आठ प्रतिशत आर्थिक वृद्धि हुने : अर्थमन्त्री

जुनारबाबु वस्नेत

काठमाडौँ, जेठ १७ गते । अर्थमन्त्री डा. युवराज खतिवडाले निर्वाचनपछिको पहिलो सङ्घीय बजेट भएकोले ८ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्न सक्ने गरी उद्देश्य, प्राथमिकता र कार्यक्रम व्यवस्था गरिएको स्पष्ट पार्नुभएको छ । वजेटमा बढीमा ८ र त्यसो नभए पनि ७.९ प्रतिशतसम्म आर्थिक बृद्धि हुने गरी नै लक्ष्य निर्धारण गरिएको उहाँले स्पष्ट पार्नुभयो ।
आगामी आर्थिक वर्ष २०७५/७६ को सङ्घीय संसद्को संयुक्त सदनमा प्रस्तुत गरेको भोलिपल्ट बुधबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले आर्थिक बृद्धि हासिल हुनसक्ने आधार पनि खुलाउनुभयो ।
उहाँले भन्नुभयो,‘कृषिमा ४.५ प्रतिशत, उद्योगमा १२ प्रतिशत र सेवा क्षेत्रमा ८ प्रतिशतको आर्थिक बृद्धि हासिल हुन सक्ने प्रक्षेपणका आधारमा ८ प्रतिशतको लक्ष्य राखिएको हो, पूरा हुनसक्छ ।’ यति उच्च आर्थिक बृद्धि नेपालमै पहिलो पटक राखिएको हो । चालु आर्थिक वर्षमा ७.२ प्रतिशतको आर्थिक बृद्धि राखिए पनि ५.९ प्रतिशत हासिल हुने सक्ने प्रक्षेपण गरिएको छ ।
अर्थमन्त्री खतिवडाले मेलम्ची खानेपानी र माथिल्लो तामाकोसी जलविद्युत् आयोजना आगामी आर्थिक वर्षमा पूरा हुने र तिनले आर्थिक वृद्धिमा सहयोग पुग्ने बताउनुभयो । ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना पूरा भएपछि त्यसले आपूर्ति गर्ने उर्जाले औद्योगिक, सेवा र कृषि क्षेत्रको उत्पादन बढाउन सहयोग पुग्ने उहाँको विश्वास छ । yubraj khatiwada
नयाँ आर्थिक वर्षको बजेटले वित्तीय सङ्घीयताको नविन अभ्यास गरेकोे र त्यससम्बन्धी आधार र तथ्याङ्कहरू नयाँ भएकोले बिगतसँग तुलना गर्न नमिल्ने भन्दै अर्थमन्त्री खडिवडाले नागरिकको रोजगारी, स्वास्थ्य, सीप र सामाजिक सुरक्षामा बजेट केन्द्रित भएको बताउनुभयो । साधन र स्रोतलाई सङ्घीयताको मूल्य, मर्म र प्रावधान अनुरुप सङ्घ, प्रदेश र स्थानीय तहमा विनियोजन गरिएको स्पष्ट पार्दे उहाँले बजेटले आर्थिक र सामाजिक रूपान्तरणलाई मूल प्राथमिकतामा राखेको छ, भन्नुभयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगारी सिर्जनालाई प्राथमिकता दिने भन्दै उहाँले सामाजिक सुरक्षाका लागि रोजगारी नै प्रमुख औजार भएकोले पनि एक जना पनि रोजगारी नभएको परिवारका आधारमा थप दुई लाख परिवारलाई समेटेने योजना रहेको बताउनुभयो । रोजगारी विस्तार गर्दै आगामी पाँच वर्षमा बैदेशिक रोजगारीमा जानै नपर्ने अवस्था सिर्जना गर्नेतर्फ यो बजेट प्रस्थानविन्दु भएको उहाँले स्पष्ट पार्नुभयो ।
अर्थमन्त्री खतिवडाले स्वास्थ्यबीमाका माध्यमबाट हरेक नागरिकलाई सेवा प्रदान गर्ने गरी सीमित जिल्लामा रहेको सेवालाई देशभर विस्तार गरिने स्पष्ट पार्नुभयो । स्वास्थ्य बीमा सेवा पूर्णरूपमा कार्यान्वयनमा आइसकेपछि निःशुल्क औषधि वितरणको दायित्व हट्ने भन्दै बीमा सेवा कार्यान्वयनमा नआउँदासम्म भने निःशुल्क औषधिको सेवा कायमै रहनेछ भन्नुभयो । सत्तरी वर्ष पूरा गरेका ज्येष्ठ नागरिकलाई एक लाख रुपियाँको स्वास्थ बीमा गरी सामाजिक सुरक्षाको दायित्वलाई फराकिलो पारिएको उहाँको भनाइ छ ।
अर्थमन्त्रीले साक्षार नेपाल निर्माणका लागि आगामी वर्षमा विद्यालय आउने उमेरका ९९.५ प्रतिशत बालबालिकालाई नै समेट्न सकिने आधार यो वर्षको भर्ना अभियान सफल भएबाट प्राप्त भएको स्पष्ट पार्दै भन्नुभयो, ‘पाँच कक्षासम्मका बालबालिकाका लागि सामुदायिक विद्यालयमा निःशुल्क खाजाको नयाँ व्यवस्थाले विद्यार्थी ल्याउने, टिकाउने र सिकाउने लक्ष्य पूरा हुनेछ ।’
माध्यमिक विद्यालय तहदेखि नै प्राविधिक शिक्षालाई प्राथमिकता दिई सीपयुक्त जनशक्ति उत्पादन गरिने र उच्च शिक्षालाई अध्ययन र अनुसन्धानको केन्द्र बनाइने स्पष्ट पार्दै अर्थमन्त्रीले त्यसका लागि विश्वविद्यालयहरूको छाता ऐन ल्याउन लागिएको बताउनुभयो ।
अर्थमन्त्रीले लगानी प्रवद्र्धनका लागि सबै खालका अवरोध हटाउने गरी नयाँ ऐन र नियमहरू बनाउने र त्यसले लगानीका प्रत्याभूति दिई आन्तरिक र बाह्य लगानी प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सन् २०२० लाई पर्यटन वर्ष मनाइने र त्यस वर्ष २० लाख पर्यटन देशभित्र ल्याउने गरी पूर्वाधार विस्तार भइरहेको बताउनुभयो । दीर्घकालीन रूपमा ५० लाख पर्यटक आउने सक्ने गरी विमानस्थल लगायतका पूर्वाधारहरूको तयार गर्ने गरी आगामी आर्थिक वर्षको बजेटको दिशानिर्देश रहेको उहाँले स्पष्ट पार्नुभयो ।
पेट्रोलियम पदार्थको मूल्यबृद्धिले महँगीको चाप पर्न सक्ने भए पनि आन्तरिक उर्जा उत्पादनमा आउने सुधार, कृषि उत्पादन र सहज आपूर्ति व्यवस्थाले मूल्य बृद्धिलाई ६.५ प्रतिशतको लक्ष्यमा सीमित पार्न बजेटले लक्ष्य लिएको अर्थमन्त्री खतिवडाको भनाइ छ ।
सुशासनलाई सर्वोपरि राखेर बजेट कार्यान्वयनलाई शीघ्रता दिइने हुँदा अर्थतन्त्र क्रियाशील भई उत्पादन बढ्ने र त्यसले थप लगानी बढाउने अर्थमन्त्रीको विश्वास छ । पुँजी, बीमा र वित्तीय क्षेत्रमा गरिने सुधारले पनि लगानी अवरोध हटाउने भन्दै अर्थमन्त्रीले पश्चिम सेती र बुढी गण्डकी आयोजनाहरूलाई अलमलमा नराखी आन्तरिक लगानीका आधारमै अगाडि बढाउने स्पष्ट पार्नुभयो । रेल विस्तार चाँडै नभए पनि त्यसका लागि कार्यथालनी भइसकेको, सडक विस्तारलाई प्राथमकितामा राखिएको भन्दै उहाँले खानी र उद्योग क्षेत्रमा आकर्षक लगानी ल्याउन बजेटले मार्गनिर्देश गरेको स्पष्ट पार्नुभयो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना