गणतन्त्रको उपलब्धि

dinanath_sharmaदीनानाथ शर्मा

आज जेठ १५ गते गणतन्त्र दिवस । नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा स्वर्णिम अक्षरले लेखिएको दिन हो यो । नेपाली जनताले विना रक्तपात आफ्नै मौलिकता र विशेषतासहित राष्ट्रिय राजनीतिक सहमतिको आधारमा नितान्त लोकतान्त्रिक विधि र प्रक्रियाबाट संविधानसभाको प्रथम बैठकबाट नेपालको २४० वर्ष पुरानो सामन्ती राजतन्त्रको अन्त गरेर लोकतान्त्रिक गणतन्त्र घोषणा भएको गौरवशाली दिन । नेपाली जनताको लोकतन्त्र प्राप्तिका लागि भएको बलिदानी सङ्घर्षको परिणाम हो गणतन्त्र । जनताले पूर्णलोकतन्त्रको प्रत्याभूति गरेको दिन । वि.सं २०६५ जेठ १५ गते राति नेपाली माटोमा लोकतान्त्रिक गणतन्त्रको बीउ रोपिएको अविस्मणीय क्षण बनेको हो नेपालको राजनीतिक इतिहासमा ।
हाम्रो गणतन्त्रको संविधान हामीले नै बनाउन संविधानसभा बनायौँ । गणतन्त्र संस्थागत विकासका लागि पहिलो संविधानसभाबाट गणतन्त्रात्मक संविधान समयमै बनाउनुपर्ने थियो तर गणतन्त्र घोषणापछिका दश वर्ष निकै पचिला र उतार चढावपूर्ण रहे । आन्तरिक राष्ट्रिय राजनीतिक समीकरण र अन्तर्राष्ट्रिय शक्ति सन्तुलनका कारण पहिलो संविधानसभाबाट संविधान बन्न सकेन । त्यही कालखण्डमा आदिवासी, जनजाति, मधेशी समेतका ठूलठूला आन्दोलन भए । १२ बुँदे समझदारी र लोकतान्त्रिक आन्दोलनका सहयोत्री दलकाबीच सम्बन्ध चिसियो । पहिलो संविधानसभा विघटन भयो । गणतन्त्र धरापमा पर्ने स्थिति उत्पन्न भयो र राष्ट्रिय जिम्मेवारीका साथ दोस्रो संविधानसभाको घोषणासहित राजनीतिक इतर व्यक्तिको नेतृत्वमा सरकार गठन गरियो । त्यो सरकारले गराएको संविधानसभाको दोस्रो निर्वाचनपछि राष्ट्रिय राजनीतिक समीकरणमा ठूलो फेरबदल भयो । पहिलो संविधानसभाका दुई ठूला दल नेकपा माओवादी र मधेशवादी दल तेस्रो र चौँथों स्थानमा झरे । यसले संविधान निर्माणमा भने सहजता ल्यायो ।
यसपछि संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान घोषणा भयो । छिमेकी, सहयोगी भारतले संविधानको विरोध गर्दै ६ महिना नाकाबन्दी लगायो । मधेशवादी दल संविधानको विरोधमा सडकमा उत्रे । संविधान घोषणा हुँदैका दिन संविधान सभाको संविधान मस्यौदा सम्बन्धी समितिका सभापति ने रहनुभएका डा. बाबुराम भट्टराई नै बाहिर निस्केर संविधानको विरोध गर्नुभयो । संविधानको विरोधमा भएको मधेश आन्दोलनको क्रममा ५५ जनाभन्दा बढी जनताले ज्यान गुमाए । अर्बौंको क्षति भयो । त्यसको केही समय अघि मात्रै भूकम्पले देशमा ठूलो क्षति बनाएको थियो ।
यी दूर्दान्त ऐतिहासिक घटनाले नेपालको लोकतान्त्रिक आनदोलनका जिम्मेवार तीन ठूला दलले राष्ट्रिय सङ्कटको समाधानका लागि धैर्यता गुमाएनन् । भारत आफूले लगाएको कथित नाकाबन्दीबाट पछि हट्न बाध्य भयो । मधेशवादी दललाई फर्काउन सरकार साझेदारी गरियो ।
संविधानमा निर्धारित समयभित्रै स्थानीय, प्रदेश र सङ्घको निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरिएकाले त्यो दात्यिव पूरा गर्नु अनिवार्य थियो । गणतन्त्र मन नपराउने शक्ति फेरि त्यसमा खेल्न थाल्यो । मधेशवादी दल राज्य पुनर्संरचनामा अझै असहमत थिए । तर पनि सम्पूर्ण नेपाली जनताले समयमै तिनै तहको निर्वाचन सम्पन्न गर्नुपर्छ भने । तीन ठूला दलले मसक्कै आँटेर निर्वाचन घोषणा गरे । निर्वाचनमा मधेशी जनताको पनि उत्साहजनक सहभागिता रह्यो । हिमाल, पहाड, मधेश निर्वाचनमा एक भए । तीन तहका निर्वाचन पछि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान नेपाली माटोमा लागू भयो । गणतन्त्रले पूर्णता पायो । गणतन्त्रको विपक्षमा उभिएका राजनीतिक शक्तिलाई निर्वाचनको माध्यमबाटै नेपाली जनताले किनारा लगाइदिए ।
नयाँ संविधानबमोजिम तीन तहका निर्वाचन सम्पन्न भए । वामपन्थीको पूर्ण बहुमतको सरकार बन्यो । राजनीतिक सङ्क्रमणको अन्त्य भयो । नयाँ सरकारको आगमनसँगै आन्तरिक राजनीतिक दलसहित छिमेकीसितको सम्बन्ध राम्रो बन्दै गयो । भर्खरै सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भयो । सबै प्रकार सिन्डिकेटको अन्त्य गर्ने प्रतिबद्धताका साथ सरकारले काम सुरु ग¥यो । सबै प्रकारका तस्करीको अन्त्यका लागि सरकारले योजना बनायो । सुन तस्करको सञ्जाल भत्काइदिँदैछ । सरकारले कालाबजारी र घुुसखोरीका विरुद्ध योजनाबद्ध कार्ययोजना अगाडि सारेको छ । सबै प्रकारका महिला हिंसा चेलिबेटी ओसारपसार र सामाजिक सुरक्षाको प्रत्याभूतिका लागि सरकारले कडा कदम चाल्दै छ । नेपाली समाजमा शान्ति सुव्यवस्था र अमनचयन कायम भएको छ । नेपाली जनता खुशी छन् । यो सबै देन २०६५ जेठ १५ गतेको गणतन्त्रकै हो ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान लागू भयो । सिंहदरबारको अधिकार जनताको घर आँगनमा पुग्यो । स्थानीय सरकारमा महिला, दलित, आदिवासी, मधेशी अपाङ्गता भएका व्यक्तिको बाक्लो उपस्थिति रह्यो । राजनीतिक र आर्थिक अधिकार सम्पन्न भएका छन्, हाम्रा स्थानीय तह । प्रदेशमा अधिकार सम्पन्न प्रदेश सरकार छ । आफ्नो प्रदेशका लागि नीति निर्माण गर्ने बजेट पारित गर्ने, कर्मचारी नियुक्ति सुरक्षा संयन्त्रको व्यवस्थासमेतका संवैधानिक अधिकारको उपभोग गर्दैछ । कर उठाउने र खर्च गर्ने संवैधानिक अधिकार छ । स्थानीय तथा प्रदेश सरकारलाई । त्यसैले सार्वभौम नेपाली जनता लोकतन्त्रको मालिक र पहरेदार बनेका छन् । एकात्मक प्रणालीको अन्त भएको छ । यो पनि गणतन्त्रको देन हो ।
लोकतन्त्रका स्थापित अन्तर्राष्ट्रिय मूल्य र मान्यताको धरातलमा उभिएको नेपालको संविधान एक्काइसौँ शताब्दीको उत्कृष्ट संविधान हो । समावेशी सिद्धान्तको आधारमा सम्पूर्ण वर्ग, जाति, क्षेत्र, लिङ्गका जनतालाई सत्ताको मालिक हुने अवसर प्रदान गरेको छ यो संविधानले ।
हिजो गाउँमा हलो जोत्न गोबर बोक्ने किसानका छोराछोरी आज सत्ताको सर्वोच्च स्थानमा पुग्न सफल भएका छन् । बँधुवा कमलरी सरकारको नेतृत्व सम्हाल्न पुगेका छन् । वंश परम्पराको मात्रै अन्त भएको छैन, सामन्ती सम्भ्रान्त वर्गलाई समेत जनताले ठेगान लगाएका छन् । सामन्तवादको अन्त्य भएको छ । गणतन्त्रको सवलीकरण पनि सङ्घीयताको संस्थागत विकाससँगै भएको छ । त्यसैले यसपटकको गणतन्त्र दिवसले गुणात्मक किसिमले ऐतिहासिक अर्थ र महìव बोकेको छ ।
अबको नेपाली समाजको यात्रा समाजवादको यात्रा हो । सुशासन र आर्थिक समृद्धि, शान्ति र राजनीतिक स्थिरिताको यात्रा हो । संविधान हामी सबैको साझा राजनीतिक दस्तावेज हो । लोकतान्त्रिक मान्यतामा आधारित समाजवाद उन्मुख अर्थराजनीतिको विकास गर्ने कुरा संविधानको प्रस्थापनाले स्पष्ट पारेको छ । आर्थिक समृद्धिसित वितरण प्रणाली जोडिएको छ । मुठ्ठीभर वर्गको हातमा केन्द्रित आर्थिक समृद्धि हाम्रा लागि मान्य छैन भन्ने कुरा प्रधानमन्त्रीले पटकपटक दोह¥याउनुभएको छ । यसको अर्थ हुन्छ उत्पादनका साधन जनताको पहुँच सुनिश्चित गर्ने । साना उद्योग जनतालाई चलाउन दिने । प्रतिस्पर्धी बनाउन राज्यले संरक्षण दिने । हो, ठूलो उद्योग, जलविद्युत्, पर्यटन, होटल, व्यवसाय, कृषि, उद्योगसमेतमा जनताको साझेदारीलाई सरकारले सुनिश्चित गरिदिनुपर्छ । आर्थिक उत्पादन र वितरणबीचको असन्तुलन र विचलन आर्थिक असमानता निम्त्याउने भएकाले नै समाजवादी अर्थ राजनीतिको अनिवार्यता महशुस गरिएको छ । सरकार समाजवाद उन्मुख अर्थतन्त्रको विकास र सन्तुलित वितरणको लागि प्रतिवद्ध छ ।
लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक दल बलियो हुनु अनिवार्य छ । हिजो नेपालका राजनीतिक दलबीचको टुटफुट, विभाजन र विखण्डनका कारणले दल कमजोर भए, लोकतन्त्रको रक्षा हुन सकेन भन्ने कटु अनुभव हामीसित छ । त्यसैले नेपालका दुई ठूला गणतन्त्रवादी राजनीतिक पार्टीको बीच एकता सम्पन्न भएको छ । राजनीतिक अस्थिरताको अन्तका लागि स्थिर सरकार दिन यो एकता महìवपूर्ण उदाहरण बनेको छ । समान विचार र दृष्टिकोण भएका अन्य राजनीतिक दलबीच एकता हुनुपर्छ भन्ने कुरा आज गणतन्त्र दिवस मनाउँदै गर्दा सबैले आत्मसात् गर्नुपर्छ ।
हाम्रो समाजवादको यात्रा चुनौतीपूर्ण छ । हाम्रो समृद्धिको यात्रामा गणतन्त्र प्राप्तिका लागि सङ्घर्ष गर्दै आएका सबै राजनीतिक दलबीचको सहमति, सहकार्य र एकता उत्तिकै खाँचो छ । राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमिकता र राष्ट्रको हितको पक्षमा सबै राजनीतिक पार्टीबीच समान धारणा बनाउनु राष्ट्रिय आवश्यकता हो । समृद्धिको यात्रामा सबै राजनीतिक दल एक भएर अगाडि बढ्नेछन् भन्ने सन्देश यसपटकको गणतन्त्र दिवसले दिएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना