राष्ट्रिय सङ्ग्रहालयको ‘हरिविजोग’

राधा चालिसे

काठमाडौँ, जेठ १८ गते । काठमाडौंको छाउनीमा रहेको मुलुककै जेठो सङ्ग्रहालय राष्ट्रिय सङग्रहालय ऐन नियम विना नै ८० वर्षदेखि सञ्चालनमा छ । १९९५ साल फागुन १ गतेदेखि शुल्क लिएर सर्वसाधारणका लागि खुला गरिएको यो सङ्ग्रहालयको अहिलेसम्म ऐन नियम बन्न सकेको छैन । ऐन नियम नहुँदा सङग्रहालयलाई विकास र विस्तार गर्न कठिन भएको सङ्ग्रहालयका प्रमुख जयराम श्रेष्ठले गुनासो गर्नुभयो ।
१८ हजारभन्दा बढी महत्वपूर्ण र विश्वकै दूर्लभ कला तथा वस्तुको सङ्ग्रह गरिरहेको यो सङग्रहालयमा त्यस्ता सामग्रीको विवरण समेत अझै ढड्डामा राखिएको छ । जसका कारण कुनै सामग्री वा वस्तु हराएमा खोजी गर्न र सङ्ग्रहालयकै हो भनेर प्रमाणित गर्न समेत निकै मुस्किल पर्ने गरेको छ ।
तर श्रेष्ठले अब भने राष्ट्रिय संग्रहलायलाई छिट्टै डेटावेश पद्धतिमा लैजाने जानकारी दिनुभयो ।
दैनिक सयौंको सङ्ख्यामा विदेशी पर्यटक सङ्ग्रहालयकै बाटो भएर स्वयम्भू आउने जाने गरे पनि सङग्रहालयमा प्रवेश गर्नेको सङ्ख्या भने नगन्य छ । बार्षिक दुई हजार विदेशी सङग्रहालय छिर्ने गरेको संस्थाले जानकारी दिएको छ । विदेशीका लागि सङग्रहालय प्रवेश शुल्क प्रतिव्यक्ति डेढ सय रुपियाँ तोकिएको छ यो प्रवेश शुल्कबाट सङ्ग्रहालयले वार्षिक करीब १२ लाख रुपियाँ आम्दानी गर्छ ।
विदेशमा जस्तो विभिन्न उद्देश्यले सरकारको पाहुना भएर आउने विदेशीलाई सङ्ग्रहालय देखाउने प्याकेज र कार्यक्रम बनाउने प्रचलन पनि नेपालमा विकास भएकै छैन । नेपाल आउने राज्यका पाहुनालाई सङ्ग्रहालय देखाउन सकेमा पनि यसको प्रचार प्रसार हुने श्रेष्ठको भनाइ छ । Capture
कुनै पनि मुलुकको सङ्ग्रहालय त्यस मुलुकको जिवन्त इतिहास र वर्तमानको ऐना भए पनि त्यसलाई स्तरीय बनाउने विषयमा ध्यान दिन नसक्दा सङ्ग्रहालय दयनीय बनेको छ । २०७२ सालको भूकम्पका कारण सङ्ग्रहालय रहेको युरोपेली शैलीका तीन भवन क्षतिग्रस्त भएपछि यसको दुरवस्था अझै चुलिएको छ । यद्यपि भत्किएका भवन धमाधम निर्माण भएका छन् । आगामी वर्षभित्र निर्माण सम्पन्न भएर सञ्चालनमा आउने सङ्ग्रहालयका प्रमखु श्रेष्ठ बताउनुहुन्छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले मुलुक सङ्घीयतामा प्रवेश गरिसकेकोे अवस्थामा राष्ट्रिय सङ्ग्रहालय, नारायणहिटी सङ्ग्रहालय र चम्पादेवीमा निर्माण हुने सांस्कृतिक सङ्ग्रहालय मात्र सङ्घीय सरकारको मातहतमा रहने र अन्य सङ्ग्रहालय सम्बन्धित स्थानीय तहको मातहतमा रहने स्पष्ट पार्नुभयो ।
उहाँले सङ्घको मातहतमा रहने सङग्रहालयलाई विश्वस्तरको बनाउनुपर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो–‘विश्वस्तरीय बनाउन के के चाहिन्छ के अपुग छ भन्नुहोस् । लक्ष्य र कार्यक्रम सहितको गुरुयोजना बनाउनुहोस् बजेटको चिन्ता नगर्नुहोस् ।’
नेपालका प्रथम प्रधानमन्त्री जनरल भीमसेन थापाले स्वदेशी तथा विदेशी हातहतियार सङ्कलन गराई राख्न शास्त्रागारको रुपमा १८८१ सालमा यूरोपेली वास्तुशैलीमा निर्माण भएको भवनमा सङ्ग्रहालय राखिएको छ । राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा त्यसलाई निजी सिलखानाको रुपमा राखिए पनि १९९५ साल फागुन १ गतेदेखि शुल्क लिएर सर्वसाधारणका लागि खुला गरिएको थियो ।
सङ्ग्रहालयमा दुर्लभ पुस्तक संरक्षण गरिएको छ । उक्त पुस्तक फिरदौसले फारसी भाषामा लख्नुभएको थियो । २०३२ सालमा हराएको पुस्तक फेला परेपछि सङ्ग्रहालयमा सुरक्षित गरिएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले बताउनुभयो । त्यस्तै विभिन्न समयमा नेपालबाट हराएर पछि फिर्ता भएका ऐतिहासिक वस्तु पनि यही सङ्ग्रहालयमा राख्ने गरिएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना