मुलुक निर्माणमा लाग्नुस् : प्रम

kpoliकाठमाडौँ, जेठ १७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आमनागरिकको इच्छा–आकाङ्क्षा अनुसार वर्तमान सरकारले काम गरिरहेको बताउनुभएको छ ।
“अहिलेको सरकार जनताको अन्तिम आशा हो, यो सरकारले जनताको आशा भरोसालाई तलमाथि पर्न दिने छैन” भन्दै उहाँले सदाचारी भएर मुुलुक बनाउन सबैसँग आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हामी भ्रष्ट भए सदाचार कहाँ पाइएला ? त्यसैले सदाचार भएर हामी सबै मुलुक निर्माणमा लाग्नुपर्छ ।”
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको १२औं महाधिवेशनको बुधबार राजधानीमा उद्घाटन गर्नुहुँदै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहनुभएका प्रम ओलीले अबको शिक्षा विद्यार्थीको रुची अनुसारको र जीवनोपयोगी हुनुपर्नेमा जोड दिनुभयो । उहाँले रोजगारमूलक, आत्मनिर्भर र व्यावहारिक शिक्षा सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।
“असाधारण क्षमता भएका हाम्रा साना नानीहरूको प्रमाणपत्रमा ‘फेल’ लेखेर हामी उनीहरुको क्षमतामा बन्चरो प्रहार गरिरहेका हुन्छौं” उहाँले भन्नुभयो, “ती बच्चाहरु ‘फेल’ भएका होइनन हाम्रा शिक्षा प्रणाली, पाठ्यक्रम, विद्यालय र शिक्षक ‘फेल’ भएका हुन ।”
सरकारी विद्यालयको नतिजाप्रति असन्तुष्टि व्यक्त गर्नुहुँदै उहाँले पढाउन नजान्ने शिक्षक राखेर हुँदैन, शिक्षकले आफूले पढाउने बिषयमा दक्षता हासिल गरेको हुनुपर्छ भन्नुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकको आन्तरिक परीक्षा चाँडै लिइने बताउनुभयो । सरकारले वर्तमान शिक्षा ऐनको सट्टा सङ्घीय शिक्षा ऐन ल्याउन लागेको जानकारी दिंदै उहाँले शिक्षकको राजनीतिक अधिकार कटौती गर्ने पक्षमा आफूहरु नरहेको स्पष्ट गर्नुभयो ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष बाबुराम थापाले अस्थायी शिक्षकहरूको परीक्षा चाँडै लिन सरकारसँग माग गर्नुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना