पर्यटकको दैनिक औसत खर्च एक वर्षमा एक डलर मात्रै


विश्वास रेग्मी

काठमाडौँ, जेठ १३ गते । पर्यटक आगमनको हिसाबले सफल मानिएको सन् २०१७ मा पर्यटकले व्यक्तिगत रूपमा गर्ने खर्चमा भने उत्साहजनक वृद्धि भएको देखिँदैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालै सार्वजनिक गरेको ‘नेपाल पर्यटन तथ्याङ्क २०१७’ अनुसार सो वर्ष प्रतिपर्यटक दैनिक औसत खर्च ५४ डलर पुगेको छ ।
यो सन् २०१६ को तुलनामा एक डलरले मात्र बढी हो । तथ्याङ्क अनुसार पर्यटकको औसत खर्च एक वर्षको अन्तरमा १.९ प्रतिशतले मात्र वृद्धि भई करिब पाँच हजार आठ सय रुपियाँ पुगेको हो ।
पर्यटकले व्यक्तिगत रूपमा गर्ने खर्चमा उल्लेखनीय वृद्धि नभए पनि नेपालले सन् २०१७ मा पर्यटन क्षेत्रको आम्दानी भने १८.७ प्रतिशतले बढाएको छ । मन्त्रालयको उक्त तथ्याङ्क प्रतिवेदनमा सो वर्षको आम्दानी करिब ६६ अर्ब रुपियाँ पुगेको छ । त्यसको अघिल्लो वर्ष यस्तो आम्दानी करिब ५६ अर्ब रुपियाँ थियो । सन् २०१७ मा नेपाल भित्रने पर्यटकको सङ्ख्या त्यसको अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले वृद्धि भई नौ लाख ४० हजार २१८ पुगेको थियो । tourist
नेपाल भित्रिने अधिकांश पर्यटक आफ्नो बिदा तथा फुर्सदको समय सदुपयोगका लागि भित्रिने गरेको पाइएको छ । समीक्षा वर्षमा छ लाख ५८ हजार व्यक्ति त्यस्तो उद्देश्यसहित नेपाल घुम्न आएको उल्लेख छ ।
त्यस्तै, एक लाख ४१ हजार पर्यटक धार्मिक भ्रमणका लागि नेपाल भित्रिएका छन् । टे«किङ र पर्वतारोहण गर्ने पर्यटकको सङ्ख्या ७५ हजार पुगेको तथ्याङ्कले देखाएको छ । नेपाल भित्रिने सबैभन्दा खर्चालु पर्यटकका रूपमा टे«किङ र पर्वतारोहणको उद्देश्यसहित आउने पर्यटकलाई मानिन्छ । त्यस्तै कार्यालय तथा व्यवसायको काम र सभा सम्मेलनको गर्ने उद्देश्यसहित पनि पर्यटक नेपाल भित्रने गरेका छन् ।
घट्यो बसाइँ अवधि
नेपाल घुम्न आउने पर्यटकले नेपालमा बिताउने समय घटेको छ । सन् २०१६ मा एउटा पर्यटकले औसत १३.४ दिन नेपालमा बिताउने गरेकोमा सन् २०१७ मा यस्तो समय ६ प्रतिशतले घटेर १२.६ दिन पुगेको छ । पर्यटकसँग घुम्नका लागि पैसा हुने तर बस्नका लागि धेरै समय नहुने विश्वव्यापी प्रवृत्ति बढेकोले नेपालमा पनि बसाइँ अवधि घटेको हुनसक्ने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताउनुभयो ।
नेपालकै कतिपय पर्यटकीय क्षेत्रमा पनि यातायातको सहज पहुँच पुगेकोले बसाइँ अवधि पनि केही घटेको हुन सक्छ, उहाँले भन्नुभयो । गुणस्तरीय पर्यटक सरकारको प्राथमिकतामा रहेकोले खर्च भने आगामी वर्षमा बढ्दै जाने उहाँको अनुमान छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना