कलङ्की ‘अन्डरपास’ असार १५ देखि सञ्चालन हुने

भउचप्रसाद यादव

काठमाडौँ, जेठ १२ गते । राजधानीको कलङ्कीमा निर्माण भइरहेको मुलुककै पहिलो ‘अन्डरपास’ असारको दोस्रो सातादेखि सञ्चालनमा आउने भएको छ । काठमाडौं चक्रपथ सुधार आयोजनाका प्रमुख प्रकाश भण्डारीले कलङ्की–कोटेश्वर चक्रपथ विस्तार आयोजना अन्तर्गत कलङ्कीमा निर्माण भइरहेको ‘अन्डरपास’ असारको १५ गतेदेखि सञ्चालनमा आउने जानकारी दिनुभयो ।
चार लेन फराकिलो र ३८ मिटर लामो सो ‘अन्डरपास’ को एकातिरको सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेको छ भने अर्कोतिरको निर्माण कार्य तिब्र गतिमा भइरहेको जानकारी आयोजना प्रमुख भण्डारीले दिनुभयो ।
यो ‘अन्डरपास’ को निर्माणपछि नागढुङ्गा तर्फबाट कालिमाटीतिर आउने र कालिमाटीबाट नागढुङ्गातर्फ जाने सवारी साधनहरू अहिलेकै सडकको लेवलबाट आउने जाने गर्नेछन् । त्यसैगरी, चक्रपथमा घुम्ने सवारी साधनहरू जक्सनमा अवरोध नहुने गरी ‘अन्डरपास’ भएर जानेछन् ।
खसी बजारबाट नागढुङ्गा र कालिमाटीतिर तथा स्वयम्भूबाट नागढुङ्गा र कालिमाटीतिर जानका लागि अहिले दुई÷दुर्ई लेनको सर्भिस ट्रयाक निर्माण भइरहेका छन् । कलङ्कीको सम्पूर्ण संरचना निर्माण भइसकेपछि त्यहाँ अब आकाशे पुलको आवश्यकता पर्ने छैन ।kalanki under road

आठ महिनाभित्र चक्रपथ हस्तान्तरण
कलङ्की–कोटेश्वर चक्रपथ विस्तार कार्य अन्तिम चरणमा पुगेको बताउँदै आयोजना प्रमुख भण्डारीले यसवर्षको डिसेम्बरमा सरकारलाई हस्तान्तरण गरिने जानकारी दिनुभयो । उहाँले यस वर्षको जुलाईसम्म चक्रपथको यो खण्डमा कालोपत्रेको काम सम्पन्न हुने जानकारी दिनुभयो ।
कालोपत्रेपछि फिनिसिङ, साइनबोर्ड, जेब्राक्रसिङको पेन्टिङ, ल्पान्टेशनलगायतका ‘माइनर’ कार्यहरु सम्पन्न गरिने बताउँदै उहाँले यस वर्षको डिसेम्बरसम्म चक्रपथको यो खण्ड सरकारलाई हस्तान्तरण गरिसक्ने जानकारी दिनुभयो ।
बालुवालगायतको निर्माण सामग्रीको अभाव तथा विजुली र टेलिफोनको पोल स्थान्तरण (रि–लोकेटेड) समयमा नहुँदा निर्माण कार्य दुई महिना ढिलो हुन गएको उहाँले स्पष्ट पार्नुभयो ।

कलङ्की–महाराजगञ्ज खण्ड विस्तार सुरु
बहुप्रतीक्षित कोटेश्वर–कलङ्की चक्रपथ विस्तारको कार्य सम्पन्न नहुँदै कलङ्की–महाराजगञ्ज खण्ड विस्तार प्रक्रिया अगाडि बढेको छ । दोस्रो चरण अन्तर्गत विस्तार गरिने यो खण्डको किनारका संरचना हटाउने कार्य काम सुरुभइसकेको जानकारी आयोजना प्रमुख भण्डारीले दिनुभयो । कलङ्की–महाराजगञ्ज खण्डको लम्बाई ८.२ किलोमिर रहेको छ ।
सडक विभाग वैदेशिक महाशाखा प्रमुख सञ्जय श्रेष्ठले चक्रपथको यो खण्ड विस्तारको लागि चार महिना अगाडि नेपाल सरकार (अर्थ मन्त्रालय) र चीन सरकारबीच सहमति पत्र (एमओयू) मा हस्ताक्षर भइसकेको जानकारी दिनुभयो ।
उहाँका अनुसार यस खण्डको विस्तारका लागि चिनियाँ पक्षले वृहत् परियोजना प्रतिवेदन (डिपीआर) सहित आवश्यक सम्पूर्ण तयारी गरिसको छ ।
चीनको वाणिज्य मन्त्रालयले सन् २०१८ को जून महिनासम्म उक्त खण्डमा पर्ने ढल, विद्युत् र टेलिफोनका पोलहरु हटाउन सडक विभागसँग लिखित आग्रह गरिसकेको उहाँले बताउनुभयो ।

थप विस्तार गरिने
महाशाखा प्रमुख श्रेष्ठले कलङ्की–महाराजगञ्ज खण्ड विस्तार कार्य सम्पन्नपछि तेस्रो चरण अन्तर्गत महाराजगञ्ज–कोटेश्वर खण्ड विस्तार हुने बताउनुभयो । यस खण्डको विस्तारका लागि समेत चीन सरकार सहमत भइसकेको जानकारी उहाँले दिनुभयो ।
कलङ्की–महाराजगञ्ज–कोटेश्वर खण्डको विस्तारको सम्भाव्यता अध्ययन समेत चिनियाँ प्राविधिकले गरिसकेका छन् तथा चीन सरकारले उक्त प्रतिवेदनलाई स्वीकृत गरिसकेको जानकारी उहाँले दिनुभयो । कलङ्की–महाराजगञ्ज–कोटेश्वर खण्डको कूल लम्बाई १७ किलोमिटर रहेको छ ।
उहाँले चीन सरकारको ताकेतापछि अब उक्त खण्डमा पर्ने ढल, विद्युत् र टेलिफोनका पोलहरु हटाउने कामको थालनी सडक विभागले छिट्टै नै गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार, चीनले माग गरेको समय सिमाभित्रमा नै यस खण्डका ढल, विद्युत् र टेलिफोनका पोलहरु हटाउने काम सम्पन्न गरिनेछ । कलङ्की–महाराजगञ्जको खण्डको डिजाइन फरक
कोेटेश्वर–कलङ्की खण्डको भन्दा कलङ्की–महाराजगञ्ज खण्डको डिजाइन फरक हुने जानकारी महाशाखा प्रमुख श्रेष्ठले दिनुभयो ।
कलङ्की–महाराजगञ्ज खण्डमा दुई सडकको बीचमा खाली ठाउँ राखिनेछ जसलाई ‘मेडियन’ भनिन्छ । रातिको समयमा चालकको आँखामा विपरित दिशाबाट आइरहेको सवारी साधनको बत्तीको प्रकाश पर्ने गरेको हुनाले यस खण्डमा ‘मेडिन’ राखिने भएको छ । कोेटेश्वर–कलङ्की खण्डमा ‘मेडियन’ राखिएको छैन । महाराजगञ्ज–कोटेश्वर खण्डको विस्तार पनि यसै डिजाइनमा गरिने जानकारी उहाँले दिनुभयो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चैत २०७२ मा भएको चीन भ्रमणका क्रममा पूरै चक्रपथ विस्तार गरिनेसम्बन्धी सहमति भएको थियो । सम्बत् २०२७ सालमा चीन सरकारकै अनुदान सहयोगमा चार लेनको चक्रपथ निर्माण भएको थियो ।
तत्तकालिन चिनियाँ प्रधानमन्त्री हु जिन्ताओको नेपाल भ्रमणका बेला चक्रपथ विस्तारका लागि नेपाल सरकारले औपचारिक प्रस्ताव गरेको थियो ।

 

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना