथ्याङ्कलाई सफ्टवेयर बनाएर व्यवस्थित गर्दा यस्तो तथ्याङ्क सजिलै सङ्कलन गर्न सकिने जानकारहरूको भनाइ छ । वैदेशिक रोजगार विभाग र अध्यागमन विभाग मिलेर यो काम सजिलै गर्न सक्ने बताइएको छ ।
युवाको उमेर, सीप, क्षमता, अनुभव र रुचिको क्षेत्र खुल्ने गरी तथ्याङ्क सङ्कलन गर्न सकेमा उनीहरुका लागि कार्यक्रम सञ्चालन गर्न सजिलो हुुने खत्री बताउनुहुन्छ । उनीहरुको क्षमता रुची र उमेर पहिचान गरेर सरकारले ‘प्याकेज’ बनाउनुपर्ने र त्यस्तो कार्यलाई सरकारका नीति र कार्यमक्रममै समेट्नु पर्ने समेत उहाँले बताउनुभयो ।
बिदेशबाट फर्कन चाहनेहरु पनि यस्ता प्याकेजबाट आकर्षित हुनसक्छन्, यस्तो दर्ताको प्रणाली विकास गरेर केही नयाँ र आकर्षक ऋण अथवा व्यवसाय गर्नका लागि सहज हुने खालका प्याकेज बनाइयो भने आफैं पनि दर्ता गर्न आउँछन्, उहाँले भन्नुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना