गणतन्त्रका उपलब्धि धेरै

 

नारद गौतम

काठमाडौँ, जेठ १५ गते । नेपाली जनताको ठूलो त्याग, बलिदान र सङ्घर्षबाट स्थापना भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र १० वर्ष पूरा भएर ११आँै वर्षमा प्रवेश गरेको छ । विगत एक दशकमा नेपालको इतिहासमै महŒवपूर्ण राजनीतिक परिवर्तन र उपलब्धि प्राप्त भएका छन् । संविधानसभाबाट नेपालको संविधान जारी भई नवनिर्वाचित सरकार क्रियाशील छन् । त्रिभुवन विश्वविद्यालयका राजनीतिशास्त्र विषय अध्यापन गराइरहनुभएका व्यक्तित्वसँग गणतन्त्रका उपलब्धि र चुनौती के के हुन् भनी गरिएको कुराकानी :

प्रतिपक्षलाई उचित सम्मान दिनुपर्छ
प्रा.डा. मिना वैद्य मल्ल
राजनीतिशास्त्र केन्द्रीय विभाग, कीर्तिपुर
गणतन्त्रको सबैभन्दा ठूलो उपलब्धि भनेको जनप्रतिनिधि सम्मिलित संविधानबाट नेपालको संविधान निर्माण भएको छ । राज्य पुनःसंरचना भई देश सङ्घीय प्रणालीमा गएको छ र सोहीअनुसार शासकीय प्रणालीमा परिवर्तन भएको छ । राजनीतिक, सामाजिक अधिकारका लागि भएका सङ्घर्षहरूबाट प्राप्त उपलब्धिलाई संविधानमा लिपिबद्ध गरिएको छ । प्रदेशको संरचना स्थापना भई अधिकारसम्पन्न बनाइएको छ ।
लोकतान्त्रिक खेलको नियमको उल्लङ्घन हुनु हुँदैन र नेतृत्वले आफ्नो कार्यशैलीमा परिवर्तन ल्याउनुपर्छ । निर्वाचनमा जनताले जसरी उत्साहपूर्वक सहभागिता देखाए; यो लोकतन्त्रप्रतिको जनताको आकर्षण हो र लोकतन्त्र सफल हुनु भनेको गणतन्त्र सफल हुनु हो ।

जनताले राज्यको अनुभूति गर्न सकून्
सहप्राध्यापक देवेन्द्र मिश्र
ठाकुरराम बहुमुखी क्याम्पस, वीरगन्ज
गणतन्त्रको सबैभन्दा ठूलो उपलब्धि भनेको देशका कुनाकाप्चामा भएका सबैले शासनको अनुभूति गर्न सक्नु नै हो ।
जनताले यो शासन हाम्रा लागि नै सञ्चालन भइरहेको छ भन्ने अनुभूत गर्न पाएमा यो नै गणतन्त्रको पहिलो उपलब्धि हो । सहभागितामूलक लोकतन्त्र छ । प्रतिनिधित्वमूलक, समावेशी र समानुपातिक गणतन्त्रको महसुस जनताले गर्न पाउनुपर्छ ।
यसको प्रक्रियामा राज्य लागेको छ। पूर्ण रूपमा प्राप्त भइसकेको छैन ।

आचरणमा परिवर्तन आउनुपर्छ
उपप्राध्यापक पर्वतकुमार राई
स्नातकोत्तर क्याम्पस, विराटनगर
गणतन्त्र लोकतन्त्रको उत्तम रूप हो । जनतालाई राज्यको सबैभन्दा माथिल्लो तहसम्म पुग्ने सुनौलो अवसर पनि हो । गणतन्त्र नआएको थियो भने सङ्घीयता र धर्म निरपेक्षता र समावेशिता पनि आउने थिएन । गणतन्त्र र सङ्घीयता एकअर्काका पूरक भएर आएका छन्, जसलाई सिङ्गो नेपाली जनताले आत्मसात् गरेका छन् । राजतन्त्र हुन्थ्यो भने नेपालमा सङ्घीयता र धर्मनिरपेक्षता दुवै आउने थिएन । धर्मनिरपेक्षता पनि गणतन्त्रको ठूलो उपलब्धि हो र नेपालको विविधतायुक्त समाजलाई प्रतिनिधित्व गराउन समावेशिता आउनु झन् ठूलो उपलब्धि हो । गणतन्त्र आफैँमा निर्विकल्प होइन र साध्य होइन साधन मात्र हो । देशमा सुशासन हुनुप¥यो, आर्थिक विकास हुनु प¥यो र पारदर्शिता हुनुप¥यो ।
गणतन्त्रका चुनौतीमा राजतन्त्रवादीहरूले पनि अझै पनि राजतन्त्र चाहिन्छ, धर्मसापेक्ष राज्य चाहिन्छ भन्ने पनि छन् । त्यो उनीहरूको आस्था हो, विश्वास हो । गणतन्त्रको धारमा उनीहरूलाई ल्याउन सक्नुपर्छ । शासनमा आरूढ भएका राष्ट्रपतिदेखि वडा तहसम्मका जनप्रतिनिधिहरूको आचरण, व्यवहार र कार्यसम्पादनमा पनि भर पर्छ । माननीयहरूलाई कानुनको नजरमा उन्मुक्ति दिने कुरा जसरी आएको छ, त्यस्ता कुरा पनि गणतन्त्रका चुनौती हुन् ।

भ्रष्टाचार गणतन्त्रको मुख्य चुनौती
उपप्राध्यापक इन्दिरा प्रसाई
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस
नेपाली जनताका छोरा र छोरी नेपालको राष्ट्रप्रमुख बन्न सफल हुनुभएको छ, यो गणतन्त्र नेपालको सबैभन्दा ठूलो उपलब्धि हो । अब तानाशाही राजतन्त्रविरुद्ध नेपाली जनताले लडाइँ गर्नुपर्ने छैन । संसारमा सबल मानिएको सङ्घीय शासनप्रणालीलाई नेपालले अङ्गीकार गरेको छ । नयाँ निर्वाचनपछि संविधान कार्यान्वयनसँगै निर्वाचित सरकारहरूले शासन सञ्चालन सुरु गरेका छन् । देशमा स्थायी सरकार गठन भएको छ । अब जनताले समृद्धिको आशा गरेका छन् र त्यस दिशामा राष्ट्र अग्रसर हुनुपर्छ । समावेशी गणतन्त्रपछि महिला, दलित, जनजाति, मधेसी, मुस्लिम, अपाङ्गता भएका व्यक्तिसमेत राष्ट्रको मूलधारमा उपस्थित छन् । गणतन्त्रलाई संस्थागत गर्दै लैजानुपर्ने दायित्व नेपाल सरकार र राजनीतिक दलको काँधमा आएको छ ।
गणतन्त्रको ठूलो चुनौती भनेको जरा गाडेर बसेको भ्रष्टाचार नै हो । अधिकांश संस्थाको विकास संस्थागत रूपमा हुन सकेको छैन । हिन्दु राज्यसहितको राजतन्त्र माग गर्नेहरू पनि छन्, यसलाई पनि चुनौतीकै रूपमा लिनुपर्छ । राजनीतिक दलको आवरणमा पुनः केही समूहले हिंसात्मक कार्य गर्ने कुरा सुनिएको छ र मधेसबाट संविधान संशोधनको कुरा सेलाएको छैन, यसलाई पनि नजिकबाट हेरेर संवादको माध्यमबाट सबैलाई राष्ट्रिय मूलधारमा ल्याउनुपर्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना