क्षेत्रीय विमानस्थल बनाउन जग्गा अधिग्रहण


अविनाश चौधरी

धनगढी, जेठ १८ गते । काठमाडौँपछिको दोस्रो ठूलो धावनमार्ग रहेको धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा स्तरोन्नति गर्न सकिने गरी जग्गा अधिग्रहण गरिएको छ । नागरिक उड्डयन प्राधिकरण कार्यालय धनगढीले विभिन्न चरणमा गरेर १७ बिघा चार कट्ठा साढे आठ धुर जग्गा अधिग्रहण गरेको हो । सबै गरेर अब धनगढी विमानस्थलको क्षेत्रफल ७० बिघा चार कट्ठा साढे आठ धुर पुगेको छ ।
धनगढी विमानस्थलले प्राप्त गरेको जग्गा क्षेत्रीय विमानस्थल बनाउनका लागि पर्याप्त रहेको नागरिक उड्डयन प्राधिकरण धनगढीका प्रमुख छविसिंह ठकुल्लाले बताउनुभयो । क्षेत्रीय विमानस्थलका रूपमा स्तरोन्नति गर्नका लागि अब हामीसँग जग्गा पर्याप्त भएको छ, उहाँले भन्नुभयो तर केही पूर्वाधार विकाससँगै अझै धेरै काम गर्न बाँकी छ । उहाँका अनुसार ह्याङ्गर, रात्रि बिसौनी, फायर फाइटर र धनगढीबाट पहाडी जिल्लामा उडान हुन सकेमा धनगढी विमानस्थल क्षेत्रीयस्तरको हुनेछ । अहिले हामीसँग यस्तो सुविधा छैन, उहाँले भन्नुभयो तर यस प्रकारको सुविधाका लागि पर्याप्त हुने जग्गा प्राप्त भइसकेको छ । अब काम अगाडि बढ्नेमा विश्वस्त भएका छौँ ।
नेपाल सरकारले आर्थिक वर्ष २०७५÷०७६ को बजेट वक्तव्यमार्फत धनगढी विमानस्थलाई क्षेत्रीय विमानस्थलका रूपमा स्तरोन्नति गर्ने घोषणा गरेको छ । यसका लागि आवश्यक बजेटको व्यवस्थासमेत गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट सार्वजनिक गर्दै बताउनुभयो । धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा विकास गरिने सरकारको घोषणाको स्वागत गरिएको छ । jagga airport
प्रदेश नम्बर ७ को भविष्यसँग जोडिएको धनगढी विमानस्थललाई स्तरोन्नति गर्नुपर्ने माग विगत लामो समयदेखि उठ्दै आएको छ । चौतर्फी दबाब सिर्जना भएपछि विमानस्थलको स्तरोन्नति गर्नका लागि जग्गा अधिग्रहण कार्य अगाडि बढाइएको थियो ।
जग्गा अधिग्रहण गर्दा सुरुमा विविध बाधा अवरोध आए पनि अहिले सफल भएको जनाइएको छ । नागरिक उड्डयन प्राधिकरणले ८९ जना धनीको जग्गा अधिग्रहण गरेको छ । अधिग्रहण कार्य लगभग सकिएको जनाउँदै प्रमुख ठकुल्लाले अब सात जनाले मात्रै मुआब्जा बुझ्न बाँकी रहेको बताउनुभयो । उहाँका ती जग्गा धनीहरू विदेशमा रहेकाले अहिलेसम्म रकम बुझ्न नसकेका हुन् ।
मुआब्जा बुझ्न बाँकी रहेका धनीहरू अमेरिकालगायत विभिन्न देशमा छन्, ठकुल्लाले भन्नुभयो तर अब उनीहरूले पनि चाँडै बुझ्ने बुझिएको छ ।
यसअघि, मुआब्जा रकम कम भएको भन्दै दुई जना जग्गाधनीले गृहमन्त्रालयमा निवेदन दिएका थिए तर मन्त्रालयको सचिव स्तरीय निर्णयले धनगढीस्थित जग्गा मुआब्जा मूल्य निर्धारण समितिले निर्धारण गरेको दररेट नै ठीक रहेको भन्दै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको छ । अब कुनै किसिमको समस्या नरहेको प्राधिकरण प्रमुख ठकुल्लाले बताउनुभयो ।
जग्गा अधिग्रहण गर्ने क्रममा घरबापतको ५१ लाख २४ हजार ९०५ रुपियाँ मुआब्जा रकम वितरण गरिएको छ । यसैगरी, जग्गाबापत हालसम्म २३ करोड ११ लाख पाँच हजार रुपियाँ मुआब्जा रकम वितरण गरिएको छ । मुआब्जा रकम वितरणका लागि बजेट अभाव नरहेकोले बुझ्न बाँकी रहेका धनीहरूले पनि आउने बित्तिक्कै पैसा पाउने प्रमुख ठकुल्लाले बताउनुभयो । मुआब्जा वितरणका लागि जिल्ला प्रशासन कैलालीको खातामा पर्याप्त रकम रहेको छ, उहाँले भन्नुभयो । पैसाको अभाव छैन ।
विमानस्थलको पूर्वतिर अधिग्रहण गरेको जग्गामा उपकरण जडानका लागि पूर्वाधार निर्माणको कार्य पनि सुरु गरिएको छ । उक्त ठाउँमा भीओआर÷बीएमई उपकरण र बत्ती जडान गरिने प्राधिकरण प्रमुख ठकुल्लाले बताउनुभयो ।
यी दुई उपकरण जडान गरेमा धनगढी विमानस्थलमा रात्रिकालीन र ‘भीजीबीलीटी’ कम भएको बेला पनि उडान गर्न सकिने प्राधिकरणले जनाएको छ । भीओआर÷बीएमई उपकरण र बत्ती नहुँदा धनगढी विमानस्थल दिउँसो उडानका लागि मात्रै योग्य छ । यद्यपि, एक महिनादेखि बुद्ध एयरले आफ्नै स्याटेलाइटको सहयोगमा रात्रिकालीन उडान गरिरहेको छ । ‘डोमेस्टिक’ उडानका लागि निकै उपयुक्त धनगढी विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भने अझै सम्भव नहुने जनाइएको छ । अन्तर्राष्ट्रिय उडानका लागि धावनमार्गको क्षमता पर्याप्त नरहेको प्राधिकरण प्रमुख ठकुल्लाले बताउनुभयो । अहिलेको हाम्रो धावनमार्गको क्षमताले अन्तर्राष्ट्रिय उडानलाई धान्न सक्दैन, उहाँले भन्नुभयो । अन्तर्राष्ट्रिय उडान योग्य बनाउन थप केही जग्गा अधिग्रहणसहित नयाँ धावनमार्ग बनाउन जरुरी हुन्छ । धनगढी विमानस्थलबाट नेपाल एयरलाइन्स, बुद्ध एयर, श्री एयरलाइन्स र सौर्य एयरलाइन्सका जहाजले दैनिक काठमाडौँ–धनगढी उडान गरिरहेका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना