युवाको चाहना आर्थिक परिवर्तन


उपेश महर्जन

काठमाडौँ, जेठ १५ गते । गणतन्त्रले जनजीवनमा गुणात्मक परिवर्तन ल्याउन सकेमात्र शान्ति र स्थिरता प्राप्त हुने जनआन्दोलनमा क्रियाशील युवाको भनाइ छ । दोस्रो जनआन्दोलनको सफलतासँगै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापित भई संविधान निर्माण र नयाँ निर्वाचनले मुलुकलाई नयाँ युगमा प्रवेश गराएको छ । त्यति बेला जनआन्दोलनमा सहभागी भएका युवा अब जनजीवनमा देखिने परिवर्तन आउनु जरुरी भएको ठान्छन् ।
पहिलोपटक संविधानसभाबाट संविधान जारी भई तीनवटै तहको निर्वाचनमार्फत सङ्घ, प्रदेश र स्थानीय तहका तीनवटै सरकार क्रियाशील भइसकेको अवस्थामा राजनीतिक परिवर्तन भए पनि सामाजिक र आर्थिक परिवर्तन अझै बाँकी रहेकाले त्यसतर्फको अग्रसरता युवाको चाहना रहेको छ । काठमाडौँ ओमबहालका बुद्धशरण शाही राजतन्त्र अन्त्य र गणतन्त्र स्थापनाका लागि मात्र नेपाली जनता सडकमा उत्रेको बताउनुहुन्छ । “चक्रपथ केन्द्रित जनआन्दोलन भए पनि काठमाडौँका स्थानीयको जनआन्दोलनप्रति सहयोग र समर्थन नभएको भए राजतन्त्र अन्त्य हुने थिएन”, उहाँको भनाइ छ ।
जनआन्दोलनमा सरकारले लगाएको उकुसमुकुसपछि स्थानीयवासीले घरघरबाट, कौसीकौसीबाट, झ्यालझ्यालबाट विभिन्न भाँडाकुँडा बजाएर तत्कालीन प्रशासनलाई चेतावनी दिएको र आफू संलग्न भएको उहाँ सम्झनुहुन्छ ।
चोक, गल्ली, सडकमा सुरक्षाफौजको तैनाथीले राजधानीको मुख्य सडकमा ओर्लेर आन्दोलन गर्ने परिस्थिति नभएपछि नयाँ प्रकारले घरघरबाटै भाँडा बर्तन बजाएर आन्दोलनकारीको समर्थन गरिएको बताउने शाही त्यति बेलाका केही नेता अहिले पनि बाहिरै रहनु उचित नभएको बताउनुहुन्छ । ganatantra
सुर्खेतबाट अध्ययनका लागि नैकाप, तीनथानामा बस्नुहुने चेतन शर्मा आन्दोलनको समर्थनमा १९ दिन नै कलङ्कीमा ढुङ्गामुढा गरेको स्मरण गर्दै गणतन्त्र प्राप्तिले केही आशा पलाएको बताउनुहुन्छ ।
आन्दोलनको प्रमुख तीन दिन कलङ्कीमा देखिएको भयानक दृश्यहरू अझै मानसपटलमा कैद रहेको सुनाउँदै उहाँ भन्नुहुन्छ, “राजतन्त्र भन्नेबित्तिक्कै एलर्जी भएको थियो । गणतन्त्र आएपछि शान्ति, समृद्धि, अमनचैन हुन्छ भन्ने थियो तर गणतन्त्रबाहेक अरू कहिले पाइएला; त्यो हेर्न बाँकी छ । ’’ उहाँ अब जनताले अनुभूत गर्ने गरी आर्थिक र सामाजिक परिवर्तन आवश्यक रहेको बताउनुहुन्छ ।
नेपाल मेडिकल कलेजका कर्मचारी बोधराज कोइराला राजनीतिक परिवर्तनले जनताको भाग्य र भविष्य खासै फरक नभएको महसुस गर्नुहुन्छ । जनताको दिनानुदिन समस्या, अभाव, सङ्कट, अनिश्चय विगतमा भन्दा बढी देखिएको बताउँदै उहाँ गणतन्त्रले जनजीवनमा गुणात्मक परिवर्तन ल्याएमात्र स्थिरता प्राप्त हुनसक्ने बताउनुहुन्छ ।
“केके न पाइन्छ भनेर जनता सडकमा उत्रन्छन्, शहीद र बेपत्ता हुन्छन्, घाइते, अपाङ्ग हुन्छन् अनि आन्दोलन सफल पनि हुन्छ । फाइदा सबै राजनीतिक पार्टीका नेता र कार्यकर्ताले पाउँछन् तर जनताको हविगत उस्तै । ’’ जनतालाई जनआन्दोलनको सफलताको अनुभूति दिलाउन शान्तिसुरक्षा र आर्थिक समृद्धिमा सरकार कटिबद्ध हुनुपर्ने सुझाव उहाँको छ ।
कीर्तिपुरका दिनेश महर्जन दिनदिनै कलङ्कीमा गएर आन्दोलन गरेको स्मरण गर्दै भन्नुहुन्छ, “प्रहरी र सरकार भनेपछि सधैँ विरोधीजस्तै लाग्ने बानीले गर्दा तत्कालीन माओवादी र सात दल मिलेपछि परिवर्तनका लागि केही गर्नुपर्छ भनेर सक्रिय भई आन्दोलनमा लागेको थिएँ । ’’
गणतन्त्र आएको एक दशकपछि नेपालमा पहिलोपटक स्थायी सरकार वामपन्थीको बनेपछि गणतन्त्रको महिमा नबुझेर सार्वजनिक बिदा कटौती गरेकोमा दुःख लागेको उहाँ बताउनुहुन्छ । गणतन्त्र दिवस ऐतिहासिक पर्व भएकाले सरकारले बिदा दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना