विराटनगरको भारतीय ‘क्याम्प अफिस’ बन्द

शशिधर पराजुली

विराटनगर, जेठ ९ गते । भारत सरकारले विराटनगरस्थित भारतीय राजदूतावासको ‘क्याम्प अफिस’ बन्द गरेको घोषणा गरेको छ । विदेश मन्त्रालयले मङ्गलवार प्रेस व्रिफिङमार्फत विराटनगरको क्याम्प अफिस बन्द गर्ने निर्णय भएको सार्वजनिक गरेको हो ।
नयाँ दिल्लीले बन्द गर्ने घोषणा गरे पनि अबेरसम्म विराटनगरस्थित कार्यालयलाई त्यसको औपचारिक पत्र भने आएको छैन । पत्र नआएका कारण कार्यालयले नियमित काम भने मङ्गलबार पनि जारी राखेको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङले मङ्गलवार नै क्याम्प अफिस बन्द भएको विषयमा टोली पठाएर जानकारी मागेको थियो । त्यस क्रममा क्याम्प अफिसले अहिलेसम्म ‘अफिसियल’ पत्र प्राप्त नभएको जवाफ दिइएको थियो ।
२०६५ साल भदौ २ गते कोशी नदीको बाँध भत्किएपछि पूर्वपश्चिम राजमार्ग अबरुद्ध भएपछि विराटनगरमा भारतीय दूतावासको क्याम्प अफिस खुलेको थियो । राजमार्ग अवरुद्ध भएपछि पूर्वी नेपालबाट राजधानी लगायत मुलुकको अन्य सहरसँंग सडक सम्पर्क विच्छेद भएपछि जोगवनी, भीमपूर हुँदै भारतीय भूमि प्रयोग गरेर नेपाल प्रवेश गर्नु पर्ने वाध्यता भएको थियो ।
त्यसका लागि हरेक पटक काठमाडँौस्थित नेपालका लागि भारतीय राजदूतावासबाट प्रवेश अनुमति पत्र लिनुपर्ने झण्झट भएपछि तात्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले भारत सरकारलाई क्याम्प अफिस स्थापना गरी सेवा प्रवाह गर्न आग्रह गरेको थियो ।
नेपालकै आग्रहअनुसार भारत सरकारले २०६५ साल मङ्सिर ८ गते ‘क्याम्प अफिस’ खोलेको थियो । कार्यालयको उद्घाटन तत्कालिन परराष्ट्रमन्त्री उपेन्द्र यादव र नेपालका लागि तत्कालीन भारतीय राजदूत रञ्जित रेले संयुक्तरुपमा गर्नुभएको थियो ।
प्रारम्भमा जोगवनीस्थित भारतीय भन्सारका दुई जना कर्मचारी विहानदेखि दिउँसो २ बजेसम्म बस्ने गरी उद्योग संगठन मोरङको दुई वटा कोठामा कार्यालय स्थापना गरिएको थियो । त्यहाँ दिउँसो २ बजेसम्म दर्ता भएका निवेदनका आधारमा सवारी पास वितरण हुने गरेको थियो ।
बाँध निर्माण भएपछि कार्यालयको औचित्य समाप्त भएपनि कार्यालय भने बन्द भएको थिएन । बरु भारतीय राजदूतावासले दरबन्दी थप गरेर विराटनगरमा छुट्टै घर भाडा लिएर शैक्षिक, सामाजिक ता अन्य सेवामूलक कार्यक्रम संचालन गर्न थालेको थियो । त्यसवारे आवाज उठेपछि तत्कालिन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले क्याम्प अफिस बन्द गर्ने निर्णय गर्नुभएको थियो तर त्यो निर्णय कार्यान्वयनमा भने आएको थिएन ।
केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्लाई सम्वोधन गर्नुहुँदै विराटनगरस्थित भारतीय ‘क्याम्प अफिस’बन्द हुने जानकारी दिनुभएको थियो । त्यसको केही दिन पछि नै भारत सरकारले क्याम्प अफिस बन्द गर्ने घोषणा गरेको हो ।
पछिल्लो समय क्याम्प अफिसबाट महात्मा गान्धी पुरस्कार र छात्रवृत्ति प्रदान गर्ने, विद्यालय तथा शैक्षिक क्षेत्रलाई सहयोग उपलव्ध गराउने, एम्बुलेन्स वितरण गर्ने लगायत विभिन्न गतिविधि संचालन हुँदै आएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds