वाम एकताको खुसी र पाठ

indra kumar shresthaइन्द्रकुमार श्रेष्ठ

 

 

नपत्याउँदा नपत्याउँदै भएको नेपालका दुई वाम पार्टीको एकतालाई धेरै ठूलो कुरा मानिएको छ । नेपाली राजनीतिक–बौद्धिक समुदायमा यस कुराले आगामी धेरै समयसम्म चर्चा पाइरहने निश्चित छ । बुझ्नेहरूले यसलाई, विश्वकै कम्युनिस्ट आन्दोलनमा उल्लेखनीय घटना र ‘एसियाकै तेस्रो ठूलो कम्युनिस्ट पार्टी निर्माण भएको’ पनि भन्दा रहेछन् । यो एकतालाई लिएर विरोधका लागि विरोध गर्ने क्रममा कतिपय नेता–लेखकले ‘माओवादी एमालेमा विलय भएको’ भने पनि, मन मिलाएर एकता प्रक्रियामा गएपछि कोही कसैमाथि विलय भएको नभई एक भएको मान्नुपर्छ । स्वार्थ, अस्तित्व रक्षा, सत्ता जे–जे का लागि भएको बुझाईअनुसारको अर्थ लगाइए पनि, एकता प्रक्रियाको यो ऐतिहासिक घटनाले ती दुई पार्टीका नेता तथा कार्यकर्तामा त खुसीको फोहोरा ल्याउने भइहाल्यो, त्यसले नेपाली काँग्रेस, विवेकशील साझा र नयाँ शक्तिजस्ता पिछडिएका राजनीतिक पार्टीलाई पनि नजानिँदो ईष्र्याका साथ एकतामा बाँधिनुपर्ने राजनीतिक ध्रुवीकरणको पाठ सिकाएको छ ।
फुट्नुभन्दा जुट्नु राम्रो हो र नेपालजस्तो सानो देशमा धेरै पार्टीको काम पनि छैन । परिवर्तित सन्दर्भमा सकेसम्म त यहाँ, बेलायत÷अमेरिकामा जस्तो एउटा सत्तामा हुँदा अर्को प्रतिपक्षमा बस्ने गरी दुईवटा मात्र पार्टी हुनसके ज्यादै राम्रो हो तर राष्ट्रवादी राजनीतिक संस्कार र अभ्यास नबसेको हाम्रोजस्तो अविकसित देशमा अहिल्यै यो सम्भव होलाजस्तो छैन । त्यसैले, तीन वटाभन्दा बढी चाहिँ नभए बेस ।
एकताको सार्थकता
भनिन्छ, एकता भन्ने कुरा कि त असल–असलका बीच कि त खराब–खराबका बीच हुन्छ । असल र खराबकाबीच एकतै हुँदैन रे । आशावादी बन्नुपर्ने बाध्यताका कारण पनि, अहिलेको ‘वाम एकता’लाई खराब–खराबका बीच वा असल खराबका बीच नभई, असल–असलकाबीच भएको र त्यो पनि देशको समृद्धिका लागि भएको मानिदिनुपरेको छ । वास्तवमा, माक्र्सवादी भने पनि लेनिनवादी भने पनि माओवादी भने पनि जबज
(जनताको बहुदलीय जनवाद) भने पनि एबज
(एक्काइसौं शताब्दीको जनवाद) भने पनि वा अन्य जुनसुकै राजनीतिक पार्टीको नाम पुकारे पनि सबैले छ्याङ्ग बुझिने गरी भन्नुपर्दा नेपाललाई यतिखेर चाहिएको आर्थिक विकास र समृद्धि हो । यसअघि सालाखाला नौ महिना चल्ने गरेको सरकारलाई लिएर आरोप प्रत्यारोप हुने गथ्र्यो, स्थिर सरकार नभएकोले समृद्धिका बाटाहरू खुल्न नसकेको भन्ने निहुँ पनि खुबै पारिन्थ्यो । अब त्यस्तो निहुँ देखाउने स्थिति पनि रहेन । केटाकेटीमा परिश्रमको फल मीठो हुन्छ भनेर पढिन्थ्यो । प्रतीक्षाको फल पनि झन् मीठो हुने रहेछ भन्ने कुरा बूढ्यौलीमा आएर थाहा पाइयो ।
देशले सबैभन्दा ठूलो वाम एकीकृत पार्टीका अध्यक्षका रूपमा दुई–दुई जना ज्यादै धीर–वीर, बोलक्कड ‘देशभक्त’ र ‘क्रान्तिकारी’ ‘सुपरम्यान’ पाएको छ, जसबाट ‘जनयुद्ध’ कालमा हामी मारिइरहँदा पनि सुखी भएको सपना देख्यौँ र नाकाबन्दीको बेलामा भोकभाकै बस्दा पनि पाइपबाट घर–घरमा ग्यास आएको सम्झन्थ्यौँ । त्यो बेलामा त त्यस्ता कुरामा रमाएर मर्न–बाँच्न अभ्यस्त भएका हामी अहिले त कुरै छोडौँ ! सरकारी नीति तथा कार्यक्रम आउनुअघि नै आर्थिक विकास र समृद्धिका कुरा ज्यादै ठूला–ठूला हाँकिएका हुन् । भर्खरै घोषित नीति तथा कार्यक्रममा त्यसलाई अझ फड्केर व्याख्या गरिएकै छ । त्यसलाई साकार पार्नका लागि कठोरताका साथ आत्मनिर्भर र मितव्ययी आर्थिक नीति बनाएर सोको कार्यान्वयनतर्फ जोड दिइनुपर्ने हो । कम से कम खाद्यान्नमा मात्रै भए पनि आत्मनिर्भर बन्न सकियोस् किनभने कृषिप्रधान देश हाम्रै हो । नाक, कान कोट्याइने सिन्का बजारमा नपाइयून् । ‘सुपरमार्केट’ मा विदेशबाट ल्याइएका बाँसका चपिङ बोर्ड र चप स्टिक नपाइयून्, हाम्रै देशमा फालाफाल पाइने बाँसबाट बनून् । युवावर्ग विदेश नजाऊन्, बस्तीका बस्ती वृद्धालय भइसक्यो–गरिखाने ठाउँ र विकल्प यतै छ । रक्सी विदेशबाट नआओस् । त्यो पिउने हैसियतमा हामी पुगेका छैनौँ । यस्तैगरी अरू धेरै अनावश्यक कुराको आयात बन्द गरियोस् । कुरै गरेर खान र तर्क गरेरै जनतालाई उल्लू बनाउन खोजिएको होइन भने यस्ता राष्ट्रप्रेमी नीतिहरू पनि आउनैपर्छ ।
‘हामीले वृद्धभत्ता दिन थालेका हौँ’ भन्ने कुरा थोत्रो र पुरानो भइसक्यो । ‘नेपालका कुनै पनि राजनीतिक पार्टी नामका मात्रै फरक, काममा त उस्तै हुन् !’ भन्ने जनमानसको धारणालाई गलत साबित गर्दै, कम्युनिस्ट नेता कार्यकर्ता भएर पनि बिताइरहेको लोभलाग्दो विलासी जीवन त्यागेर आफ्नो केही सम्पत्ति राष्ट्रका नाममा घोषणा गरेको पनि सुन्न पाउनुप¥यो । यस्तै केही कुरामा परिवर्तन भएको देख्न अनुभव गर्न पाएमा मात्र ‘वाम एकता’ को सार्थकता हुने थियो । अहिलेसम्म देशको स्थिति बिग्रिएको बिग्रिएकै रह्यो, अब सप्रन थाल्यो भने त्यो पनि बेर नलाग्ला ।
शङ्काको सुविधा
शङ्काको सुविधा सबैलाई हुन्छ । कहिलेकाहीँ कतिपय शङ्काहरू यथार्थमा परिणत पनि हुन्छन् । मानिस ज्ञानी, निश्चल, मायालु र सत्यवादी हुने भन्ने कुरा, सानो र कमजोर हुँदासम्म मात्रै हो । ठूलो र बलियो भएपछि स्वभावतः उसमा महŒवाकाङ्क्षा बढ्छन् । महŒवाकाङ्क्षा झन्–झन् झाँगिएपछि शक्तिको धाक र आडमा मनपरीतन्त्र चल्न थाल्छ । महाभारतमा दायाँ र बायाँ अलग–अलग अङ्ग लिएर जन्मिए पनि जोडेर एउटै पात्र जरासन्ध बनाइएपछि अनेक उत्पातहरू भएका थिए रे । ‘वाम एकता’को सन्दर्भमा अहिल्यै यस्तो अनिष्टको कल्पना त नगरौँ । यद्यपि, इतिहासमा भयङ्कर तानाशाहका रूपमा कुख्याति कमाएका र ठूला–ठूला भ्रष्टाचार काण्डमा घीनलाग्दो गरी मुछिएका, क्रमशः शक्तिसम्पन्न हुँदै गएर ठूला–ठूला पदमा पुगेका नै छन् । यस सन्दर्भमा अहिले एकीकृत भएको कम्युनिस्ट पार्टीलाई पनि असाध्यै टिकाउ, सकेसम्म प्रभावकारी र सबैभन्दा तगडा बनाउनका लागि पक्कै पनि राज्य संयन्त्रको माथिदेखि तलैसम्म बलिया बलिया आस्थावान्÷बफादार कार्यकर्ताको सङ्ख्या बढाउनुपर्ला ।
तर, देशका लागि राम्रो गर्ने भनेको सबै असल राजनीतिक इच्छाशक्तिले हो । त्यस्तो इच्छाशक्ति साँघुुरियो भने त्यसले निम्त्याउने परिणाम जनहितको पक्षमा हुँदैन । त्यो बेलामा फेरि अर्को जुझारु असल शक्तिको आवश्यकता पर्छ । त्यसैले ‘वाम एकता’को यो उल्लासमय र हौसिँदो बहारको समयमा शक्ति पृथकीकरणको सिद्धान्तमा विश्वास राख्ने नेपाली काँग्रेसलगायत अन्य राजनीतिक पार्टीले जायज कुराको पक्षमा आवाज उरालेर सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न सक्नुपर्ने हो तर पराजित मानसिकताका कारण प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको अवस्था हतोत्साही जस्तो छ । ज्यादै बलियो सरकार र अति नै कमजोर प्रतिपक्ष–परस्पर विरोधीयस्तो अवस्थाले पनि गणतान्त्रिक अभ्यासमा बाधा पुगी वास्तविक सुशासन निम्तिएला जस्तो लाग्दैन ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना