माक्र्सवाद समाज रूपान्तरणका लागि उपयुक्त बाटो


राम हुमागाईं

काठमाडौँ, जेठ १७ गते । विश्वमा पुँजीवादको दबदबा कायम भए पनि माक्र्सवाद समाज रूपान्तरणका लागि उपयुक्त बाटो भएको बताइएको छ । कार्ल माक्र्स जन्मिएको दुईशताब्दी पूरा भएको अवसरमा बुधबार काठमाडाँैंमा अयोजित “आजको माक्र्सवाद र समाजवाद” विषयक अन्तर्राष्ट्रिय कार्यशालका अवसरमा सो कुरा बताइएको हो ।
माक्र्सले द्वन्द्वात्मक भौतिकवादको सिद्धान्त प्रतिवाद गरेको दुई सय वर्षको अवधिमा मानव समाजको विकासमा धेरै परिवर्तन आए पनि समाजको अध्ययन र विकासका लागि माक्र्सवाद अझै महत्वपूर्ण विषय रहेको कुरामा कार्यशालाको उद्घाटन सत्रका वक्ताहरूले जोड दिनुभएको थियो ।
कार्यशालको उद्घाटन सत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले वैज्ञानिक समाजवाद माक्र्स र एङ्गेल्सको असाधारण दिमागको समान्य सिर्जना मात्र थिएन भन्दै भन्नुभयो, “यो त पुँजीवादी उत्पादन सम्बन्ध र श्रमजीवी वर्गको मुक्तिसँग सम्बन्धित जटिल द्वन्द्वको समाधानका लागि आवश्यक वैज्ञानिक सिद्धान्त र ऐतिहासिक आवश्यकताको जगमा उभिएको थियो ।”
उहाँले नेपाल कम्युनिष्ट पार्टीले सङ्घीय संसद्मा करिब दुई तिहाई बहुमत तथा सात मध्ये छ वटा प्रदेश र बहुसङ्ख्यक स्थानीय निकायहरूमा बहुमत हासिल गरेको चर्चा गर्दै यसबाट सरकारको राजनीतिक स्थायित्व कायम गर्ने र आर्थिक समृद्धि हासिल गर्ने सोचलाई सहयोग पुगेको बताउनुभयो । karl marx
नेपाल तीन हजार वर्षदेखि बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक रहेको उल्लेख गर्दै शान्ति, संयम र आपसी सदभाव जस्ता कुरा यस धर्तीको पहिचान भएको उल्लेख गर्नुभयो ।
“ आजको २१ औँ शताब्दीमा समाज रूपान्तर शान्तिपूर्ण तथा प्रजातान्त्रिक तरिकाबाट सम्भव छ साथै शान्तिपूर्ण र वैधानिक बाटो हुँदाहुँदै हिंसाको बाटो रोज्न सकिँदैन ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।
“हामी आफैँले लेखेको संविधान र जनताको वैधानिक अभिमतमा आधारित रहेर शान्तिको मार्गबाट समाजबादमा पुग्ने प्रयास गरेका छौँ । ” प्रधानमन्त्रीको कथन थियो ।
प्रधानमन्त्री ओलीले अगाडि भन्नुभयो, “स्वर्गीय नेता मदन भण्डारीले भन्नुभए झैं जीवन सिद्धान्तका लागि नभएर सिद्धान्त जीवनका लागि हो भन्ने मान्यतालाई आत्मसात् गर्दै नेपाली कम्युनिस्ट आन्दोलनले आम मानिसको चाहनालाई केन्द्रमा राख्दै उनीहरूको भावनाको प्रतिनिधित्व गरी रहेको छ ।”
नेपालले समान सम्प्रभुता, समानता, भौगोलिक एकता, अहस्तक्षेप र आपसी सम्मानका आधारित रहेर छिमेकी तथा मित्र राष्ट्रहरूसँगको सम्बन्ध कायम गर्ने वैदेशिक नीति अपनाउँदै आएको बताउँदै प्रधानमन्त्रीले भन्नुभया, “भौगोलिक र जनसङ्ख्याका दृष्किोणले कुनै पनि देशको अकार फरक हुन सक्छ तर सम्प्रभुसत्ता र राष्ट्रिय स्वाभिमान सबैको समान हुन्छ । ”
“यो वर्ष नेपालमा कम्युनिस्ट आन्दोलन सुरु भएको ७० औँ वर्ष पूरा भएको छ । जब हामी विगतका सात दशलाई हेर्छाैं त्यस अवधिमा गर्व गर्न लाएक धेरै उपलब्धीहरू हासिल भएका छन् ” प्रधानमन्त्रीको भनाइ थियो ।
सोही अवसरमा मन्तव्य व्यक्त गर्दै नेपाल कम्युनिस्ट पार्टी का अर्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भन्नुभयो “माक्र्स तिनै व्यक्ति थिए जसले एङ्गेल्ससँगको सहकार्यमा कम्युनिस्ट घोषणापत्रमा सम्पूर्ण मानव सभ्यता शोषक र शोषितबीचको वर्ग सङ्घर्ष हो भनेर चित्रित गरेका थिए ।
उहाँले चीनमा माओत्सेतुङको समयदेखि आजको मितिसम्म समाजवादले तय गरेको लामो र कष्टकर यात्रालाई विश्वका समाजवादी र कम्युनिस्ट पार्टीहरूका लागि तुलनात्मक अध्ययन र संलेषणको विषय भएको उल्लेख गर्दै त्यहाँ अवलम्बन गरिएको समाजवाद जनताको चाहनाको र देशको आवश्यकता परिपूर्ति गर्ने सोचबाट अभिप्रेरित भएको चिनियाँ विशेषताको भएको बताउनुभयो ।
प्रचण्डले भन्नुभयो, “२१ औ शताब्दीमा समाजवादको प्रयोगका क्रममा भएका कमी कमजोरी तथा सकारात्मक र नकारात्मक सिकाइबाट हामी के निष्कर्षमा पुगेका छौँ भने समाजवादको गहन विश्लेषण, यसका विशेषताको व्याख्या समाजवादको सम्भावित नयाँ मोडलबाट हुनुपर्छ ।”
त्यस अवसरमा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधावकुमार नेपालले भन्नुभयो, “अहिले हामीहरू आर्थिक क्रान्ति र निर्माणको चरणमा प्रवेश गरेका छौँ साथै समाजवाद उन्मुख नेपाली समाज निर्माणतर्फ अग्रसर छौँं ।”
विश्व कम्युनिष्ट आन्दोलनमा जस्तै नेपालको कम्युनिस्ट आन्दोलन पनि विभाजन, एकीकरण र पुनःएकीकरणका शृङ्खलावद्ध चरणहरूबाट गुज्रिएको चर्चा गर्दै आफूहरूले धेरै वर्षसम्म भूमिगत रही जनतालाई प्रतिक्रियावादी सत्ता सचेत पार्ने जागरुक बनाउने काम गरको स्मरण गर्नुभयो ।
सो अवसरमा पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले माक्र्सको दर्शनले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । दुई दिनसम्म चल्ने सो कार्यशालमा अमेरिका, भेनजुयला भारत, चीन बङ्गलादेश लगायतका करिब डेढ दर्जन देशका प्रतिनिधिको सहभागिता रहेको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना